|

दैलेख : जिल्ला सदरमुकाम दैलेखस्थित नारायण नगरपालिका १ गणेश चोकस्थित नमुना बादी बस्ती। यति बेला अन्य विद्यालयहरू धमाधम चलिरहेको छ। तर सोही बादी समुदायमा संचालित प्रारम्भिक बाल विकास केन्द्र बन्द छ। अभिभावकले नै छोराछोरीलाई विद्यालय नपठाएपछि बालविकास केन्द्र बन्द हुन पुग्यो।

उक्त समुदायका बाल विकासभन्दा माथिल्लो कक्षा पढ्ने बालबालिकाहरू हप्ता भरी विद्यालय जाँदैनन्। अभिभावक ज्याला मजदुरी गर्ने भएका कारण पनि बालबालिकाहरू अभिभावकसँगै काम गर्न जाने गरेका छन्। ठूलो उमेरका बालबालिकाहरू मुस्किलले नजिकको विद्यालयमा जाने गरेको भए पनि कतिपय बालबालिका विद्यालयमा नाम लेखाए पनि पढ्न जाने गरेको पाइँदैन। उनीहरू सदरमुकाममा आउने मालबाहक सवारी साधानमा समान ओसार पसारमा अभिभावसँगै जाने गरेका छन्।  

बस्तीमा करिव ७० जना बालबालिकाहरू छन्। नमूना बस्तीमा अहिले बादी मात्रै नभई अन्य जातिको समेत बसोबास बढ्दो छ। २०७० सालमा बस्तीका बालबालिकाको पठन पाठनका लागि भनेर २ कोठे बाल विकास भवन निर्माण गरिएको भए पनि अहिले उक्त भवन प्रयोगविहीन देखिन्छ। उक्त भवनको एउटा कोठामा सोही बस्तीको एक परिवार बस्दै आएको छ भने अर्को भवन खाली छ। बाल विकास केन्द्रका लागि निर्माण गरिएको भवन केन्द्र नै बन्द भए पनि जीर्ण बन्दै गएको छ। 

पढाइमा जागरुकता ल्याउन अभियान

बस्तीका बालबालिकालाई पढाइमा जागरुकता ल्याउनुका साथै उनीहरूको व्यवहार परिवर्तन गर्ने उद्देश्यसहित हरेक शनिबार बिहान ती बालबालिकालाई जम्मा गरेर युवा अभियान्ता सजना सुनारले अतिरित्त क्रियाकलाप संचालन गरिरहेकी छन्। गत कात्तिकदेखि बस्तीमा सोसेक नमूना बाल चौतारी सुरु भएको छ। सोही बाल चौतारीमार्फत पढाईमा जागरुकता ल्याउने अभियान सुनारले थालेकी छन्।

बिगत दश हप्तादेखि सुरु गरेको अभियानले बादी बालबालिकामा मात्र परिवर्तन ल्याएको छैन बालबालिका विद्यालय नपठाउने अभिभावकलाई समेत यो अभियानले सकारात्मक प्रभाव पारेको छ। यहाँको एक सोसेक नामक गैरसरकारी संस्थाको सहयोगमा अभियान्ता सुनारले बाल चौतारीलाई सहजिकरण गरिरहेकी छन्। बाल चौतारीले बालबालिकामा उत्साह ल्याएको अभियान्ता सुनारले बताइन्। समुदायका बालबालिकालाई लक्षित गरि बाल विकास केन्द्र संचालन भए पनि समुदायका अभिभावकले आफ्ना छोराछोरीलाई पठाउन छोडेपछि बन्द भएको बाल शिक्षा पुन: संचालन गर्ने तयारी गरिएको छ।

बालबालिकाका लागि दिवा खाजाको व्यवस्थापन गर्न र भवनको मर्मत सम्हारमा नारायण नगरपालिकाले सहयोग गर्ने नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले बताए। खड्काले भने, 'तपाइँहरूका छोराछोरीलाई विद्यालय पठाउनुहोस् हामी दिवा खाजा शिक्षक र पठनपाठनको सवै व्यवस्था मिलाउँछौं।'

तत्कालीन समयमा बाल शिक्षा पढाउने शिक्षिका समेत विद्यालयमा विद्यार्थी नभएपछि सोतको विद्यालयमा सुरुवा भएकी छन्।

समुदायका अभिभावक नारायण नगरपालिका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि खत्री जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसी, सामाजिक सेवा केन्द्र सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापा लगायतको उपस्थितिमा गरिएको छलफल पछि विद्यालय संचालन गर्ने सहमति भएको छ। विद्यालय संचालन भए बादी समुदायका विद्यार्थीले सहजै पढ्न पाउने अभियान्ता सुनारको भनाई छ।

बादी समुदायमा पूर्जाको चिन्ता कायमै

तत्कालीन द्बन्द्बको समयमा विस्थापित भएर आएका १० घर परिवारका लागि मात्रै भनेर गणेशचौक नजिकको वन क्षेत्रमा बसोवास गर्न दिइएको नमूना बस्तीमा अहिले ६५ घर परिवार बसोवास गरी रहेका छन्। समुदायकी पवित्रा वादीले गुनासो गर्दै भनिन्, ‘हामीलाई अहिलेसम्म लालपूर्जा पाएका छैनौं। चुनाव ताका आएका नेताले पूर्जा दिन्छौं भनेर हामीलाई भोट बैंक बनाउनुभएको छ। चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्' पवित्राले भनिन्।

६५ वटै घरका लागि लालपूर्जाको व्यवस्थापन गर्न नसकिने नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का बताउछँन्। जुन समुदायको दैलेखका स्थानीय तहहरूमा पैत्रीक सम्पति छैन, त्यस्ता समुदायका मानिसका लागि लालपूर्जाको व्यवस्थापनका लागि प्रदेश र संघको कानुन नवाझिने गरी आफूहरूले स्थानीय कानुन निर्माण गरेर प्रक्रिया थालनी गर्ने र पूर्जा वितरण गर्ने तयारी भएको खड्काले बताए।

लालपूर्जाका लागी स्थानीयलाई ढुक्क हुन आग्रह गर्दै नगरप्रमुख खड्काले अबको दुई वर्षभित्र आफ्नै कार्यकालमा लालपूर्जा वितरण गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.