|

संखुवासभा : गिट्टी बालुवा चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेको छन्। संखुवासभामा गिट्टी बालुवा उत्खनन् बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण ब्यवसायी संघका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए। जिल्लामा संचालन हुदै आएको दुई क्रसर ५ महिना अगाडि वन कार्यालयले अवैध भन्दै जिल्ला बन कार्यालयले बन्द गरेपछि अहिले गिट्टी बालुवा चरम अभाव सिर्जना भएको छ। 

खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पांमा खोला र माल्टा खोलामा निर्माणाधीन २ वटा पक्की पुलको निर्माण कार्य केहि महिनादेखि गिट्टी बालुवा चरम अभाव भएको भन्दै काम ठप्प बनेको छ। एसएनआरटीपीको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको पुलको हाल एउटा पिलर पनि बनाइएको छैन। गिट्टी बालुवा अभावले पुल निर्धारित समयभित्र बनाउने कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताए। निर्देशक राई भने ‘हामीले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेका थियौँ। तर गिटीको अभावमा हामी पुल निर्माण गर्न असमर्थ भयौं।' 

दुईकरोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस.ए.एस. जेभीले पुल निर्माणको ठेक्का लिएका छन्। आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलर समेत बनेको छैन। यस्तै आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ। सो पुलमा पिलर हाल्नको लागि जग खनिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन।

दुई करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अरुणवरुण जेभीले पाएको छ। एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गिट्टी अभावले पुल निर्माण प्रभावित भएको पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाको भनाइ छ। समयमै पुल बनाउन यही परिस्थितिमा नसक्ने शेर्पाले गुनासो गरे। उनले थपे, 'निरन्तर काम गर्ने वातावरण छैन। त्यसको प्रमुख कारण गिट्टी अभाव नै छ।' 

जिल्लामा गिट्टी बालुवा अभाव भएको सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउदाँ समेत निर्माण ब्यवसायीको माग प्रति बेवास्था गरिएको निर्माण ब्यवसायी संघका अध्यक्ष कुलबहादुर श्रेष्ठले गुनासो गरे। अध्यक्ष श्रेष्ठले भने जिल्लामा पुल मात्र होइन भूकम्प पीडितका घर पुननिर्माणमा ,ब्यक्तिका घर, सरकारी भवन समेत लामो समयदेखि गिट्टी बालुवा अभावले ठप्प भएको बताए। 

संघ, प्रदेश तथा स्थानीय तहले भारी मात्रामा विकास निर्माणका योजना ल्याएका पनि यी सबै योजना गिट्टी बालुवा अभावका कारण हाल ठप्प भएको स्थानीयको भनाइ छ। केही समयअघि जिल्लामा बसेको सर्वदलीय बैठकले क्रसर चलाउन दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको अवस्था छैन। तर जिल्ला बन कार्यालयले सामुदायिक वन क्षेत्रमा क्रसर चलाउन नदिने पक्षमा रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.