|

धनगढी : नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ। शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टारलाई १–० ले पराजित गर्‍यो।

पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे। खेलको ६४औँ मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। यस जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो। खेलमा निर्णायक गोल गरेका अभिषेक म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।

विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो। उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए। उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम ११ स्पोर्टस् क्लबका भरत टमाटा घोषित भए। प्रतियोगिता अवाधिभर ३ गोल गरेका पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडी बन्दै नेपाल पुलिसका रवी पासवानले  यामाहाको १५० सीसी मोटरसाइकल हातपारे।

प्रतियोगिताको समापन समारोहमा कांग्रेस नेतृ आरजु राना देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.