|

नवलपारसी : पश्चिम नवलपरासीको बर्दघाट बजारबाट प्रहरीले ठूलो परिमाणमा नक्कली मह र मह बनाउने सामग्री बरामद गरेको छ। ईलाका प्रहरी कार्यालयदेखि करिव १५० मिटरको दूरीमा रहेको एक घरबाट प्रहरीले १२० लिटर नक्कली मह बरामद गरेको हो। नक्कली मह बनाउने समूह बर्दघाट बजारमा लामो समयदेखि सक्रिय हुँदै आएको छ।

नक्कली मह बनाएर बजारमा बेच्नेगरेको सूचना पाएपछि बर्दघाट बजार विकास समितिका पदाधिकारी, बर्दघाट नगरपालिका ४ का वडा अध्यक्ष रवीन्द्र विक्रम हमाल, संचारकर्मीसँगै ईलाका प्रहरी कार्यालय बर्दघाटको प्रहरी टोली मह बनाउने ठाउँमा पुगेको थियो। टोली पुग्दा केहिले चिनी पगाल्दै थिए भने कोहिले मह पलाष्टिकमा प्याक गर्दै थिए। टोली पुग्नासाथ मह बनाउने कार्यमा संलग्न पुरुषहरू भाग्न सफल भए भने महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मह बनाउने ठाउँमा कुहिएका खागका चाका, मरेका खाग र मौरी चिनीका बोरा, फिट्कीरीलगायतका सामग्री फेला परेको छ। ड्रममा कुहिएको अवस्थामा मह जस्तै देखिने पदार्थसमेत भेटिएको छ। प्रहरीले सबै सामान नियन्त्रणमा लिएको छ। मह बनाउने कार्यमा संलग्न महिलाहरूले आफूहरूको घर सर्लाहि रहेको बताएका छन्। घरमा ४ कोठा भाडामा लिएर ६ परिवार बस्दै आएको उनीहरूले बताएका छन्।

यसअघि पनि करिव एक वर्षअगाडि सोही घरबाट प्रहरीने नक्कली मह बनाउने भाँडाकुँडा बरामद गरेको थियो। स्थानीयका अनुसार मह बनाउने समूहले बनाएको मह केही स्थानीयस्तरमा बेच्ने गरे पनि बुटवल, नारायणगढ र काठमाडौंका बजारमा समेत पठाउने गरेको बताउँछन्। पटकपटक बर्दघाटमा नक्कली मह बनाउने समूह सक्रिय भएर मह उत्पादन गरेको घटनाहरू बाहिरिए पनि त्यसलाई नियन्त्रण गर्न नत प्रहरीको ध्यान पुगेको छ नत कुनै सम्बन्धित निकायले कुनै चासो दखाउने गरेको छ।

नक्कली मह बनाएर बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा आफूहरू पुग्दा प्रमाणसहित भेटिएको बजार विकास समितिका अध्यक्ष सोभाकान्त कोइरालाले बताए। जनप्रतिनिधिले पटकपटक यस्ता घटना दोहोरिनुमा आफूहरूको पनि केही कमजोरी भएको स्वीकार्दै प्रहरीले पनि त्यति साथ निदिएको गुनासो गरेका छन्।

मह बनाउने स्थलमा पुगेका मौरीपालक किसान शिवप्रसाद पाण्डेले आफूहरूले उत्पादन गरेको महले बजार नपाउने समस्या भइरहेको समयमा नक्कली महले बजार लिँदा आफूहरू मर्कामा परेको बताए। अवैध रूपमा मह उत्पादन गर्नेहरूलाई कसैले कार्बाही र नियन्त्रणका लागि चासो नदिँदा कारोबार गर्नेहरू मौलाएको पाण्डेले बताए। पाण्डेले नक्कली महको उपभोग गर्दा उपभोक्ताको स्वास्थ्यमा असर गर्ने बताए।

बर्दघाट नगरपालिकामा नक्कली महको व्यापार धेरै फैलिदै गएको वडा ४ का अध्यक्ष हमालले बताए। हमालले अवैध रूपमा काम गर्नेहरूका लागि कोठा भाडामा दिने घरधनीहरूले समेत ख्याल गर्नुपर्ने बताए। अपरिचितहरूलाई घर बाहालमा दिने र उनीहरूले अवैध काम गर्दा पनि कुनै रोकावट नगर्ने घर धनीसमेत कार्बाहीको भागिदार हुनुपर्ने हमालले बताए।

घर धनी कृष्ण परियारकी श्रीमतीले आफूहरूलाई घरमा नक्कली मह बनाउने भन्ने थाहा नभएको बताइन्। उनले ४ वटा कोठामा प्रतिकोठा १ हजार ५ सय रुपैयाँका दरले भाडा लिने गरेको बताइन्। कृष्ण पूर्वप्रहरीसमेत हुन्। कृष्ण नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकबाट सेवा निबृत्त भएका हुन्। उनको घरमा यसअघि पनि नक्कली मह बनाउने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सागर पुरीले मह बनाउने कार्यमा संलग्नलाई खाद्य मिसावटअन्तर्गत मुद्दा चलाएर कारबाही प्रकृया अगाडि बढाइने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.