|

काठमाडौं : गैरअवासीय नेपाली संघ (एनआरन)का पूर्वअध्यक्ष डा. उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि नेपालबाट एक डलर पनि नलगेको बताएका छन्। खोज पत्रकारिता केन्द्रले केही दिनअघि नेपालिक्स नाम दिँदै विदेशमा अवैध रुपमा अर्बौं रकम लुकाउने नेपालीहरूको सूची सार्वजनिक गरेको थियो।

सार्वजतिक सूचीमा आफ्नो पनि नाम जोडिएपछि उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूले विदेशमा गरेकै कमाइ विदेशमा लगानी गरेको बताएका हुन्। उनले आफू मुलरूपमा व्यापार-व्यवसायमा संलग्न रहेकाले नेपालबाहेक विभिन्न देशमा आफ्नो व्यवसायिक प्रतिष्ठानहरूमा लगानी रहनु सामान्य हुने बताए। उनले भने, 'मूलतः व्यापार–व्यवसायमा संलग्न रहेको हुँदा नेपालबाहेक विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरू र तदनुरूपका लगानी थिए र अझै पनि छन्।'

उनले नेपालिक्सको खुलासामा भनिए झैँ आफूले नेपालको रकम विदेशमा नलगी विदेशमा कमाइ गरेको पैसा नेपाल भित्र्याएको दाबी गरेका छन्। उनले आफूले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको भन्दै थप लगानी भित्र्याउन पनि दृढ संकल्प र समर्पित रहेको बताएका छन्।, 'मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु' उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ। उनले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लगानी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको समेत बताए।

खुलासामा आफ्नो नामसँगै भाइ र बहिनीको नाम अनावश्यक रूपमा जोडिएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले भने, 'म अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा छु। म व्यवसायमा भएको हुनाले मेरो परिवार खास गरेर भाइ डा. वीरेन्द्रप्रसाद महतो र बहिनी जुलीकुमारी महतोको नाम अनावश्यक रुपमा जोडिदिँदा मलाई दुःख लागेको छ।'

खोज पत्रकारिता केन्द्र (खोपके)को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आइसीआइजे)सँगको सहकार्यमा एक वर्ष लगाएर अवैध रूपमा विदेशमा अर्बौं लुकाउने नेपालीहरूको खुलासा गरेको थियो। उक्त खुलासामा विभिन्न क्षेत्रमा काम गर्ने ५५ जना नेपालीहरूको सूची सार्वजनिक गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.