|

हेटौंडा : सञ्चारकर्मी मनोहर ढकालको हत्यारालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा गत पुस २५ गते मृत अवस्थामा भेटिएका ढकालको हत्यामा संलग्न दुईजनालाई प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार हेटौँडा-११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका–१ का १८ वर्षीय प्रवीण वाइबाले ढकाललाई कुटपिट गरी भीरबाट ढकालेर हत्या गरेका थिए।

‘जंगलमा दुईजना लागुऔषध सेवन गरेर बसिरहेको समयमा ढकाल एक्कासि त्यहाँ पुगेर उनीहरूलाई प्रहरी बोलाउने धम्की दिएपछि उनीहरूले ढकालमाथि हातपात गरेको र उनलाई धकालेर मारेको अनुसन्धानको क्रममा देखिएको छ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने।  उनका अनुसार ढकालका हत्यासँगै पुडासैनी र वाइबाले  एकथान सुनको औंठी र मोवाइलसमेत लिएर गएका थिए।

उनीहरूले सुनको औंठी र मोवाइल शुक्रबार बेचेसँगै प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले मोवाइल खरिद गर्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक भीमफेदी गाउँपालिका–६ का ३१ वर्षीय दिनेश थापमगर र सुन खरिद गर्ने नारायणी सुनचाँदी पसल हेटौंडा–२ का सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट सुनको औंठी, भीभो मोवाइल, हार्ड डिक्स र डाटा केबल समेत बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा अनुसन्धानमा खटिएको सातजनाको प्रहरी टोलीले  हत्या भएको नौ दिनपश्चात् घटनाको सत्यतथ्य बाहिर ल्याएको हो।  प्रहरीले हत्यार पत्ता लगाउनका लागि प्रविधिको विशेष प्रयोग गरेको र कुकुरको समेत प्रयोग गरेको जनाएको छ।  प्रहरीले अनुसन्धानको अवधिमा हेटौंडा बजार क्षेत्रका करिब एकसय ५० युवासँग सोधपुछ गरेको थियो।

‘मृतक ढकाल उक्त स्थानमा किन गए भन्ने अझै रहस्य नै रहेको छ। हामीले गरेको अनुसन्धानअनुसार ढकाल त्यहाँ मोटरसाइकल आफैँले लिएर गएको देखिन्छ। त्यो लागूऔषध सेवन गर्नेहरुको अखडा समेत रहेछ। लागूऔषध सेवनबाट लठिएकालाई प्रहरी बोलाउँछु भनेर मोटरसाइकल फर्काएर आउन फर्किन खोज्दा मोटरसाइकल तानेर हातपात गरी भिरबाट लडाइदिएसँगै ढुङ्गामा बजारिएर मृत्यु भएको देखिन्छ।,’ प्रहरी उपरीक्षक भट्टराईले भने।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.