|

बागलुङ : नगर विकास कोषसँग ऋण सम्झौतापछि बागलुङ नगरपालिकाले एक वर्षभित्रै बसपार्क बनाउने गरी ठेकेदारसँग ठेक्का सम्झौता गरेको छ। १५ वर्षअघि स्थानीयले जग्गा दिएर पनि व्यवस्थापकीय समस्याले बसपार्क निर्माणको काम सुरु हुन सकेको थिएन। गत महिना ठेक्का सम्झौता भएपछि कामले तीब्रता पाएको हो।

नगर विकास कोषको ऋण सहयोगमा निर्माण हुने बसपार्कका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीले काम थालेको हो। एक महिनाअघि सम्झौता गरेको कम्पनीले एक वर्षभित्रै बसपार्क निर्माण गर्न काम थालेको प्रबन्ध निर्देशक राजु पौडेलले बताए। सात करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा एक वर्षभित्र काम सक्ने गरी सम्झौता गरेर काम सुरु भएको हो। कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङसमेत बनाउनेछ। 

बानपा- ४ उपल्लाचौरका ५१ जना जग्गाधनीले नि:शुल्क ५९ रोपनी जमिन उपलब्ध गराएपछि बसपार्क निर्माणको काम थालिएको हो। बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्र्याक १७ रोपनीमा बन्ने निर्माण समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए। बाँकी जमिनमा जग्गादाताका लागि कम्तीमा साढे दुई आनादेखि पाँच आनासम्मका १२७ वटा घडेरी बनाइनेछ।

बसपार्कका लागि नि:शुल्क जग्गा दिएकालाई घडेरी उपलब्ध गराउन १५ वर्षअघि नगरपालिकाले सम्झौता गरेको थियो। २०५९ सालमा सम्झौता भएपछि स्थानीयले बसपार्कका लागि आवश्यक पर्ने १७ रोपनी जग्गा नि:शुल्क दिएका थिए। तत्कालीन समयको तुलनामा यहाँको मूल्य धेरै अकासिएको छ। ‘हाल यो स्थानको जग्गाको मूल्य करोडौँ छ’, बसपार्क उपभोक्ता समितिका सदस्य गुणनिधि शर्माले भने, ‘बसपार्क बनाएमा जिल्लाकै शान बढ्ने भएकाले दैनिक आएर खटिएका छौँ।’ उपभोक्ताले पनि समयमा पार्क निर्माणका लागि पहल गरिरहेका छन्। नगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट ४० लाख रुपैयाँ खर्चिएर जमिन सम्याएको थियो। अझै केही भाग सम्याउन बाँकी छ।

नगर विकास कोषले नाै करोड चार लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम सुरु भएको हो। उक्त रकमका लागि नगर विकास कोषका कार्यकारी निर्देशक मनीराम सिंह र नगर प्रमुख जनकराज पौडेलले ऋण सम्झौता गरेका थिए। बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख रुपैयाँ खर्च हुनेछ। बसपार्क निर्माणकै लागि केएफडब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ पनि ऋण सहयोग गर्नेछ। यसरी नगरपालिकाको ऋण भार १० करोड चार लाख ८८ हजार रुपैयाँ पुग्नेछ। बाँकी ४० लाख रुपैयाँ स्थानीय बासिन्दाबाट संकलन हुनेछ। बसपार्कबाहेकका अन्य संरचनामा समेत लाखौँ रुपैयाँ खर्च हुनेछ। 

हाल संचालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बसहरू राख्न पुगेको छैन। उक्त बसपार्क निर्माण भएमा लामो तथा छोटो दूरीका लागि छुट्टाछुट्टै व्यवस्था गरिने योजना छ। मध्यपहाडी लोकमार्ग बागलुङकै बाटो गएपछि सवारीको चाप बढ्न थालेको छ। बागलुङदेखि छिमेकी पर्वत, म्याग्दी र मुस्ताङ तथा पोखरा चल्ने बसका लागि चिप्लेटी र लामो दूरीलाई यो बसपार्क संचालन गर्ने योजनासमेत छ। हाल काठमाडाैं, भैरहवा, चितवन, नेपालगंज, काँकरभिट्टा, वीरगंजलगायत स्थानमा लामो दूरीका सवारी चल्दै आएका छन्। 

‘यो पार्कमा बढीमा ७० वटा बस पार्क गर्न सकिन्छ। त्यसैले दीर्घकालसम्मका लागि अझै साँघुरो हुन्छ’, इन्जिनियर मनोज शर्माले भने, ‘लामो दूरी र छोटो दूरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुनेछ।’ धान र तरकारी खेती गर्ने जग्गा १५ वर्षअघि दिएका किसानले अब केही व्यवसाय गर्न पाउने बताउँदै उपभोक्ता समितिका सदस्य गुणनिधि शर्माले भने, ‘नि:शुल्क जग्गा दिएकाले जीविकोपार्जन गर्न सक्ने बनाउन लागेका हौँ।’ यहाँ दमकल, एम्बुलेन्स जस्ता साधन निर्वाध रूपमा आवतजावत गर्न सक्नेसमेत बनाउने व्यवस्था गरिएको उनको भनाइ छ।

बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्र्याक १७ रोपनीमा बन्नेछ। बाँकी जमिनमा जग्गादाताका लागि कम्तीमा साँढे दुई आनादेखि पाँच आनासम्मका १२७ वटा घडेरी बनाइनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.