के हुन् एफडिआई नबढ्नुका कारण?

|

काठमाडौं : यस वर्षको व्यापार घाटा गत वर्षको भन्दा ३९ प्रतिशत बढेको छ। शोधनान्तर घाटा गत वर्षको तुलनामा ७५ अर्ब रुपैयाँ बढी छ। लगानी बढ्न सकेको छैन तर देशको मुद्रास्फिती भने नियन्त्रणमा छ। वैदेशिक लगानी र व्यापारको प्रभावमा चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाउँछ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान चलाएको छ। सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर भएको छ। ‘दिगो विकासको लक्ष्य हासिल गर्न गत वर्षसम्म हामीले वार्षिक १७ खर्ब लगानी गरे पुग्छ भनेका थियौँ, अहिले बढेर वार्षिक २० खर्ब गर्नुपर्ने अवस्था छ’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले भने।

वार्षिक २० खर्ब रुपैयाँको लगानी गर्न कम्तीमा पनि ३० प्रतिशत वैदेशिक लगानी आवश्‍यक पर्ने भए पनि प्रत्यक्ष वैदेशिक लगानीको स्थिति भने घट्दो छ। एफडिआई आप्रवाहमा गत वर्षको तुलनामा ४० प्रतिशतले कमी आएको छ। एफडिआई प्रतिबद्धतामा गत वर्षको तुलनामा ५४ प्रतिशतले ह्रास आएको छ चालू आर्थिक वर्षको पाँच महिनाको अवस्थामा।

गत आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा भएको एफडिआई आप्रवाहको अंक चालू आर्थिक वर्षको चार महिना अर्थात् कार्तिक मसान्तसम्म आइपुग्दा मात्रै पूरा भयो। पाँच महिनाको एफडिआई तथ्यांकलाई हेर्दा चालू आर्थिक वर्षमा सबैभन्दा कम एफडिआई पहिलो महिनामा आयो भने गत आर्थिक वर्षमा सबैभन्दा बढी पहिलो महिनामा आएको तथ्यांकले देखाउँछ।

कुन महिना कति एफडिआई?

एफडिआईको प्रतिबद्धता नआउनुमा विज्ञ र निजी क्षेत्र स्थानीय तहमा देखिएको अवरोध र समन्वयमा सरकारले भूमिका खेल्न नसक्‍नु भएको आरोप छ। सरकारी पक्ष भने पाँच महिनाको अवधिमा आएको तथ्यांकलाई हेरेर धारणा बनाउनु नहुने तर्क गर्छ।

देशको विकासका लागि ठूलो लगानीको आवश्‍यकता महसुस गरेर लगानी सम्मेलनको तयारीमा रहेको सरकारको चालू आर्थिक वर्षको अन्तिमसम्म गत वर्षको तुलनामा एफडिआई बढ्ने दाबी छ। 'केही महिनाको तथ्यांकलाई हेरेर धारणा बनाउनुहुँदैन, वर्षको अन्तिमसम्ममा लगानी बढ्नेछ', केही साताअघि अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए।

पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली स्थानीय तहमा देखिएको अवरोध र समन्वयको कमीका कारण एफडिआईमा आकर्षण बढ्न नसकेको बताउँछन्। 'स्थानीय तहमा धेरै ठाउँमा आयोजनामा अवरोध देखिएको छ, समन्वयात्‍मक भूमिका पनि प्रभावकारी हुन सकेको छैन', ज्ञवालीले भने, 'सुशासनको अभावको कारण प्रतिबद्धता जनाएको रकमसमेत आउन ढिलाइ भएको छ।'

उता, स्वदेशी लगानीकर्ताहरू समेत लगानीमैत्री वातवरण बन्न नसकेको गुनासो गरेका छन्। 'हामी नै भएको उद्योगमा लगानी थप्न नसेको अवस्था छ, नयाँ उद्योगमा लगानी गर्ने आँट अझै आएको छैन', एक उद्योगीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.