|

काठमाडौं : महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले मंसिर २४ गते पाटे बाघको एक थान छालासहित दुई जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा दोलखा झ्याकु गौरीशंकर गाउँपालिका- ४ घर भई काठमाडौं, जोरपाटी बस्ने ३४ वर्षीय विक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका- ५ घर भई जोरपाटी बस्ने २२ वर्षीय तेज अधिकारी थिए।

उनीहरूलाई गोंगबु प्रहरीले विशेष सूचनाको आधारमा नयाँ बसपार्कबाट पक्राउ गरेको थियो। त्यस्तै, प्रहरीले पाँच थान दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित भदौ १९ गते दुई जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा सोलुखुम्बु जुगु घर भएका ३२ वर्षीय शुक्र राई र जुगुकै २८ वर्षीय अजित बस्नेत थिए। 

यी केही प्रतिनिधि घटना मात्र हुन्। यसरी दिनदिनै दुर्लभ वन्यजन्तुको चोरी सिकारी अभियोगमा देशभरबाट तस्करहरू पक्रिने क्रम जारी छ। प्रहरीको भनाइअनुसार वन्यजन्तुको तस्करी नेपालबाट मात्र होइन, अन्य देशबाट समेत नेपाल ट्रान्जिट हुँदै हुने गरेको छ।

यसको पछिल्लो उदाहरण २०७४ असोज ३१ गते टर्कीको इस्तानबुलबाट आएको एक कन्टेनरमा अफ्रिकी बाँदरहरू, रिङनेट फेजन चरा, सुनौलो रङका र पातलो घाँटी भएका तित्रा, सुगाहरू तथा परेवालाई नेपाल हुँदै भारत लैजान लाग्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले काठमाडौंको बाँसबारीबाट कन्टेनर नै नियन्त्रमा लिनु रहेको सिआइबीको भनाइ छ। 

सिआइबीले सोही घटनामा भारत पटनाका मोहम्मद उस्मान, पाकिस्तानका अन्तर्राष्ट्रिय वन्यजन्तु तस्कर जावेद अस्लाम खान, भन्सार एजेन्ट कुमार तिवारी, भारतको लखनऊका चाँदबाबु मोहम्मद सरिफ, भारत बिहारका मोहम्मद फइमलाई समेत पक्राउ गरेको थियो।

यसरी नेपाल अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करहरूको समेत ट्रान्जिट प्वाइन्ट भएको देखिन्छ। प्रहरीका अनुसार नेपालमा पाइने वन्यजन्तुका आखेटोपहार अधिकांश चीनतिर निर्यात हुने गरेको देखिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक उमा चतुर्वेदीको भनाइ छ।

वन्यजन्तु तस्करी रोक्न सिआइबीको छुट्टै युनिट

सिआइबीका अनुसार वन्यजन्तु चोरी-सिकारी र तस्करी रोक्न छुट्टै युनिट स्थापना गरेको छ। प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमान्डमा रहेको उक्त पिलर चार नाम दिएको युनिटको मुख्य काम वन्यजन्तु हुर्ने रहेको प्रवक्ता चतुर्वेदीको भनाइ छ। 

उक्त पिलरले २०६७ यता आठ वर्षको अवधिमा २७८ अपरेसनमार्फत् ६३३ तस्करलाई पक्राउ गरेको सिआइबीको तथ्यांक छ। पहिलो आर्थिक वर्ष २०६७/०६८ मा सिआइबीको टोलीले ४० जना तस्करलाई पक्राउ गरेको थियो। 

त्यसैगरी आर्थिक वर्ष २०६८/०६९ मा यो संख्या बढेर ५९ पुगेको सिआइबीको तथ्यांकले देखाएको छ। यसरी सिआइबीको निरन्तरको प्रयासले आर्थिक वर्ष २०७५/०७६ सम्मपुग्दा ६३३ जना पक्राउ परेका छन्।

नेपालबाट गैँडाको खाग, बाघको छाला, भालुको पित्त, रेडपाण्डाको छालासहित अन्य वन्यजन्तुको समेत चोरी सिकारी हुने गरेको प्रहरीको भनाइ छ। यसमध्ये पनि सबैभन्दा बढी पाटे बाघ, चितुवाको छाला र गैंडाको खाग तस्करको पहिलो प्राथमिकतामा पर्ने सिआइबीको तथ्यांकले देखाएको छ। 

के छ कानुनी व्यवस्था? 

वन्यजन्तुको चोरी-सिकारी तथा ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र साइटिस महासन्धिअनुसार कारबाही गरिने व्यवस्था रहेको छ।

यसरी गैरकानुनी रूपले वन्यजन्तुको चोरी-सिकारी गर्ने, आखेटोपहार राख्ने, खरिद-बिक्री तथा ओसारपसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.