|

ओखलढुंगा : नेविसंघ ओखलढुंगाको जिल्ला अधिवेशनमा कुटाकुट भएको छ। अधिवेशनको उद्घाटन सत्रमा कुटाकुट हुँदा नेपाली कांग्रेसका जिल्ला नेता बालकृष्ण दाहाल घाइते भएका छन्। उनलाई अहिले सामुदायिक अस्पताल सोब्रुमा भर्ना गरिएको छ।

पार्टीको भातृ संगठन नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर नेताबीच कुटाकुट भएको हो। सोमबार विहान ११ बजे नेविसंघको १२ औं जिल्ला अधिवेशन उद्घाटन गरिने कार्यक्रमको तय भएको भए पनि दिउँसो अबेरसम्म कार्यक्रम सञ्चालन हुन सकेको थिएन। अबेर गरी सुरु भएको उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता बीचमा कुटाकुट भएको हो।

अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित सबै नेता, कार्यकर्ता र नेविसंघका विद्यार्थी नेताहरू कार्यक्रम स्थलमा पुगेका थिए। शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेताहरूलाई आसन ग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षले सबैलाई समेटेर जान भनिरहेको थियो। विवादकै बीचमा नेविसंघका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम सुरु गर्न निर्देशन दिए।

जिल्ला समन्वय समितिको सभाहलमा अधिवेशनको औपचारिक कार्यक्रम सुरु भएलगतै कार्यक्रम सुरु भएको विरोधमा अधिवेशनमा सहमति नभएसम्म रोक्न माग गर्दै हल बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगायका थिए। केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षको दावी थियो। जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारबाहीका लागि सिफारिस गरिएको भनिएका नेतालाई प्रवेश गर्न दिइएको थिएन।

अधिवेशन सञ्चालन गर्न आएका नेविसंघका केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर अधिवेशन सुरु भएपछि विवादले उग्ररुप लिएको थियो। विवाद चुलिँदै जादा नेताहरूका बीचमा कुटाकुट भएको हो। पौडेल पक्षको विरोधका बाबजुद पनि अधिवेशन सुरुभएपछि विरोधमा उत्रिएका नेता तथा कार्यकर्ताहरू नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए। कार्यक्रम स्थल पुगेर पौडेल पक्षका नेताहरूले जवरजस्त कार्यक्रम रोक्न माग गरेपछि झडपको स्थिति सिर्जना भएको हो। कार्यक्रम स्थलमा झडप भएपश्चात ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौं नेता तथा कार्यकर्ता कुटिएका छन्।

कार्यक्रम रोकेर सहमतीमा अघि बढ्न माग गर्दै कार्यक्रम स्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापति समेत रहेका नेविसंघ अध्यक्ष प्रदिप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गरे। टाउकोमा भएको मुक्का प्रहारबाट दाहालको चस्मा फुटेको छ। त्यस्तै नेतृ गोमा केशीले आफूलाई जिल्ला सभापति प्रदिप सुनुवारले कुटेको भन्दै प्रहरी गुहारिन्। कार्यक्रम स्थलमा पुगेर टेवल उचाल्ने प्रयास गरेकी नेतृ केशीलाई सभापति सुनुवारले हुत्याएका थिए। त्यस विचमा दुवै पक्षका नेता, कार्यकर्ता बीच होहल्ला र हात हालाहाल भएको थियो।

कार्यक्रममा कुटिएका नेता बालकृष्ण दाहाल अस्पताल भर्ना भएका छन्। टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको कांग्रेस नेता लिलाबल्लभ दाहालले बताए। नेविसंघको जिल्ला अधिवेशनमा झडप भएपछि जिल्ला अधिवेशन सम्पन्न गराउन जिल्ला आइपुगेका नेविसंघका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि पवन नेपालीले एक विज्ञप्ति जारी गरी अधिवेशन स्थगित भएको जानकारी गराएका छन्।

माघ ७ गते देखि हुने जिल्ला अधिवेशनका सन्दर्भमा पटक पटक बैठक राखी नेविसंघका जिल्ला अधिवेशनमा आउने प्रतिनिधिको नामावलीलाई माग गर्दा नेविसंघ जिल्ला अध्यक्ष प्रदिप बानियाँले उपलब्ध नगराएको विज्ञप्तिमा उल्लेख छ। अधिवेशनका लागि आउने जिल्ला प्रतिनिधिको बारेमा टुंगाे लगाई जानकारी गराउन आग्रह गर्दा अध्यक्ष बानियाँले लुकाई पार्टीका जिल्ला अध्यक्ष प्रदीप सुनुवारको ठाडो हस्तक्षेपमा नेविसंघको जिल्ला अधिवेशनको उद्घाटन सत्र सुरुवात गरेकोले अर्को निर्णय नहुँदासम्म माघ ७ र ८ गतेको लागि तय भएको अधिवेशन स्थगित गरिएको नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.