|

ओखलढुंगा : लिखु गाउँपालिकाका प्राय: जनप्रतिनिधिका आफ्नै डोजर छन्। स्थानीय चुनावअघि अन्य पेशा व्यवसाय गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय डोजर व्यवसायमा लागेका हुन्।

जिल्लाको दुर्गम पश्चिमी भेगमा रहेको लिखु गाउँपालिकामा अधिकांश जनप्रतिनिधि डोजर व्यवसायमा संलग्न छन्। यहाँ जनप्रतिनिधिको डोजरभन्दा अन्य डोजरमा सिण्डिकेट नै रहेको स्थानीयको आरोप छ।

गाउँपालिकाका जनप्रतिनिधि र तत्कालीन नेकपा एमालेका नेता तथा सकृय कार्यकर्ताकोहरुको निजी कम्पनी गाउँबेसी कन्स्ट्रक्सन प्रालिका डोजरले सिण्डीकेट लगाएको र अन्य डोजर प्रयोग गर्ने भनेपछि योजना सम्झौतामा नै आनकानी गरी ढिलाइ गर्ने गरेको र आफ्नो डोजर प्रयोग गर्ने भए उधारोमा समेत काम लगाउने गरेको लिखु गाउँपालिका ८ का चुडाबहादुर पौडेलले बताए। 

गाउँपालिका अध्यक्ष लगायतको लगानीमा रहेको गाउँबेसी कन्स्ट्रक्सनले उधारोमा सडक निर्माण गरदिने, सस्तो खनिदिने प्रलोभन समेत देखाउने गरेको उनको आरोप छ। गाउँपालिका प्रमुख गोविन्दबहादुर पौडेल कम्पनीले उधारोमा खन्ने गरेको स्वीकार्छन्। उपभोक्तासमितिले कसलाई मन पराउँछन्, कसले खनेको बाटो राम्रो र गुणस्तरीय हुन्छ सबै देखेर जनप्रतिनिधिहरुको लगानीमा रहेका मेसिन खाली नबसेको र अन्य डोजर संचालकहरुलाई पनि आफ्नो कम्पनीसँग प्रतिस्पर्धा गरेर गाउँविकासमा जुट्न अनुरोध गरिएको उनले बताए।

लिखु गाउँपालिकाको पहिलो सभाले तीन करोड रुपैयाँभन्दा बढी बजेट सडक निर्माणमै विनियोजन गर्यो, यो वर्ष पनि गत वर्षकै हाराहारीमा बजेट विनियोजन भएको छ। गाउपालिकाको प्राय सबै वडामा अहिले बाटो खन्ने काम तिव्र रुपमा चलिरहेको छ। ती बाटो खन्ने काममा प्रयोग भएका अधिकांश डोजर (स्काभेटर) व्यवसायमा जनप्रतिनिधिकै प्रत्यक्षरूपमा संलग्नता छ। आफुले डोजर ल्याएर गाउँपालिकाको काम गर्न खोज्दा गाउँपालिकाले आफ्नो स्काभेटरलाई काम नदिएको सगरमाथा कन्स्ट्रक्सनका दिपक कार्कीले बताए।

उनका अनुसार आफूले गाउँपालिकालाई सडक तथा अन्य कामका लागि प्रयोग हुने लिखु गाउँपालिकामा आधादर्जन भन्दा बढी जनप्रतिनिधिकोे संयुक्त लगानीमा डोजर सञ्चालनमा छ। गाउँबेसी कन्स्ट्रक्सनमा गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष र वडा सदस्यको सम्मको सेयर छ। त्यस्त गाउँपालिका वडा नं. ३ मा पनि जनप्रतिनिधिकै स्काभेटर सञ्चालनमा छ।  

विशेषगरी गाउँपालिकाको वडा नं ५, ६, ७ ८ र ९ मा गाउँपालिका अध्यक्ष लगायतको संयुक्त लगानीमा रहेको गाउँबेसी कन्स्ट्रक्सन प्रलिका स्काभेटर प्रयोग भइरहेको छ। यी चार वटा वडामा मात्रै नभई वडा नं. ३ र ४ मा वडा नं. ३ का वडा सदस्य गोकर्ण श्रेष्ठको आफ्नै डोजर प्रयोगमा छ। 

