|

२०४७ साल जेठ १५ गते। एकै दिन एकै नामले खुलेका थिए दुई राप्रपा। राप्रपा थापा र राप्रपा चन्द नामाकरण गरियो। निर्वाचन आयोगमा एकै दिन दुइटा खुल्नु नै अशुभ मान्छन् राप्रपाजनहरु। त्यसैले पछिल्लो २६ बर्षमा धेरै समय दुई वा सोभन्दा बढी राप्रपा भए। एउटा पार्टी हुँदा पनि एउटै मुटु हुन सकेन। धेरै ढुकढुकी भए।

अहिले फेरि राप्रपा एक भएका छन्। स्थापना एकै दिन, एकै नाम तर दुई पार्टी। अहिले एउटै पार्टी तर दुई अध्यक्ष। एउटा राष्ट्रिय अध्यक्ष र अर्को कार्यकारी अध्यक्ष। एकता गर्नका लागि प्रभावकारी दुई अध्यक्षको हतियार हेरौं अब कति शुभ हुन्छ!

भारत फ्याक्टर

अहिलेको राप्रपाका दुई अध्यक्षको आनीबानी र उठबसमा आकाश जमिन फरक छ। राष्ट्रिय अध्यक्ष हुँदै गरेका पशुपतिशम्शेर राणाको सम्बन्ध भारतका उच्च राजनीतिक घरानासँग छ। उनका फुपाजु करन सिंह कंग्रेस आईको शीर्ष नेता हुन्। ग्वालियरस्थित राणाको ससुसारी सिन्धिया परिवार पूरै राजनीतिमा छ।

सदैव राष्ट्रियता र राष्ट्रवादको नाराले कार्यकर्तामा उभार ल्याउने थापा र भारतप्रति 'लचिलो' दृष्टिकोण राख्ने राणाबीचको हातेमालो राष्ट्रिय राजनीतिमा जति अर्थपूर्ण छ भारतसँगको सम्बन्धको दृष्टिकोणले त्यति नै चुनौतीको विषय बन्न सक्छ।

कार्यकारी अध्यक्ष कमल थापाले भने भारतीय राजनीतिमा पछिल्लो समयमा सम्बन्ध स्थापित बनाउँदै लगेका छन्। आर्ट अफ लिभिङका गुरु रविशंकर र केही हिन्दुवादीहरुमार्फत उनले भारतमा राजनीतिक सम्बन्ध सुदृढ बनाउँदै लगेका हुन्। तर पनि थापा र राणाबीच भारत मामिलामा धेरै दूरी छ। यतिसम्म कि केही महिना पहिले भाँडिएको एकतामा भारत नै हावी भयो भनेर आशंका गर्नेमा उनै थापा नै थिए।

त्यसैले सदैव राष्ट्रियता र राष्ट्रवादको नाराले कार्यकर्तामा उभार ल्याउने थापा र भारतप्रति 'लचिलो' दृष्टिकोण राख्ने राणाबीचको हातेमालो राष्ट्रिय राजनीतिमा जति अर्थपूर्ण छ भारतसँगको सम्बन्धको दृष्टिकोणले त्यति नै चुनौतीको विषय बन्न सक्छ।

थापा र राणाको सम्बन्ध र स्वभाव

थापा र राणा दुवै हिन्दु राष्ट्रको पक्षमा छन्। यसको विपक्षमा अपवादबाहेक दुवै राप्रपामा स्वर सुनिदैँन। व्यक्तिगत रुपमा पनि दुवै नेता शारीरिक तन्दुरुस्तीमा ध्यान दिन्छन्। थापा टेनिस, लन टेनिस खेल्छन् भने राणा घरमै व्यायाम गर्छन्। यस्ता केही समानता भए पनि घरेलु राजनीतिमा उनीहरुलाई हेर्ने र उनीहरुले हेर्ने दृष्टिकोणबीच विकराल अन्तर छ।

२०४७ सालयता पशुपति शम्शेर राणाको अधिकतम सम्बन्ध गैरकम्युनिस्टहरुसँग छ। त्रिशंकु संसदमा उनले कम्युनिस्टसँगको साझेदारी रुचाएनन्। अपवादमा सुशील कोइरालासँग उनको सम्बन्ध यति बिग्रियो कि प्रधानमन्त्रीमा सुशीललाई भोट दिन दिइएको 'दवाव' वा आग्रह उनले लत्याइदिए। अहिले प्रधामन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरे। तर पनि उनको गठजोड कांग्रेससँग बढी छ। राप्रपा नेतृ प्रतिभा राणाको छोरी आरजुसँग शेरबहादुर देउवाको विवाहदेखि जोडिएको पारिवारिक साइनो राजनीतिक रुपमा पनि दर्बिलो बन्दै आएको छ।

तर कमल थापा भने नेपालमा कांग्रेस भन्दा कम्युनिस्टहरुलाई राष्ट्रवादी शक्तिका रुपमा बुझ्दछन्। केपी शर्मा ओली सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री बनेपछिको सहकार्यले उनी एमालेसँग नजिकिएका थिए। एमाले र ओली उनका लागि मित्रशक्ति जस्तै भएका छन्। राणा-देउवा कनेक्सन र थापा-ओलीको मिल्दो स्पिरिट भावी राजनीतिक मुद्दामा एकमत निर्णय गर्न राप्रपालाई फलामको च्युरा बन्न सक्नेछ।

