|

गुल्मी : धुर्कोट गाउँपालिका १ का ५९ वर्षीय जिवलाल जिसीको हात, खुट्टा तथा शरीरको कुनै भाग चल्दैन। दिसापिसाब सबै उनकी श्रीमतीले स्याहार्दै आएकी छन्। विगत २७ वर्षदेखि अपांग जीवन विताउँदै आएका जिसीको दिनरात घरभित्रै वित्छ।

कहिलेकाहिँ एक/दुई महिनामा एकपटक बाहिर ल्याउने गरेको श्रीमती कष्णाकुमारी जिसी बताउँछिन्। उपचारको लागि भैरहवादेखि भारतको कोलकत्तासम्म पुर्‍याए। तर रोग पहिचान नभएपछि घरमै अपांग जीवन बिताउन बाध्य भए। जिसीजस्तै अपांगको लागि सरकारले परिचय पत्रका आधारमा मासिक भत्ता समेत दिने गरेको छ। तर जिसीको लागि भत्ता त परै जाओस्,अपांग परिचयपत्र समेत बनेको थिएन।

सोमबार नयाँगाउँका वडाध्यक्ष कमल थापासहितको समूह ‘क’ वर्गको अपांग परिचय पत्र लिएर उनको घरमै पुग्यो। यसरी अपांग परिचयपत्र लिएर गाउँपालिकाको समूह घरमै पुग्दा परिवार निकै खुसी देखिए। ‘एम्बुलेन्समा बस्न समेत हुँदैन। डोकोमा बोकेर लैजाँदा खर्च धेरै लाग्छ।’ श्रीमती कृष्णाले भनिन्, ‘आर्थिक अभावका कारण तम्घाससम्म लैजान सकेका थिएनौं। अहिले घरमै आएपछि धेरै खुसी छौं।’ 

अर्का स्थानीय हुमकुमारी घिमिरेको पनि विगत पाँच वर्षदेखि शरीर चल्दैन। उपचार गराउन धेरै ठाउँ लगे पनि रोग पत्ता लागेन। शरीरमा कसैले छोए दुख्छ। दिसा पिसापको लागि समेत अरुको सहारा लिनुपर्छ। गाडी चढ्न पनि नसक्ने हुमकुमारीले अहिले शरीर नदुख्ने औषधि खाइरहेकी छन्। श्रीमान र बुहारीले बाहिर पिँढीमा राखेका बेला गाउँपालिकाको समूह अपांग परिचय पत्र बोकेर घरमै पुग्यो। त्यसपछि उनका हर्षका आँशु झर्न थाले। यसरी ओछ्यानभन्दा बाहिर निस्कन नसक्ने घिमिरेले घरमै आई अपांगता परिचय पत्र देलान भन्ने सोचेकीसम्म थिइनन्।

‘घरमै परिचय देलान भन्ने सोचेकी पनि थिइन’ गहभरी आँशु झार्दै घिमिरेले भनिन्, ‘अहिले धेरै खुसि लागेको छ।’ जनप्रतिनिधि र कर्मचारीले अपांग परिचय पत्र घरमै ल्याइदिएपछि हुमकुमारीलाई स्थानीय सरकारप्रति झनै विश्वास पलाएको छ। धुर्कोट गाउँपालिकाले गाउँपालिकाभित्रका अपांगको लागि ‘अपांग परिचय पत्र वितरण अभियान’ सुरु गरेको छ। वितरण अभियान वडा १ नयाँगाउँबाट सुरु गरिएको छ।

प्रत्येक अपांगलाई नयाँगाउँ स्वास्थ्य चौकीमा परिचय पत्र प्रदान गर्ने भनिए तापनि स्वास्थ्य चौकीसम्म पनि धाउन नसक्नेलाई घरमै पुगेर परिचय पत्र दिइएको थियो। पहिलो दिन नयाँगाउँमा कुल १८ जनालाई ‘अपांग परिचय पत्र’ प्रदान गरिएको छ। जसमध्ये एकजनालाई ‘क’ वर्ग तथा १७ जनालाई ‘ख’ र ‘ग’ वर्गको परिचय पत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासन प्रमुख इश्वरी भण्डारीले जानकारी दिए।

गाउँपालिकाले गाउँसभाबाट ‘अपांगता भएका ब्यक्तिको परिचय–पत्र वितरण कार्यविधि, २०७५’ पास गरेर अपांग परिचय पत्र वितरण सुरु गरेको हो। अपांगको वर्ग छुट्याउनको लागि अपांगता भएका ब्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को पहिलो संशोधन २०७५ को दफा ४२ बमोजिम स्थानीय समन्वय समिति बनाएर परिचय पत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए। 

अपांग वा तीनका संरक्षकलाई आयमूलक सीप

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँबाट सुरु गरिएको अपांगता परिचय पत्र वितरण अभियान प्रत्येक वडामा संचालन गरिने गाउँपालिकाले जनाएको छ। ‘अझै पनि गाउँगाउँमा परिचय पत्र नपाएका अपांगता भएका व्यक्ति हुनुहुन्छ। उहाँहरू राज्यले दिएको अधिकारबाट नै वञ्चित हुनुभएको छ।’ अपांग परिचय पत्र वितरण समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष शिव खत्रीले भने, ‘सबै वडाका अपांगलाई परिचय पत्र प्रदान गर्छौ।’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अपांग वा तिनका संरक्षकलाई आयमूलक सीप सिकाउनु पर्नेमा जोड दिए। ‘अपांगको दैनिकीलाई गाउँपालिकाले राम्रोसँग बुझेको छ। त्यसकारण पहिलो चरणमा परिचय पत्र प्रदान गर्छौ।’ उनले भने, ‘अब तपाइलाई आयमूलक तालिमको आवश्यकता छ। त्यो पूरा गर्छौ।’ 

