|

उदयपुर : गाउँमा उत्पादन हुने कोदो, फापर, जुनेलो भटमास लगाय शहरमा कोसेली बन्दै गएको छ।गाउँमातयारी बनाइएका विभिन्न प्रकारका खाजाहरु पुग्न थालेपछि गाउँमा उत्पादन हुने कोदो, भटमास, फापर शहरमा कोसेली बन्न थालेको हो।

कटारी नगरपालिका लेखानीका भीतबहादुर मगर पाखो बारीमा कोदो, फापर र जुनेलो खेती गर्छन्। ‘गाउँमा पहिले पहिले यही कोदो, फापर, जुनेलो भटमासनै खाजाको रुपमा प्रयोग हुने गर्दथ्यो’ उनले भने, ‘अहिले गाउँमा चाउचाउ, विस्कुट, दालमोटा भुजिया लगायतका खाजा पाइन्छ। कोदो फापर शहरमा मात्र खान्छन्।’
सहरतिर कोसेली कोदो र फापरको पिठोसँगै जुनेलो बनेको छ।

गाउँघरमा उत्पादन हुने कन्दमुल लगायत कोदो, फापर, जुनेलोनै प्रमुख खाद्यन्न मानिन्थ्यो। गाउँ गाउँमासडक पुगेपछि ठिक उल्टो भएको छ। उदयपुरगढी गाउँपालिका २ का स्थानीय लोकबहादुर मगरले उत्पादन गरेको कोदो र फापर, मकै र फापर वर्षभरि खान पुग्छ। तर उनको भन्सामा कोदो र फापरको रोटी नपाकेको चार वर्ष भइसकेको छ।

‘अहिले कै जस्तो फल्यो भने फापरबाटै गुजरा गर्न सकिन्छ,’ उनले भने, ‘खाजाको रुपमा अहिले घरका मान्छेहरू पनि खाँदैनन्। शहरबाटै आएको तयारी खाजा खान मन पराउँछन्।’ जिल्लाको उत्तरी ग्रामीण क्षेत्रका सयौ किसानले पछिल्लो समय कोदो, फापरसँगै जुनेलो खेती गर्न सुरु बढाउँदै पनि लगेका छन्। किसानले कोदो, फापर र जुनेलो खान छोडेको वर्षाैं भयो। तर शहरमा कोदो, फापर र जुनेलो माग बढेपछि त्यही बेचेर तयारी खानेकुरा किनेर खान थालेका छन्। ‘किसानले आफूले खानुभन्दा सहरमा बिक्री गरी आम्दानी लिने गरेका छन्। 

पहिले मकै, कोदो र फापरको ढिलो खाएरै गुजारा चलाउँथ्ये। अहिले खानुभन्दा बिक्रीबाट धेरै आम्दानी हुने गरेकाले खान छोडेका छन्। उदयपुरगढीकै गाउँपालिककाको थाक्लेका नन्दलाल पोखरेलको परिवारमा खाजा नै बदलिएको बताए। ‘३/४ वर्षअघिसम्म खाजाको रूपमा मकैभटमास, कोदोरमकै र फापरको रोटी हुन्थ्यो’ उनले भने, ‘अहिले चाउचाउ, चाउमिनसँगै फ्रुटी, कोकोकला, ड्यु र बिस्कुट हुन्छ।’

बालबालिकालाई अलिहे चाउमिन र बिस्कुटसँगै चिसो चाहिन्छ। गाउँघरमा फलेको केदो, फापर, जुनेलो लगायतका खाद्यान्न सहरमा माग भएकोले घर घरमै आएर व्यापारीले लाने गरेका छन्। पछिल्लो समय दुर्गम ग्रामीण क्षेत्रका बालबालिका, युवायुवती र बृद्धबृद्धाको खाजा चाउचाउ र बिस्कुट नै खान्छन्। मकै, कोदो र फापर नपाएर उनीहरूले चाउचाउ र बिस्कुलाई खाजाको रूपमा लिन थालेका हुन्।

सहजै रूपमा गाउँघरमा चाउचाउ र बिस्कुट जस्ता तयारी खाद्य पर्दाथको आपूर्ति हुन थालेपछि अहिले ग्रामीण क्षेत्रमा तयारी खाजाको बिक्री बढेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्का बताउँछन। ‘सहरमा अहिले बिहान वेलुकाको खाना नै कोदोको ढिडो खाइन्छन्’ अध्यक्ष खड्काले भने, ‘दिउँसो खाजा उपलव्ध भएसम्म मकै भटमास र फापरको रोटी नै हो।’ उनले भने, ‘विभिन्न रोगका करण कोदो, मकै र फापर लगायका खाद्यान्न खाँदा उत्तम हुने चिकित्सको सल्लाहको कारण पनि सहरतिर माग बढेको छ।’

उच्च रक्तचाप, मधुमेह र थाइराइड जस्ता रोगका कारण सहरीया जीवन जिउने पीडित छन। मकै, कोदो र फापरमा भर पर्नु स्वास्थ्यको लागि राम्रो हो। सहरमा तयारी खाजा खानु भन्दा गाउँघरबाट ल्याएको मकै, कोदो र फापर राम्रो भएकाले नै प्रयोग गर्ने क्रम बढेको छ। जसको कारण सहरीयाले कोसेलीको रूपमा कोदो, फापर र जुनेलो रुचाउन थालेका छन। ग्रामिण क्षेत्रमा सडक सञ्चालन आएपछि अहिले ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको ढुवानी सहज भएको छ।

ग्रामीण सडक सञ्चालन भएपछि चाउचाउ, बिस्कुट जस्ता तायारी खाजा सस्तो भएकाले गाउँ गाउँमा यी वस्तुको प्रयोग बढेको हो। ग्रामीण सडक नहुँदा गाउँघरमा सवारी साधन चलेका थिएन। दैनिक उपभोग्य वस्तुको ढुवानी पनि महँगो थियो। ढुवानी महँगो हुदा उपभोग्य वस्तुको मूल्य पनि बढी नै थियो। तर अहिले जताततै सडक बनेपछि चाउचाउ, बिस्कुट, दालमोट भुजिया, लगायतका खाजामा प्रयोग गर्न सकिने वस्तुको धरान, विराटनगर, राजविराज, लाहान, जनकपुर र गाइघाट लगायतका सहरबाट सोझे ग्रामीण क्षेत्रमा सप्लाइ हुने गरेको उद्योगी व्यापारी बताउँछन्।

अहिले जिल्लाको दुर्गम गाउँ ताम्लिछा, बारा, बाँसबोटे, बलम्ता लगायत गाविसका गाउँमा गाइघाट बजार भन्दा थोरै (न्यून) बढी मूल्यमा दैनिक उपाभोग्य वस्तु पाइन्छ। सडक सञ्जालले दैनिक आवश्यक पर्ने सामग्री समेत सजिलै ढुवानी गर्दै आएको छ। जसको कारण सर्वसाधारणको जीवन शैली समेत परिर्वतन हुँदै गएको छ, गाँउले जीवन सहरीय हुँदै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.