|

बाँके : पूर्व–पश्चिम राजमार्गमा संचालन हुने सवारी साधनका चालकको बिहीबार स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बैजनाथ गाउँपालिकाको सम्झनाचोकस्थित अस्थायी प्रहरी पोष्टमा १९८ जना सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो। 

दुर्घटना न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले सवारी चालक र परिचालकको आँखा र ब्लड प्रेसर जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए। कोहलपुर मेडिकल कलेज कोहलपुरका डा. देवेन्द्र आचार्य, प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवाका पृथ्वीनाथ योगी, न्यौपाने आँखा उपचार केन्द्र, कोहलपुरका हरिप्रसाद न्यौपाने, संगम मेडिकल हल संगम चोकका कृष्ण पौडेल सहितको टोलीले सवारी चालक तथा परिचालकको स्वास्थ्य जाँच गरेको रोकायले बताए। 

स्वास्थ्य जाँच कार्यक्रममा ९८ जना बस चालक, ट्रक चालक ५३, जिप कारका चालक–सह चालक ३७, ट्रयाक्टर ४, टेम्पो ६ गरी १९८ चालक र सहचालकको स्वास्थ्य जाँच उनले बताए। उनका अनुसार, त्यसमध्ये ६ जनाको आँखा कमजोरी र ३६ जनाको ब्लड प्रेसर समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

सवारी चेकजाँच मात्र नभई दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रोकायले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.