|
File Photo

जनकपुरधाम : धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जनकपुरधाम उप–महानगरपालिका १२ कुवा रामपुर स्थित नारी विकास केन्द्र अगाडि विद्युत पोलबाट प्रवाह भएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार तीन वटा छुट्टाछुट्टै मोटरसाइकल सवार भई आएका उनीहरू सडक पेटीमै रहेको विद्युतको पोलमा अडेसका लागि बाँधिएको तारबाट करेन्ट प्रवाह हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। करेन्ट लागेका एक जनालाई बचाउन खोज्दा अर्को एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा सिरहाको विष्णुपुर नगरपालिका ४ घर भएका रामअवतार साहका २७ वर्षीय छोरा जगरनाथ साह र धनुषाको मिथिला बिहारी नगरपालिका ९ मिथिलेश्वर मौवाहीका परमेश्वर मण्डल रहेका छन्। करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ४१ वर्षका सूर्यनारायण शर्मा घाइते भएका छन्।

घटनास्थलबाट करेन्ट प्रवाह भएको मोटरसाइकल ज. ९ प ७७०९, ज. ९ प ३५२० र स. ४ प ३९५६ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।

घाइते शर्माको अञ्चल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। घटनास्थल पुगेका प्रहरीका अनुसार ११ हजार भोल्टको तार तानिएको पोलबाट सपोर्टका लागि जमिनमा गाडिएको तारबाट करेन्ट प्रवाह भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.