|

काठमाडौ :  २०५९ सालतिरको कुरा हो। गीतकार तथा कवि शिव पलाँस बिए पढ्न पोखरामा थिए। गजल, मुक्तक लेखेर उनी पोखरेली साहित्य सर्कलमा परिचित बनिसकेका थिए भने गीत र कविता लेख्ने कामचाहिंँ गुपचुप चलिरहेको थियो।

त्यसताका  उनी गीत तथा कविता सिकेर वा बुझेर भन्दा पनि आफूभन्दा अग्रजको देखेर सिको गर्दै लेख्थे। जब एक दिन उनका नजिकका साथी प्रदीप राना उनको डेरामा आए, पलाँसका डायरीमा भएका गीतहरू पढे। पलाँसलाई ती साथीले भने, ‘कस्ता राम्रा गीतहरू रहेछन्। केही गीत मलाई देऊ, म रेकर्ड गर्छु।‘ त्यसपछि उनले पलाँसको अनुमतिमा केही गीत बोकेर गए- रेकर्ड गर्नका निम्ति।

उनी भन्छन्, ‘प्रदीपले गीत लिएर गए। बदलामा मेरा गीतहरू रेकर्डका लागि सुहाउंँदाँ रहेछन् भन्ने अनुभूति मनमा जगाइदिए।‘ उनी गीत लेखनमा लागिरहे। कविता लेखिरहे।

हिउँदे बिदामा उनी आफ्नो गाउँ स्याङ्जा गए। हिउँँद लाग्दै गरेका ती दिनमा गाउँको दैनिकी भनेको दिनभर गोरु चराउने हुन्थ्यो। उनले पोखराबाट घर जाने बेलामा मधुपर्क र गरिमा पत्रिका बोकेेर लगेको थिए। तिनै पत्रिका, कलम र कापी झोलामा बोकेर गोरु चराउन गए।  उनको त्यसबेला पत्रिका पढ्ने लत थियो। नयाँ विषयवस्तुमा गीत लेख्ने रुचि पनि।

नयाँ नयाँ विम्ब र विषयवस्तुको खोजीमा हुन्थे उनी ताकि आफ्ना हरेेक गीत फरक फरक स्वादका हुन्। नयाँ विषयवस्तुको खोजी हुनुुु स्वाभाविक पनि हो। केही समयदेेेखि उनको दिमागमा एउटा कुरा खेलिरहेको थियो। हरेक युवायुवती प्रेम एक जनासँग गर्छन्, विवाह अर्कोसँग। यो विषय जति रोचक छ, उस्तै दुखदायी पनि। यसैको मध्यमार्गी भएर उनले स्थायी लेखिदिए।

'माया गर्नुको अर्थ सिउँदो भर्नु होइन

सिउँदो भर्नुको अर्थ माया गर्नु होइन।'

यो स्थायी उनी स्वयंलाई सुन्दर लाग्यो। त्यही दिन उनले यो गीत पूरा गरे। बिहान पत्रिका, कलम र कापी बोकेर गएका उनी फर्कंदा एउटा गीत पनि बोकेर आए। उनी पुनः दशैँ सकेर पोखरा फर्किए। बिए पहिलो वर्ष  सकेर दोस्रो वर्ष पढ्न उनी काठमाडौं हान्निए। आफ्ना गीत बोकेर रेकर्डिङ स्टुडियो धाउने काम पनि काठमाडौं हान्निएसँगै सुरु भयो उनको। तर  उपलब्धि शून्य थियो। यही क्रममा एक दिन उनको भेट गायक कर्णदाससँग भयो। कर्णदासले उनको यो गीत पढेर माया गरेपछि सिउँदो भर्नुपर्छ बनाउँदा राम्रो हुने सुझाव दिए। कर्णदासको सुझाव मनन् गरेर उनी डेरा फर्किए। आफूले लेखेको स्थायी कर्णदासले दिएको सुझावभन्दा सुन्दर लाग्यो पलाँसलाई।

उनको भेट रिमा रेकर्डिङ स्टुडियोमा संगीतकार बिबी अनुरागीसँँग भयो। बिबीले यो गीत पढेपछि दिएको प्रतिक्रिया पलाँस सम्झन्छन्, ‘यो स्थायी कुनै दार्शनिकले भनेको दर्शन जस्तो छ। यो गीतमा म संगीत गर्छु।‘ यो गीत मात्र होइन, उनले पलाँसका डायरीबाट पाँचवटा गीत निकाले, जसमध्ये दुई गीत बजारमा आए। एउटा यो भइहाल्यो, अर्को चन्दादेवीको आवाजमा ‘मनमा राख मलाई महलमा होइन।’

