|

भारतमा आसन्न लोकसभा चुनावको पारो तात्न थालेको छ। यसैवर्ष हुन लागेको लोकसभा चुनावका लागि सत्ताधारी दल भारतीय जनता पार्टी र उनको चुनावी गठबन्धन चुनावी मैदानमा उत्रिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेता मानेर अगाडि बढेको एनडिए गठबन्धनलाई चुनौती दिन विपक्षी दलहरूले पनि गठबन्धन तयार पारेका छन्। विपक्षीको महागठबन्धन पनि चुनावी मैदानमा ओर्लिएको छ।

विपक्षी दलहरूको गठबन्धनले शनिबार पश्चिम बंगालको कोलकातामा विशाल र्‍याली गरेको थियो। जसमा विपक्षी कांग्रेस, त्रिणमूल कांग्रेस, आम आदमी पार्टी, लालु यादवको पार्टी लगायत तमाम विपक्षी दल एउटै मंचमा उभिएका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्री मोदीको पाँचवर्षे कार्यकालमा भएका कामको व्यापक विरोध गरेका थिए। उनीहरूले मोदीकालमा भएका भ्रष्टाचार, नोटबन्दी, जिएसटी, जात र धर्मका नाममा भएका हत्या, किसानहरूको आत्महत्या, बढ्दो बेरोजगारी, महंगीलगायत सयौं विषयमा प्रधानमन्त्री र भाजपाको चर्को आलोचना गरेका थिए।

पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीको अगुवाइमा भएको विपक्षीहरूको विशाल सभामा सत्ताधारी दल भारतीय जनता पार्टीका सांसद एवं अभिनेता शत्रुघ्न सिन्हाको पनि उपस्थिति थियो। उनले सभालाई सम्बोधन गर्दै मोदीलाई ‘चोर’सम्म भन्न भ्याएका थिए। उनी भाजपाका तर्फबाट लोकसभा सांसद हुन्।

सिन्हाले प्रधानमन्त्री मोदीलाई राफेल विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै आलोचना गरेका थिए। उक्त काण्डमा अर्बौं भारतीय मुद्रा प्रधानमन्त्री मोदी निकट व्यापारी अनिल अम्बनीलाई मुनाफा पुर्‍याएको भन्दै विपक्षी नेता राहुल गान्धीले आरोप लगाउने गरेका छन्। ‘चौकीदार चोर हो’ भन्ने राहुलको भनाइलाई नै सिन्हाले सभामा मोदीका विरुद्धमा बोलेका थिए। सिन्हाले उक्त सम्बोधनमा विपक्षी दलका अध्यक्ष राहुल गान्धीको प्रसंसासमेत गरेका थिए। मोदी आफूलाई भारतको प्रधानमन्त्री नभएर चौकीदार रहेको भन्ने गरेका थिए।

सिन्हाले मोदीलाई तानाशाही पनि भन्न भ्याएका थिए। भाजपाका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको र मोदीको शासनकाललाई तुलना गर्दै उनले अहिलेको शासनकाल तानाशाही भएको आरोप लगाए। उनले चुनावी बाचा धेरै भइरहेको तर काम नभएको भन्दै मोदीले भारतीय जनताविरुद्ध ज्यादती गरेको आरोप लगाए। उनले यो तानाशाही र ज्यादती धेरै दिन नचल्ने आरोप लगाए। उनले भने रातारात फर्मान जारी गरेर नोटबन्दी गरियो, जिएसटी लागू गरियो जसले सयौं जनताको मृत्यु भयो।

आफू अहिलेसम्म भारतीय जनता पार्टी रहेको भन्दै आफू सही बाटोमा लागेको र सही नेतृत्वलाई साथ दिन लागेको बताए। उनले भारतीय जनता पार्टीका विरुद्ध किन बोल्नुहुन्छ भनेर प्रश्न आउने गरेका र त्यसको जवाफमा आफू सही ठाउँमा रहेको बताए। उनले आफू सही मार्गमा लाग्न र सही राजनीतिक विचारलाई साथ दिन लागेको बताए। २० दल सहभागी विपक्षीको उक्त सभामा भाजपाका वरिष्ठ नेता यशवन्त सिन्हा पनि उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.