|

धनगढी : सुदूरपश्चिम महोत्सव आउदो माघ २१ गतेदेखि सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्वको मिति घोषणा गरेको हो। हरेक वर्ष मंसिर २१ गतेदेखि पुस २ गतेसम्म सञ्चालन गर्दै आएको महोत्सव यो वर्ष निर्वाचनको ढिलाईले दुई महिनापछि लाग्ने भएको हो।

महोत्सवको तयारी सुरु भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए। पत्रकार सम्मेलनमा कुँवरले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिसँग जोडिएका कारण महोत्सव महत्वपूर्ण रहने बताएका थिए। 

२०६३ सालबाट कैलाली उद्योग वार्णिज्य संघले महोत्सव सञ्चालन गर्दै आएको छ। स्थानीय उत्पादनलाई पहिलो प्राथामिकता दिइने उनले बताए। संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा हुने महोत्सवका लागि ८० लाख रुपैयाँ खर्च हुने र १५ करोड रुपैयाँ कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा व्यापारिक, कृषि, होटल रेष्टुरेन्टसहित २०० स्टल राखिने जानकारी दिइएको छ।

१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँचलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.