|

उदयपुर : पानीको समस्या भएपछि पहाडी क्षेत्रका विद्यालयका शौचालय प्रयोगविहीन बनेका छन्। खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि पहाडी क्षेत्रमा खानेपानीकै समस्या भए पनि विद्यालयका शौचालय प्रयोगमा आउन छाडेका हुन्।

पश्चिम कटारी नगरपालिकाको लेखानीदेखि पूर्वको बेलका नगरपालिकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय पानीकै समस्यामा प्रयोगविहीन बनेका हुन्। खुल्ला दिशामुक्त अभियानको क्रममा सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय पानी नहुँदा प्रयोगविहीन भएको शिक्षकको भनाइ छ। ‘विद्यालयमा पानीकै समस्या छ’ सरस्वति माध्यमिक विद्यालय कटारी कटारी ११ हर्देनकी शिक्षक नविन कार्कीले भने, ‘हाम्रो यहाँ त अलि अलि पानी पाइन्छ।तर पहाडी क्षेत्रका अधिकांश विद्यालयमा पिउने पानीकै समस्या छ। कसरी शौचालयमा प्रयोग गर्ने पानी पाउनु।’

विद्यालय गएका विद्यार्थी शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर शौच गर्न बाध्य छन्। उदयपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै विद्यालयमा शौचालय निर्माण गरिएको थियो। स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरेर झन्डै चार वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। पानीको व्यवस्था नगरी हचुवाका भरमा खुला दिसामुक्त अभियान चलाइँदा विद्यार्थीसँगै सर्वसाधारणले समस्या भोग्नु परेको छ। शौचालय प्रयोग नहुँदा सरसफाइका क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ। महाभारत पहाडमा रहेका अधिकांश विद्यालयमा शौचालय पनि छन्। तर त्यस क्षेत्रमा पानी अभावमा अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन छन्।

‘शौचालय जान त कुरै छोडौं,’ तािप्लीका स्थानीय नरेन्द्र कार्कीले भने, ‘विद्यायलमा पिउने पानीकै समस्या, शौचालय प्रयोगका लागि त पानी व्यवस्थै भएको छैन।’ विद्यालयका सहयोगीलाई पानी बोकेर शिक्षक–विद्यार्थीलाई खुवाउनकै लागि राखिएको उनले गुनासो गरे। विद्यायका सहयोगी वर्षौंदेखि पानी बोकिरहेका छन्। 
पिउने पानीको व्यवस्था भए पनि शौच गर्न पानी नहुँदा शिक्षक विद्यार्थी जंगल जानुपर्ने बाध्यता छ। झन्डै डेढ दशकदेखि विद्यालयमा पानीको समस्या रहेको स्थानीयले वताए। विद्यालयका शौचालयहरूमा पानीकै समस्या हटाउने गरी स्थानीय तहले योजना ल्याउनु पर्ने सर्वसाधारणको भनाइ छ।

‘उदयपुरगढीको महाभारत क्षेत्रमा पर्ने विद्यालयका शौचालय पानीकै ससस्याको कारण प्रयोगविहिन बनेका  छन्’ उदयपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष कुमार अधिकारीले भने, ‘खानेपानीको समस्या जिल्लाबाटै समाधान नभइकन विद्यालयका शौचालय प्रयोगमा आउने लक्षण छैन। खानेपानी पुर्‍याउन ठूला खानेपानीका योजनाहरू सञ्चालन ल्याउन जरुरी छ।’

‘शौचालय त बनाइए पनि पानी अभावमा प्रयोग गर्न समस्या छ’ दुर्गम ताप्ली गाउँपालिकका शिक्षक रोहित मण्डलले भने, ‘पिउने पानी नहुँदा समस्या भोग्नु परेको अवस्थामा शौचालय प्रयोगका लागि पानी कसरी व्यवस्था गर्न सकिन्छ र।’ पश्चिम उत्तरका दर्जनौं विद्यालयमा पनि शौचालय बनाइएको छ । बर्रे, सोरूङछबिसे, हर्देनी, लिम्पाटार, बराहा, जाते, नामेटारा, ओख्ले, साउने, पन्चावती, रिस्कु लगायतका विद्यालयमा झन्डै ५ वर्षयता शौचालय बनिसेका छन् । तर ती क्षेत्रमा पनि पानी नहुँदा प्रयोगविहीन बनेको शिक्षकले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.