डेढ वर्षको काठमाडौं बसाइ अनुकूल नभएपछि उनी पोखरा फर्किए। पढाइले जागिर खाने योग्यता पनि बढाउँदै गयो। उनी शिक्षण पेसा गर्न लमजुङ लागे। लमजुङ बसाइका क्रममा एक दिन गजलकार नवीन अंकुरले शिशिर योगी लमजुङ आएको बताइदिए। यति मात्र होइन, योगीले बजारमा एउटा सुन्दर गीत आउँदै छ भनेर आफूलाई एउटा गीतको स्थायी सुनाएको पनि भन्न छुटाएनन्। पलाँसले शिशिर योगीले गाएको गीत आफ्नो भएको भनेर पुन: पुरा गीत सुनाइदिए। अंकुर छक्क परे।

त्यसको केही दिनमा उनले यो गीत रेडियोबाट सुने। सुरुवातमा आफूलाई यो गीत मन नपरेको बताउँछन् उनी। भन्छन्, ‘धेरै साथीहरूले सकारात्मक प्रतिक्रिया दिँदै जाँदा बल्ल आफूलाई मनपर्दै गएको हो।‘ बिबीलाई गीत दिएको चार वर्षपछि यो गीत बजारमा आएको उनले बताए।

पलाँस कहिले जागिर कहिले पढाइ भन्दै लमजुङ, पोखरा स्याङ्जा गरिरहन्थे। मुक्तक मंच र गजल सन्ध्या पोखरामा हुने कार्यक्रममा कवि तथा गजलकारद्वय दीपक समीप र रूपिन्द्र प्रभावी कटुले सुन्दर गीत लेखेको भन्दै बधाई दिएको सम्झिन्छन् उनी। उनी भन्छन्, ‘सकारात्मक प्रतिक्रियाले उत्साह थपिँदोरहेछ। साथीहरूको प्रतिक्रियापछि आफू  ख्यालख्यालैमा गीतकार बनेको आभास भयो।‘

उनी यही एउटा गीतबाट चर्चामा आए। यो गीतभन्दा पहिले पनि उनको एउटा गीत ‘बेहोसीमै छाडी गयौ’ सन्तोष रूचालको आवाजमा बजारमा आइसकेको थियो तर उक्त गीत चर्चामा आउन सकेन। न त त्यसपछिका गीत नै चर्चामा आउन सके उनका।

उनले यो गीतको भिडियो कसरी हेरे भन्ने कुरा पनि बताए। गीतको अडियो सार्वजनिक भएको केही समयमा भिडियो पनि बन्यो। भिडियो बजारमा आउँदा उनी पोखरामा थिए। आफ्नो कोठामा टिभी नभएकाले नजिकको पसलमा गएर पहिलो पटक भिडियो हेरेको उनी सम्झिन्छन्। उनी आफ्नो गीतको भिडियो टिभीमा हेर्न पसलेसँग अनुमति मागेेको बताउँछन्। आफ्नो गीत टिभीमा आउँदा खुसी भए पनि भिडियो मन नपरेको बताउँछन् उनी। ‘भिडियो धेरै राम्रो बनाउन सकिन्थ्यो तर...', उनी  केही मौन भए।

उनलाई गीतअनुसारको भिडियो बनेको छैन भन्ने आज पनि लाग्छ। र पनि  शिशिर योगीले भनेको एउटा भनाइ सम्झन्छन्, ‘गीत हिट हुन भिडियो मात्र सर्वेसर्वा होइन।‘ पलाँस उनको यो कुरामा केही सहमत त हुन्छन् तर श्रोताहरू माझ पुगिसकेको भिडियो उत्कृष्ट हुनुपर्ने शर्त राख्छन् उनी। उनले यो गीतबाट पारिश्रमिक नपाएको बताउँछन्।  उनी भन्छन्, ‘यो गीतबाट पारश्रमिक हात लागेन। यद्यपि, गीतले दिएको उचाइले म सन्तुष्ट छु।‘  

'आकर्षण' एल्बममा रहेको यो गीत नै शीर्ष गीत हुनपुग्यो। जुन एल्बममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, रमेश पौडेललगायत नेपालका चर्चित गीतकारहरूको शब्द थियो। उमेरको हिसाबले पलाँस सबैभन्दा कान्छा गीतकार थिए। उनले आजसम्म दीप श्रेष्ठ, नरेन्द्र प्यासी, प्रमोद खरेल जस्ता नेपालका चर्चित गायकसँग काम गरेका छन्। यही गीतका कारण धेरै सर्जकसँग काम गर्ने अवसर पाएको उनले सुनाए।                                                                                           

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.