|

रोल्पा : सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जिप दुर्घटना हुँदा जिपमा सवार दुईको ज्यान गयो। २० यात्रु लिएर सवार लु१ज ३३३२ नम्बरको उक्त जिप सडकबाट करिब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए। केही दिनअघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको आशीर्वाद प्रालिको ग१ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो। सो दुर्घटनामा समेत दुईले ज्यान गुमाए भने २६ घाइते भए। छोटो अवधिमा भएका यी दुईवटा दुर्घटनाले जिल्लावासीलाई चिन्तित बनायो।  सवारी दुर्घटनामा परी पुस महिनामा मात्रै सातले ज्यान गुमाए भने २६ घाइते भए। 

रोल्पामा पछिल्ला दिनमा सवारी दुर्घटनामा परी घाइते हुने तथा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १२ ले ज्यान गुमाइसकेका छन्। यो अवधिमा एक दर्जन बढी गम्भीर घाइते भए भने चार दर्जन बढी सामान्य घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको संख्या बढी रहेको छ। आव ०७३/०७४ मा रोल्पामा भएको सवारी दुर्घटनामा परी पाँचले ज्यान गुमाएका थिए। उक्त वर्ष सामान्य र गम्भीर घाइतेको संख्या २७ थियो। 

आव ०७४/०७५ मा सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेको संख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ। सो वर्ष १८ को मृत्यु भयो भने २८ घाइते भए। चालू आवको ६ महिनामा भएको सडक दुर्घटनाबाट प्रभावित हुनेको संख्यामा आएको वृद्धिले जिल्लाको यातायात व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ। 

दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अम्मर थापाले बताए। समितिको अनुमतिबिना नै यात्रुले जबरजस्ती सवारी सञ्चालन गर्न दबाब दिने गरेका कारण पनि दुर्घटना बढेको कार्यालय प्रमुख थापाको भनाइ छ। 
सडक मापदण्डविपरीत हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरले गाडी चलाउँदा दुर्घटना बढिरहेको जिल्लावासीको गुनासो रहेको छ। ग्रामीण सडक रहेका स्थानमा ट्राफिक प्रहरीको पहुँच नहुँदासमेत दुर्घटना बढेको बताइन्छ। 

रोल्पामा बनेका सडकमध्ये करिब ४८ किलोमिटर मात्र पक्की छ। पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महिना सञ्चालन गर्न सकिँदैन। जिल्लामा रहेका राष्ट्रिय र रणनीतिक सडक मात्र बाह्रै महिना चल्ने गर्दछन्। गाउँ-गाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना बढिरहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.