|

बाँके : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को जीवनमा आधारित बृत्तचित्र नेपालगन्जमा प्रदर्शन गरिने भएको छ। पत्रकार सन्तोष रेग्मीद्वारा निर्देशित उक्त बृत्तचित्र नेपाल प्रेस युनियन बाँकेको संयोजनमा यही माघ १५ गते प्रदर्शन गरिने भएको हो। 

नेपालगन्ज निवासी प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष हुन्। विगत चार दशकभन्दा बढी समयदेखि प्रकाशित हुँदै आएको ‘किरण साप्ताहिक’ का प्रकाशक/सम्पादक समेत रहेका ९० वर्षीय गुप्तको विशेष आग्रहमा युनियनले उक्त बृत्तचित्र प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष जयनारायण शाहले बताए। 

बृत्तचित्र प्रदर्शनी गरेर संकलन भएको रकम पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिने उनले जानकारी दिए। बृत्तचित्र प्रदर्शनीका लागि युनियन बाँकेको कार्यसमिति बैठकले शुक्रबार एक तयारी समिति गठन गरेको छ। युनियनका केन्द्रिय सदस्य जयसिंह केसीको संयोजकत्वमा समिति गठन गरिएको हो। 
उक्त बैठकमा विशेष आमन्त्रित रहेका युनियनका केन्द्रिय उप–महासचिव प्रेम केसीले पत्रकारितामै आफ्नो जीवन समर्पित गरेका प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को बृत्तचित्र अवलोकन गर्न पाउनु बाँकेबासीका लागि महत्वपूर्ण अवसर भएको बताए। बृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई भब्य बनाउन युनियनले कुनै कसर बाँकी राख्न नहुनेमा उनले जोड दिए।

युनियनका केन्द्रीय सदस्य एवम् तयारी समितिका संयोजक जयसिंह केसीले बृतचित्र अवलोकनका लागि सरकारी तथा गैर सरकारी निकाय, जनप्रतिनिधि, उद्योगी, ब्यवसायी, पत्रकार, नागरिक समाज, साहित्यकार, कलाकार, प्राध्यापक, बिद्यार्थी, सर्वसाधारण सबैलाई निम्तो बाँडिने बताए। बृतचित्रका निर्देशक सन्तोष रेग्मीले चाचाजीको सम्मानका साथै पत्रकारितामा उनको योगदानबारे समाजलाई सुसूचित गर्न बृतचित्र निर्माण गरेको प्रष्ट्याए। ‘चाचाजीको योगदान बारे समाजलाई सुसूचित गर्ने सानो प्रयास गरेको हुँ,’ उनले भने। 

युनियन बाँकेका सचिव अर्जुन ओलीले ‘चाचाजी’ को बृतचित्रले नेपाली पत्रकारिताको इतिहासबारे समाजलाई सुसूचित गर्नुका साथै पत्रकारितामा आउन चाहने नयाँ पिढींका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरे। युनियन बाँकेको अधिवेशनको तयारी सँग सँगै बृत्तचित्र प्रदर्शनीको तयारी गर्न लागिएको सचिव ओलीले बताए।

‘हामी युनियनको अधिवेशनको तयारीमा छौं। चाचाजीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी उहाँकै उपस्थितिमा बृत्तचित्र प्रदर्शन गर्ने निर्णयसहित त्यसको तयारीमा जुटेका छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.