|
गुरमीत राम रहीम

भारतमा १७ वर्ष पहिले भएको एक पत्रकारको हत्या अभियोगमा दोषी ठहरिएका हिन्दु धर्मगुरु गुरमीत राम रहीमलाई जन्मकैदको सजाय सुनाइएको छ।

डेरा सच्चा सौदाका प्रमुख राम रहीमलाई विशेष सिबिआईको अदालतले बिहीबार जन्मकैदको सजाय सुनाएको हो। राम रहीमले सन् २००२ मा पत्रकार रामचन्द्र छत्रपतिको हत्या गरेको १७ वर्षपछि प्रमाणित भएको थियो।

उक्त हत्यामा जनवरी ११ मा राम रहीमलाई सिबिआईको विशेष अदालतले दोषी करार गरेको थियो। जसको फैसला आज आएको हो।

उक्त हत्यामा राम रहीमका साथै उनका सहयोगी कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाललाई पनि दोषी पाएको थियो। उनीहरूलाई पनि जन्मकैदको सजाय सुनाइएको छ।

मारिएका पत्रकार

डेरा सच्चा सौदाकी उपप्रमुख शोभा इन्साले राम रहीमका समर्थकहरूलाई शान्ति कायम राख्न अपील गरेको र कैद सजायको विरुद्ध कानुनी उपचार खोज्ने पनि बताएकी छन्।

राम रहीमलाई सिबिआईको सोही अदालतले सन् २०१७ मा एक बलात्कार मुद्दामा दोषी रहेको फैसला गर्दै जेल पठाएको थियो। उनी सन् २०१७ यता जेलमा छन्। उक्त बलात्कारको मुद्दा पत्रकार रामचन्द्र छत्रपतिले सन् २००२ मा उनको पत्रिकामा प्रकाशित गरेका थिए। राम रहीमले आफूविरुद्ध  उक्त बलात्कार र अन्य समाचार प्रकाशित गरेको भन्दै हत्या गरेको बताइएको थियो।

छत्रपतिलाई सन् २००२ मा गोली प्रहार गरिएको थियो। उनी गम्भीर घाइते भएका थिए र सोही गोलीका कारण उनको मृत्यु भएको थियो। उक्त हत्याविरुद्ध २००३ मा मुद्दा दायर गरिएको थियो भने सन् २००६ यता उक्त मुद्दा सिबिआईले हेर्दै आएको थियो।

गुरमीत राम रहीमलाई उक्त मुद्दामा जेल चलान गर्न यति लामो समय लाग्नुमा उनको राजनीतिक दलका नेताहरूसँगको पहुँचलाई मानिएको छ। भारतका प्रमुख राजनीतिक दलका नेताहरू चुनावको मुखमा राम रहीमबाट जितको आशिर्वाद लिन पुग्ने गरेको भारतीय संचार माध्यमले लेखेका छन्। राजनीतिक प्रभावका कारण राम रहीमले पनि अनुसन्धान गर्ने संयन्त्रमाथि प्रभाव पार्दै आएका थिए। अन्ततः धार्मिक आवरणमा अपराध राज चलाएका राम रहीमले जन्मकैदको सजाय पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.