राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको नाम सुन्न सरकार डरायो

|

तनहुँ : नेपाली कांग्रेसका सभापति तथा पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तनहुँद्वारा बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल भएको बताएका हुन्।

‘हत्याको प्रमाण नष्ट गर्ने खोज्ने, कपडा पखाल्ने जस्ता कार्य स्पष्ट भए पनि हत्यारा पत्ता लगाउन नसक्नुले संरक्षणमा सरकारको संलग्नता मान्न सकिन्छ’ उनले भने, ‘देशमा बलात्कार, हत्या, हिंसा तथा आतङ्क जस्ता आतङ्कित कार्यहरुलाई नियन्त्रण गर्न नसकेर सरकार असफल सावित भइसकेको छ।’ नेपाली कांग्रेस सबैभन्दा लोकतान्त्रिक र समावेशी पार्टी भएको दाबी गर्दै देउवाले महिला, जनजाति, मधेसी, अल्पसङ्ख्यक सबैलाई समेटेर आरक्षण गरेको र अब पार्टी मजबुद भएर अगाडि बढेको बताए। 

गोविन्दराज जोशीले आव्हान गरेको विशेष अधिवेशन स्थगित गर्न सभापति देउवाले आग्रह गुर्नका साथै नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको नाममा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज नगर्न सरकारलाई सुझाए। उनले स्वासप्रश्वास केन्द्रको खारेजी गरेमा सदन र सडकदेखि आन्दोलन शुरु गर्न कार्यकर्तालाई निर्देशन दिए।

सरकार राजनीतिका महानायक  गिरिजाप्रसाद कोइरालाको नाम सुन्न डरायो

केन्द्रको खारेजी गर्न लागेको प्रति इंकित गर्दै नेपाली राजनीतिका महानायक  गिरिजाप्रसाद कोइरालाको नाम सुन्नसमेत सरकार किन हिचकिचाएको छ? देउवाले प्रतिप्रश्न गरे। ‘आफू भारत भ्रमणका समयमा श्वासप्रश्वास केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाउन भारत सरकारले सहयोग गर्ने वचन दिएको र सम्झौता भएको अवस्थामा सरकारले विघटन गर्नु न्यायोचित होइन,’ उनले भने ।

आन्तरिक झगडाले पार्टी कमजोर भयो : शशांक

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आन्तरिक झगडाले गर्दा निर्वाचनमा पार्टी पराजित भएको बताउँदै एकजुट भएर अगाडि बढ्न सके पार्टीलाई अझै पनि जित्न सक्ने अवस्था कसैको नभएको दाबी गरे। कोइरालाले पार्टीको विधि र विधान नमानेर पूर्व-सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरद्वारा आह्वान गरिएको विशेष अधिवेशनले पार्टीलाई विखण्डन गराउने हुँदा स्थगित गर्न आग्रह गरे।

पार्टीमा सामूहिक नेतृत्वको खाँचो : रामशरण महत

नेपाली कांग्रेसका पूर्व-सहमहामन्त्री रामशरण कांग्रेसले सामूहिक नेतृत्वबाट पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। कांग्रेसीले पार्टीको विधि र विधन पूर्वक काम गर्नुपर्ने बताउँदै पार्टीको संशोधित विधान अरु कसैको नभएको महराले दाबी गरे। उनले बहुलवाद र संसदवादलाई कम्युष्टिहरुले समेत आत्मसाथ गरेर अगाडि बढ्नतर्फ लागेको बताए। माओवादीले समाप्त पार्न खोजेको सरकारको बजेट र देशलाई नेपाली कांग्रेसले बचाएको दावी गर्दै कांग्रेस अझै पनि शक्तिशाली रहेको बताए। 

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल र जीवन परियार, नेका तनहुँका सभापति वैकुण्ठ न्यौपाने लगायतले व्यक्तिगत द्वन्द्वलाई पार्टीसँग तुलना नगरी पार्टीको विधि र विधानअनुरुप कमी कमजोरी र असन्तुष्टी पक्षलाई पार्टीसँग छलफलको प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए। उनीहरुले बाहिर विशेष अधिवेशनको आह्वान गर्नु भन्दा विधान अनुसार प्रक्रिया पुर्‍याएर अविश्वासको प्रस्ताव ल्याउनसमेत आग्रह गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.