|

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका अनशनरत डा. गोविन्द केसीलाई जनरल वार्डबाट गणेशमान सिंह भवनको दोस्रो तलामा रहेको वार्डमा सारिने भएको छ। डा. केसीलाई भोलि जनरल वार्डबाट अनशनस्थलमा सारिने भएको हो। यसअघि अनशन बस्दा प्रयोग गर्ने वार्डमा सारिन लागिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए।

यसअघि सोमबार नै केसीलाई अनशनस्थलमा सार्न लागिएको बताइएको थियो। तर, केसीले भोलि मात्रै जाने भनेकाले एक दिन जनरल वार्डमा नै राखेर उपचार गर्न लागिएको केसीले जानकारी दिए।

डा. केसीले आइसियूमा बस्न नमानेका कारण आइतबार जनरल वार्डको ५०२ नम्बर बेडमा सारिएको थियो। डा. केसीका सहयोगीका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ। यद्यपी उनलाई चिकित्सकहरूले एन्टिवायोटिक दिँदै आएका छन्।

यसैबीच सोलिडारिटी फर डा. केसी अलाइन्सले सोमबार काठमाडौंको बानेश्वरमा मैनबत्ती बालेर सरकारविरूद्ध सांकेतिक विरोध प्रदर्शन गरेको छ।  ‘मैनबत्ती बाल्दै खोजी समाजवादको, खोजी नैतिकताको’ नाराका साथ आज साँझ अलाइन्सले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि सांकेतिक विरोध प्रदर्शन गरेको हो। संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौता विपरीतका व्यवस्थाहरू रहेको भन्दै डा. केसी पुस २५ गतेदेखि अनशनरत छन्।

अनशनको १३ औँ दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल नगरेको डा. केसी समर्थकहरूको आरोप छ। तर सरकारले भने चिकित्सा शिक्षा विधेयकमा डा. केसीका माग राखिएको दाबी गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.