चार प्रकारका परिचय पत्र

गाउँपालिकाले अहिले चार प्रकारका अपांग परिचय–पत्र वितरण गरेको छ। जसमध्ये पूर्ण अशक्त अपांगता भएकालाई ‘क’ वर्गको परिचय पत्र रातो रंगको पृष्ठभूमिमा प्रदान गरिएको छ। व्यक्तिको शारीरिक वा मानसिक प्रणालीमा भएको क्षतिले दैनिक जीवन सम्पादन गर्न असाध्यै कठिन हुने, अति सामान्य काम पनि गर्न नसक्ने, बौद्धिक रुपमा अपांगता भएका, तीब्र रुपमा अटिजम प्रभावित तथा पूर्ण रुपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरूले ‘क’ वर्गको रुपमा अपांग परिचयपत्र पाएका छन्। यस्तो परिचय पत्र पाउनेहरूले मासिक दुईहजार पाउने गाउँपालिकाका स्वास्थ्य सह–संयोजक डिल्लीराज पराजुलीले बताए।

अति अशक्त अपांगता भएकालाई निलो पृष्ठभूमिमा ‘ख’ वर्गको परिचय पत्र वितरण गरिएको छ। शारीरिक वा मानसिकसम्बन्धी विचलन भएता पनि सहयोगीको सहयोगमा समेत आफ्ना न्यूनतम दैनिक क्रियाकलापहरू गर्न कठिनाई हुने, मष्तिस्क पक्षघात, मांसपेशी समस्या लगायतका कारणले ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकि ह्विलचियर प्रयोग गर्नुपर्ने व्यक्तिहरू र दुवै हात कुमदेखि वा पाखुरादेखि मुनि पूरै नचल्ने तथा कम्मर भन्दा मुनिको भाग गुमाएकाले ‘ख’ वर्गको परिचयपत्र पाएका छन्। यस्तो परिचय पत्र पाउनेहरूले मासिक ६०० पाउने ब्यवस्था रहेको पराजुलीले जानकारी दिए।

मध्यम अपांगता भएकालाई पहेँलो पृष्ठभूमिमा ‘ग’ वर्गको अपांगता परिचय पत्र प्रदान गरिएको छ। कृतिम अंग, विशेष प्रकारका जुत्ता जस्ता सहायक सामग्रीको प्रयोगबाट सामान्य हिड्डुल लगायत दैनिक क्रियाकलापहरू गर्न सक्ने, घुँडामुनिको अंगमा मात्र प्रभाव परेको तर सहायक सामग्रीको प्रयोग नगरी पनि सामान्य हिडडुल गर्न सक्ने, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, ओठ तथा तालु फाटेको र तीन फिट भन्दा मुनिका होचा पुड्का व्यक्तिले ‘ग’ वर्गको परिचय पत्र पाउने गाउँपालिकाले जनाएको छ।

यस्तो परिचय पत्र पाउनेले मासिक रुपमा भत्ता नपाए पनि अन्य कुराहरूमा सुविधा उपलब्ध गराइने व्यवस्था छ। त्यस्तै सामान्य अपांगता भएका व्यक्तिलाई सेतो पृष्ठभूमिमा ‘घ’ वर्गको परिचय पत्र प्रदान गरिएको छ। जसमा शारीरिक वा मानसिकसम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका कामहरू सम्पादन गर्न सक्ने, हात वा खुट्टा केही छोटो भएका, न्यून दृष्टियुक्त व्यक्तिहरू र दुवै गोडाको सबै औंलाका भागहरू नभएकाहरूलाई ‘घ’ वर्गको परिचय पत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ओलीले बताइन्। 

अपांग परिचय पत्र वितरणका लागि गाउँपालिकाको समन्वय समिति

अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गर्नको लागि गाउँपालिकाले छुट्टै समिति समेत बनाएको छ। अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी  ऐन, २०७५ को दफा ४२ अनुसार गाउँपालिकाले ‘स्थानीय समन्वय समिति’ गठन गरेको छ। जसमा गाउँपालिका उपाध्यक्ष संयोजक रहने गरी नौ सदस्यीय समितिको गठन गरिएको छ।

समितिमा गाउँपालिकाको महिला सदस्यमध्येबाट एकजना, पालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानअध्यापक वा स्रोत ब्यक्तिबाट एकजना, गाउँपालिका अध्यक्षले तोकेको स्थानीय स्वास्थ्यचौकी वा अस्पतालको चिकित्सक एकजना, स्थानीय प्रहरी कार्यालयको प्रमुख सदस्य रहने ब्यवस्था छ। त्यसैगरी अपांगता भएका व्यक्तिको हक र हितको लागि काम गरेको संस्थाको प्रतिनिधि, पालिका भित्रका अपांगता भएका व्यक्तिबाट समन्वय समितिले मनोनयन गरेको एकजना महिला, गाउँपालिका उपाध्यक्षले तोकेको कर्मचारी र महिला बालबालिका तथा समाज कल्याण इकाईको प्रमुख सदस्य सचिव रहेन समितिको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत मधु घिमिरेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.