राष्ट्रिय परिवेश र आवश्यकता

नेपालका राजनीतिक दल विभाजन वा एकतामा स्वदेश तथा बाह्य शक्तिहरुको हात रहँदैआएको यथार्थ छिपेको छैन। तीन महिनाअघि दुई राप्रपा मिलुन् भन्ने चाहना देशभित्र र बाहिरका शक्तिहरुबीच थिएन। तर तीन महिनामा बागमतीमा पानी फेरिइसकेको छ।

विगतमा थापालाई मन पराउने दरबारिया अतिवादी (जो अहिले पनि राप्रपाभित्र केही चलखेल गर्न सामर्थ्य राख्छ) लाई अहिले उनी मन परेको छैन। बाह्य पक्ष र त्यो दरबारियाको पछिल्लो समयमा एउटै मिसन थियो राप्रपा नेपाल फुटाउने। राप्रपा नेपालका १० जना सांसद पुर्‍याएर नयाँ पार्टी खोल्ने र राप्रपाको लोकेन्द्रबहादुर समूहलाई ल्याएर उनैलाई अध्यक्ष बनाउने। अन्तत थापा र राणा दुवैले यो बुझेका थिए। एकताका लागि वातावरण बन्नुमा यो पनि महत्वपूर्ण हतियार सावित हुन पुग्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन महिनाअघि राप्रपा नेपाललाई सत्तासीन देख्न कम चाहन्थे। केपी ओली सरकारका परराष्ट्रमन्त्री र मधेसीसँग वार्ता गर्दाका अगुवा कमल थापालाई मधेस केन्द्रित नेताहरुले पनि रुचाएका थिएनन्। उनै नेता र उस्तैउस्तै नीति तर स्थितिमा परिवर्तन।

यतिबेला प्रधानमन्त्री प्रचण्डले सिंगो राप्रपा र सवल राप्रपा आवश्यक देखें। कारण हो एमालेको 'ल्याङल्याङ'। संविधान संशोधनलगायतमा एमालेले धेरै अड्डी कस्दै गएपछि राप्रपा एक होस् भन्ने चाहना प्रधानमन्त्रीमा आयो। बालुवाटारमा भेटघाटहरु पनि भए। संसदको दुई तिहाइ ३९८ हो। एकीकृत राप्रपा सत्तासीन भएपछि संसदमा एमालेबाहेक पनि ४१४ पुग्छ। घरेलु राजनीतिमा यो जति महत्वपूर्ण छ त्योभन्दा बढी एमालेविरुद्ध 'शक थेरापी' हुन सक्छ।

पुन: फुट कि एकता?

भारतको एउटा समूह जो कहिल्यै कमल थापालाई बलियो बनेको देख्न चाहँदैन। विगतमा थापालाई मन पराउने दरबारिया अतिवादी (जो अहिले पनि राप्रपाभित्र केही चलखेल गर्न सामर्थ्य राख्छ) लाई अहिले उनी मन परेको छैन। बाह्य पक्ष र त्यो दरबारियाको पछिल्लो समयमा एउटै मिसन थियो राप्रपा नेपाल फुटाउने।

राप्रपा नेपालका १० जना सांसद पुर्‍याएर नयाँ पार्टी खोल्ने र राप्रपाको लोकेन्द्रबहादुर चन्द समूहलाई ल्याएर उनैलाई अध्यक्ष बनाउने। राप्रपामा आफ्नो छोरा जयन्त सांसद रहिरहेको बेला आफू अर्को दल बनाएर अध्यक्ष बन्न चन्दले स्वीकार गरेनन्। अन्तत थापा र राणा दुवैले यो यथार्थ पनि बुझे। एकताका लागि वातावरण बन्नुमा यो पनि महत्वपूर्ण हतियार सावित हुन पुग्यो।

अन्त्यमा

एकतापछि विधिवत रुपमा संसदमा कमल थापाको पोजिसन फेरिएको छ। संसदमा उनी जहाँ बसे पनि तर गणना सत्ता पक्षमै हुन्छ। सत्ता पक्षको बढेको आयतनमा प्रधानमन्त्रीको 'शक थेरापी'ले काम गर्ला कि नगर्ला, त्यो हेर्न बाँकी नै छ। तर नेपाली राजनीतिमा राजासहितको एजेन्डा भने क्रमश: अहिलेको संविधानभित्रै लुटपुटिएको छ। पार्टी एकताको संयुक्त विज्ञप्तिले भन्छ कि 'राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र सम्बृद्ध हिन्दू राष्ट्र निर्माण गर्नु एकीकृत पार्टीको मूल लक्ष्य हुनेछ।' तर पनि राप्रपाका लागि राजासहितको प्रजातन्त्र कि गणतन्त्र भन्ने एजेन्डा वहस र विवादको विषय रहिरहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो एकता नेताको, नेताका लागि र नेताद्वारा गरिएकोले दिशाहीन छ। बामपन्थी फुट्नु र पञ्च जुटनु को कुनै अर्थ र औचित्य छैन अर्जुन सर। यो मेरो सिम्पल सोचाइ हो।