डोजरवाला जनप्रतिनिधिहरु गाउँपालिकाले गठन गरेका सडक निर्माण उपभोक्ता समितिलाई खुशीपरेर कामगर्न समेत बताउँछन्। ३ नं वडामा निर्वाचित श्रेष्ठ भने आफुले पहिलेदेखि यो व्यवसाय गरेको र आरोप आरोप मात्रै भएको वताउँछन्। अहिले आफ्ना दुईवटा स्काभेटरले काम गरिरहेको बताउँछन्, श्रेष्ठ। भन्छन्, ‘अन्य साथीहरुले पनि मेसिन ल्याएर उपभोक्ता समितिलाई खुसी परेर सडक निर्माणमा लाग्नु हुन्छ भने ल्याएर गरे हुन्छ। 

गाउँपालिकाको ९ वटै वडामा स्थानीय तहमा निर्वाचित गाउँपालिका प्रमूखदेखि वडा सदस्य सम्मको प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा डोजर व्यवसायमा दिनदिनै बढिरहेको छ। यसको प्रमुख कारण भनेको योजना छुट्याउनेदेखि फरफाराक गर्ने सम्म जनप्रतिनिधिकै हात रहने भएकोले हो। उपभोक्ता समिति गठनमा पनि आफ्नो पार्टी र आफू निकट व्यक्ति छान्ने प्रतिस्पर्धा हुने गरेको छ। आफु निकटका मान्छेहरु उपभोक्ता  समितिमा राखी आफ्नै डोजरले बाटो सम्याउने देखि सफा गर्ने गरेको र अन्य मान्छेका डोजरले काम गर्न खोज्दा नदिएको वडा नंं. ४ का अध्यक्ष घनबहादुर कार्कीले बताए। 

प्रत्येक वडामा सडक नै पहिलो प्राथमिकतामा रहेका कारण गत आर्थिक वर्षमा बाटो खन्ने गरी प्रत्येक स्थानीय तहले कम्तीमा तीन करोड बढी रुपैयाँ  बजेट छुट्याएका थिए। सर्वसाधारणको पहिलो माग पनि सडक नै छ। त्यही अवसरको सदुपयोग गर्दै डोजर कम्पनीसँग भाडामा सम्झौता गरी जनप्रतिनिधिहरूले डोजर व्यवसाय गरिरहेका छन्। गाउँपालिकाभित्र सञ्चालन हुने डोजरको पारिश्रमिकमा एकरूपता छैन। प्रतिघण्टा पाँच हजारदेखि छ हजार पाँच सयसम्म लिने गरेका छन्। उपभोक्ता समितिसंँग डोजरवालाको मिलेमतो भएमा त्यो भन्दा बढीमा पनि डोजर चलाउने गरिएको छ।

स्थानीय तह गठन अघि लिखु बेल्टमा डोजर ल्याउन रामेछापको मन्थली वा काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहेको थियो तर अहिले हरेक वडामा डोजर भेटीन्छन्। अहिले गाउँपालिका भित्रै कतिवटा डोजर छन् भनेर यकिन नभएको लिखु गाउँपालिका वडा नं. ८ का स्थानीय देवेन्द्र पौडेल बताउँछन्। लिखु गाउँपालिकामा अहिले कम्तीमा पनि ५ देखि ८ वटा डोजर रहेको अनुमान छ। शुरुशुरुमा केही ठेकेदार र नेताहरु यो व्यवसायमा संलग्न थिए।

केही निर्वाचित प्रतिनिधिहरु निर्वाचित हुनु अघिदेखि नै यही व्यवसायमा संलग्न रहेको पाइए पनि निर्वाचित हुनु अघि साहुसँग कन्ट्रयाक्टमा डोजर ल्याउनेहरू अहिले डोजर मालिक बनेका स्थानीयको भनाइ छ।

गाउँपालिका प्रमुख गोबिन्दबहादुर पौडेल भने जनप्रतिनिधिले कुनै व्यवसाय सञ्चालपन गर्न नपाउने भन्ने नियम नरहेको तर्क गर्छन्। ‘के जनप्रतिनिधिले कुनै व्यवसाय गर्न नपाउने हो?’ उनी प्रश्न गर्छन्, ‘गाउँबेसी कन्स्ट्रक्सनमा मेरो हिजो पनि लगानी थियो। आज पनि छ म निर्वाचित हुनुपूर्व कम्पनीको डाइरेक्टर थिएँ तर आज छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.