|

पोखरा : द्रब्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव २०७५’ हुने भएको छ। पालुङ्टारलाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालुङ्टार बजार इकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए। महोत्सव आगामी फागुन ३ गते देखि १२ गतेसम्म चल्नेछ। 

पालुङ्टार नगरपालिका कार्यालय, गोरखा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड पोखरा, आदिवासी जनजाति महासंघ नगर परिषद पालुङ्टारको सहयोगमा महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष देवकोटाले जानकारी दिए। ‘पालुङ्टारमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनु नै महोत्सवमो मुख्य उद्देश्य हो’ देवकोटाले भने, ‘महोत्सव आयोजना गरेर बचेको रकमले पालुङ्टारमा बहुउद्देश्यीय सभा हल निर्माण गर्ने लक्ष्य राखेका छौँ। महोत्सव स्थलमा १०० भन्दा बढी स्टल हुनेछन्।’

स्टलमा पालुङ्टार क्षेत्रभित्र नै उत्पादन भएको खाद्यन्नलाई प्राथमिकता दिने आयोजकले बताएको छ। च्याङ्लीटारको मास, धुवाँकोटका केरा, अदुवा जस्ता स्थानीय उत्पादन तथा अन्य उपभोग्य सामाने स्टलमा स्थान पाउने आयोजकको भनाई छ। महोत्सवमा ख्याति प्राप्त कलाकारको प्रस्तुति समेत रहनेछ। मेलाकै अवसरमा लिगलिगकोटबाट प्याराग्लाइडिङ उडाउने तयारी गरिएको छ।

महोत्सवस्थल प्रवेश गर्न विद्यार्थीका लागि ३० र अन्यले ५० रुपैयाँ तिर्नुपर्ने छ। ७० वर्ष कटेका वृद्धवृद्धालाई भने निशुल्क प्रवेश गराउने देवकोटाले बताए। मेला ब्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरू निर्माण गरेर काम सुरु गर्न थालेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.