पहिले लेखियो नेवारीमा, त्यसपछि नेपालीमा अनुवाद

|

श्रीस्वस्थानी व्रतकथा वाचन गरिसकेपछि प्रत्येक अध्यायको अन्त्यमा इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहत्म्ये श्रीस्वस्थानी व्रतकथायां... भन्ने संस्कृत वचन पढिन्छ। 

यो वचनअनुसार स्वस्थानी व्रतकथा स्कन्दपुराणबाट अनुवादित गरिएको वा मूलग्रन्थ स्कन्द पुराण भएको हो। 

पुराणविद् प्रियंवदा काफ्लेका अनुसार स्कन्द पुराणमा मात्र होइन अन्य कुनै पनि पुराणमा सम्पूर्ण स्वस्थानी व्रतकथाको पूरा कथा पाइँदैन। ३१ अध्यायमा विभाजित स्वस्थानीका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि सबै कथा यसबाट लिइएको होइन। 

पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक स्वस्थानी व्रत माहात्म्य बताइएको छ, जसमा स्वस्थानी देवीको स्वरूप व्रतविधि लगायत शिवशर्मा गोमा, नवराज आदि स्वस्थानी व्रतकथामा आउने प्रसंगहरूको सामान्य कथा बताइएको छ। 

पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक स्वस्थानी व्रत माहात्म्य बताइएको छ, जसमा स्वस्थानी देवीको स्वरूप व्रतविधि लगायत शिवशर्मा गोमा, नवराज आदि स्वस्थानी व्रतकथामा आउने प्रसंगहरूको सामान्य कथा बताइएको छ। 

स्वस्थानी शब्दको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा स्थिर रहने शक्तिस्वरूपा भगवती भन्ने बुझिन्छ। अष्टदलमा रहने चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी अष्टमातृकाका माझमा त्रिशूल, तरवार, कमल र चक्र लिएर विराजमान भएकी देवीको स्वरूप बताइएको छ। विभिन्न पुस्तकमा विविधता हुने भए पनि सुरुका केही अध्याय भूगोल, सृष्टि आदिका वर्णन त्यसपछि महादेव सतीदेवीका कथा, महादेव पार्वतीका कथा शिवभट्ट गोमा नवराज आदिका कथा हुँदै स्वस्थानीको माहत्म्य भएको पाइन्छ। 

श्रीमद्भागवतका केही कथा पनि स्वस्थानीमा आउँछ। भूगोलको वर्णन ब्रह्माले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेका आदि प्रसंग श्रीमद्भागवतबाट झिकिएको हो। यसैगरी विष्णुले मधु कैटभ दानवलाई मारेको कथा वाराह पुराणबाट लिइएको हो। 

'यसरी विभिन्न पुराणका कथाहरूको संग्रह गरी स्वस्थानी व्रतकथाको निर्माण भएको थाहा हुन्छ', पुराणविद् काफ्ले भन्छिन्, 'पहिले स्वस्थानी व्रतकथा नेवारी भाषामै लेखिएको अनुसन्धाताहरू बताउँछन्। पछि मात्र नेपाली भाषामा रूपान्तरण गरिएको हो।' यस्तै स्वस्थानीको व्रत पनि पहिले पहिले नेवारी समुदायका महिलाहरूले मात्र लिन्थे। पछि आएर व्यापारिक सिलसिलामा उनीहरू देशभरि पुगेपछि उनीहरूसँगै स्वस्थानी व्रत पनि सबै समुदायमा फैलिन थालेको देखिन्छ।

हिजोआज सनातन हिन्दुधर्म मान्ने नेपालीहरूमा स्वस्थानीको व्रत र व्रतकथा लोकप्रिय छ। साँखु लगायतका स्थानमा नेवारी भाषामा भएको स्वस्थानी व्रतको पुस्तक अझै पनि पाइन्छ। नेवारी समुदायमा कसैकसैले हस्तलिखित नेवारी भाषाको स्वस्थानी कथा पढ्ने परम्परालाई निरन्तरता दिँदै आएको बुझिन्छ।

‘वैदिक धर्म मूल रूपमा’ (शिवराज आचार्य कौण्डिन्न्यायन, दो.सं.२०६२ स्वाद्ध्यायशाला) पुस्तकका अनुसार स्वस्थानी कथाको पुरानो रूप ५०० वर्षजति अघि नेवारी भाषामै रहेको पाइन्छ। लगभग त्यति नै वर्षयता नेपाली भाषामा पनि अनुदित भई व्रत बस्ने र कथा सुन्ने परम्पराको विकास भयो।

अहिले पनि साँखुलगायतका स्थानमा नेवारी भाषाको स्वस्थानी व्रतकथा पाइन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.