|

रुकुम : रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा सिम्रुतुखोला साना जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। एशियाली विकास बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र स्थानीय जलविद्युत सहकारीले नेपालकै नमूनाको रुपमा यस आयोजनाको निर्माण गरिरहेका छन्। 

रुकुम उज्यालो कार्यक्रमअन्तर्गत जनताको लगानी समेतमा सहकारीमार्फत निर्माण सम्पन्न हुँदै गरेको यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको सिम्रुतुखोला जलविद्युत सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए। २०७३ माघ ८ गते तत्कालीन जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले शिलान्यास गरेपछि आयोजना निर्माणको काम सुरु गरिएको थियो।

स्थानीय सिम्रुतुखोला र खाराखोलाको पानीको स्रोतले यस आयोजनाबाट २०० किलोवाट विद्युत उत्पादन हुनेछ। सहकारीका अध्यक्ष ओलीका अनुसार रुकुम उज्यालो कार्यक्रमअन्तर्गत रुकुम पश्चिममा यो नै सबैभन्दा बढी क्षमताको विद्युत आयोजना हो। अबको दुई महिनाभित्र सबैको घरघरमा बिजुली बालिसक्ने योजना रहेको उनको भनाई छ। अहिलेसम्म क्यानल निर्माण, पावरहाउस भवन निर्माण र मेसिन जडान कार्य समेत सकिएको छ।

गाउँ टोलसम्म लाइन विस्तारको काम समेत तीब्र गतिमा अगाडि बढाइएको र करिब ३०० घरधुरीमा मात्र लाईन पुर्‍याउन बाँकी रहेको छ। ‘घरघरमा वायरिङ गर्ने काममा अलि समय लाग्नेछ।’ अध्यक्ष ओलीले भने, ‘त्यसका लागि पनि दक्ष जनशक्ति परिचालन गरिएको छ। थोरैमात्र जनशक्ति हुँदा समय लाग्ने देखिएको हो।’ आयोजनाबाट त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका एकहजार ३९६ घरधुरी लाभान्वित भएकाे बताइएको छ। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत एसियाली विकास बैंकको पाँच करोड ५० लाख, जनताको श्रमदान तथा नगद दुई करोड र सिभिल बैंकबाट ऋण सहयोग १ करोड गरी कूल आठ करोड ५० लाख रुपैयाँ आयोजनामा लगानी गरिएको बताइएको छ। जनश्रमदानस्वरुप त्रिवेणी गाउँपालिकाको १, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिकाको वडा नम्बर ११ र १२ का स्थानीय उपभोक्ताहरूले प्रतिघर ३० हजारका दरले रकम लगानी गरेका छन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशैभरिका आयोजनाको समीक्षा गर्दै उक्त अनुभवले यसलााई नमूना बनाउन पछिल्लो पटक थप बजेटको समेत व्यवस्था गरेको सहकारीले जनाएको छ। सहकारीमार्फत नेपालकै बढी क्षमताको साना जलविद्युत आयोजना भएकोले यसलाई राम्रो बनाउन करिब एक करोड बजेट थप गरेको सहकारीले बताएको छ। यसमा ५ प्रतिशत सहकारीको समेत दायित्व हुने सहमति रहेको छ।

क्यानल निर्माणका लागि केही चट्टान समेत काट्नु परेको र ग्याभिङ तारको बलियो पर्खाल लगाउन बजेट थप गरिएको हो। आयोजना निर्माणको काम गौरा कन्स्ट्रक्सन प्रालि र हाइड्रो इनर्जी प्रालिले सयुंक्त गरिरहेका छन्। आगामी दिनमा यस आयोजनाबाट उत्पादित विद्युतबाट कुनै पनि व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई अनुदान र सहुलियतमा ऋण व्यवस्था गरेर स्वरोजगार प्रवर्द्धन गर्ने योजना समेत रहेको सहकारीले जनाएको छ। यस आयोजना निर्माणका लागि २०६४ सालमा उपभोक्ता समिति गठन गरिएकोमा यसलाई २०७२ मा सहकारीको रुपमा विकास गरेर अगाडि बढाएकोले समेत यसलाई नमूनाको रुपमा हेरिएको छ।

अहिले आयोजनाको सेवाक्षेत्र भित्र ४५ वटा समूह बनाएर एकहजार २३ सदस्यहरूले नियमित बचत तथा ऋण परिचालन गर्ने काम समेत गर्दै आएको ऋण उपसमितिका संयोजक ओमप्रकाश विसीले बताए। गत फागुनदेखि यो काम समेत सुरु गरेको सहकारीले कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १५ लाख र त्रिवेणी गाउँपालिकाबाट पाँचलाख सहयोगमा आफ्नै भवन निर्माण गरिसकेको छ।

कूल २४ लाख लागत अनुमान रहेको उक्त भवन निर्माणका लागि बाँकी रकम सहकारीको खर्च गरेको सहकारीका अध्यक्ष ओलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.