|

बझाङ : जयपृथ्वी राजमार्गलाई सेती लोकमार्गसम्म जोड्ने तमैल पक्की पुलको निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयबासी मर्कामा परेका छन्। सम्झौता भएको तीनवर्ष पुगिसक्दा समेत पुल निर्माण हुन नसकेपछि सिंगो सेती लोकमार्ग नै अबरुद्ध भएको छ।

तमैल पक्की पुलको निर्माण कार्यमा ढिलाई भएपछि यतिखेर सडक संजाल जोड्न स्थानीयबासीले काठे पुल निर्माण गरेका छन्। पुल निर्माण कार्यमा ढिलाई हुँदा बझाङको थलारा, खप्तड छान्नालगायत सेती लोकमार्गअन्तर्गत पर्ने ३ वटा गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासिन्दा सडक संजालबाट वञ्चित भएका छन्। चैनपुर ताक्लाकोट सडक आयोजनाको ११ करोड ७५ लाख लगानीमा निर्माण हुने तमैल पक्की पुलको लम्बाई ८० मिटर रहेको छ।

पक्की पुल निर्माणमा ढिलाई हुँदा स्थानीयबासीले निकै सास्ती खेप्नु परेको तमैल बजारका स्थानीय सिद्धराज खड्काले बताए। उनले भने जेनतेन काठेपुलबाट केही सवारी साधनहरू आवत जावत गर्ने गर्दछन्। पुल निर्माणका लागी केयस कन्ट्रक्सन प्रालि धनगढीले २०७३ साल असार महिनामा सम्झौता गरेको भए तापनि हालसम्म भने पुल निर्माणको काम संचालन हुन सकेको छैन।

पिलर गाडिने ठाउँमा कडा चट्टान भएकाले सम्झौतामा उल्लेख गरिएको डिजाइन स्टिमेटअनुसार काम अप्ठेरो भएको केयस कन्ट्रक्सनले जनाएको छ। तत्काल पुल निर्माण कार्य सुचारु गर्नका लागि पटक पटक ठेकेदारसँग अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको स्थानीयबासीको गुनासो छ। सम्झौता भएको करिव तीनवर्ष वितिसक्दा पनि सो पुलको दायाँ तिरको पिलर गाड्ने खाल्डो समेत अधुरै अवस्थामा छ। सरिया र गिट्टी छताछुल्ल अवस्थामा देखिन्छन्।

तोकिएको समयम मै पक्की पुल निर्माण हुन नसक्दा स्थानीयबासी काठे पुलबाट सदरमुकामसम्म आवत-जावत गर्ने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.