|

भद्रपुर (झापा) : भद्रपुरस्थित मेची नदीमा उद्घाटनमा प्रतीक्षामा रहेको मेची पुलमा आवतजावत सुरु भएको छ। गत मंसिर २६ मा उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि निर्माण सकिए पनि पुल सञ्चालन गरिएको थिएन।

निर्माण कम्पनीले पुलमा रंगरोगन र नेपालतर्फको बाटो खुलाइसकेको छ। तर, उद्घाटन नभइ पुलमाथिबाट आवतजावत गर्न नदिने भनी निर्माण कम्पनीले काँडे तार लगाएर पुल बन्द गरेको थियो। नागरिकको चौतर्फी विरोध र दवावपछि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा शनिवार दिउँसो १२ बजेदेखि आवतजावत सुरु गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी दाहालले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठलाई मौखिक आदेश दिएपछि उनकै नेतृत्वमा पुलमाथिको काँडे तार हटाइएको थियो। ‘सिडियो सापको आदेश आएपछि बन्द गरिएको पुल सञ्चालनमा ल्याएका हौँ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘उद्घाटन नभएसम्म पुलमाथिबाट पैदलयात्रीसहित दुई पांग्रे सवारीसाधनलाई मात्र अनुमति दिएका छौँ, तीन र चार पांग्रे साधनलाई सञ्चालन गर्न दिँदैनौँ।’

सात दशकअघि देखि नै निर्माणको चर्चा सुरु भएको मेची पुल निर्माण भए पनि यस क्षेत्रका नेपाल तथा भारतका नागरिक बाँसे पुलबाट नदी तर्न बाध्य छन्। भारततर्फको सडक नबन्दा पुल उद्घाटन हुन नसकेको केही व्यक्तिहरुको भनाइ छ।

पुल जोड्ने सडकका लागि नेपालतर्फको एक दशमलब ४५७ मिटर सडक निर्माण गर्नुपर्नेमा सरकारले एक दशमलब २९० मिटर सडकको मुआब्जा विवाद टुंगो लगाउन सकेको छैन। भारततर्फ ४०० मिटर सडक निर्माण कार्य यस वर्ष हुने हो या होइन अझै टुंगो लागको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.