|

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने बताएका छन्।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले पिता श्री ब्रम्हबाबाको ५०औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति र समृद्धिका लागि योग’ विषयक कार्यक्रममा उनले अशान्त भएको ठाउँमा समृद्धि आउन नसक्ने बताए।

अध्यक्ष तिमल्सेनाले एउटै धर्ममा पनि फरक–फरक सम्प्रदाय मान्ने मानिस रहेको बताउँदै धर्मका नाममा एक सम्प्रदाय र अर्को सम्प्रदायबीच हिंसा बढ्नु समृिद्धको बाधक हुने उल्लेख गरे।

“राज्यका सबै नागरिक सुखी र खुशी नभएसम्म समृद्ध मुलुक निर्माण हुन सक्दैन,”– उनले भने। योगले मानव जीवनमा सकारात्मक ऊर्जा पैदा गर्ने र शान्ति र समृद्धिका लागि योग आवश्यक रहेको अध्यक्ष तिमल्सेनाले स्पष्ट पारे।

पूर्वमन्त्री केशवलाल श्रेष्ठले समाजमा हुने सबै किसिमका भेद्भाव अन्त्य गरेर सबैलाई समान रुपमा बाँच्न सिकाउन सकेमात्र पनि मुलुकको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “हरेक व्यक्तिले आफ्नो जीवनको शान्तिभन्दा पनि विश्व शान्तिको पक्षमा आवाज उठाउन जरुरी छ,”उनले भने।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजदिदीले हरेक व्यक्तिमा सकारात्मक सोच आउन सकेमात्र पनि मुलुकको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। केन्द्रका प्रमुख रामसिंह ऐरले मुलुकको हितका लागि ईश्वरीय सेवा आवश्यक रहेको बताउँदै योग शिक्षालाई विद्यालयको पाठ्यक्रममा समेत समावेश गर्नु जरुरी रहेको छ भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.