मिल्क होली डे नगर्ने शर्त

|

विराटनगर : प्रदेश सरकार र दुग्ध विकास संस्थानबीच विराटनगरस्थित दुग्ध वितरण आयोजनाको क्षमता विस्तारका लागि सम्झौता भएको छ। आयोजना जीर्ण हुँदा किसानले उत्पादन गरेको दूध खरिद गर्न समस्या भइरहेको बेला क्षमता विस्तारमा प्रदेश सरकारले सहयोग गरेको हो। 

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उद्योगको क्षमता विस्तारका लागि पाँच करोड रुपैंयाँ उपलव्ध गराउने औपचारिक सम्झौता भएको हो। मन्त्रालयका सचिव हस्तबहादुर विष्ट र संस्थानका तर्फबाट विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख निलकण्ठ गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  प्रदेश सरकारले अगाडि सारेको विभिन्न सर्त स्वीकार गर्दै संस्थानले चालु आर्थिक वर्षभित्र क्षमता विस्तारको काम सम्पन्न गर्ने छ त्यसपछि उद्योगको उत्पादन क्षमता दोब्बर हुनेछ। आयोजनाको क्षमता विस्तारका क्रममा उद्योगतर्फ रहेका अधिकांश पुराना मेशिनहरू परिवर्तन गरिनेछ। त्यसकालागि १० करोड ६४ लाख रुपैयाँ खर्च हुनेमा झण्डै ५० प्रतिशत रकम प्रदेश सरकारले उपलव्ध गराएको हो।

आयोजनाअन्तर्गत रहेको पाउडर प्लान्टको यसअघि नै क्षमता विस्तार गरिएको थियो। नेपाल सरकारको सात करोड अनुदान र संस्थानको करिब चार करोड रुपैयाँ लागतमा २०७३ सालमा पाउडर प्लान्टको क्षमता विस्तार गरिएको हो। आयोजनाको सो पाउडर प्लान्टबाट प्रतिघण्टा पाँचहजार दूधको पाउडर बनाउन सकिन्छ। तर पाउडरका लागि आवश्यक स्किम मिल्क तयार पार्ने क्रममा प्रयोग हुने क्रिम सेपरेटर, होमनाइजर, मिल्क पाश्चराइजर आदि उपकरणले भने प्रतिघण्टा दुई हजार लिटरभन्दा बढी दूध सप्लाई गर्न सक्दैन। दैनिक तीन सिफ्ट उद्योग र पाउडर प्लान्ट सञ्चालन गरी सरदर एक लाख लिटर दूधलाई पाउडरमा परिणत गर्नसक्ने क्षमता वृद्धि अब हुनेछ।

प्रदेश सरकारसँग सम्झौता भएसँगै संस्थानले ४ टन क्षमताको डिजल फायर बोइलर मेसिन लगायत उपकरण खरिदको प्रक्रिया अघि बढाएको छ। संस्थानले तत्काल नै ५० मेट्रिक टन क्षमताको डि फ्रिज कोल्ड स्टोरेज, एक सय टन क्षमताको आइस बैंक सिस्टम, प्रतिण्टा १० हजार लिटर क्षमताको मिल्क पाश्चराइजेशन मेशिन र क्रिम सेपरेटर मेसिन खरिद गर्ने आयोजनाका निमित्त प्रमुख गौतमले जानकारी दिए।

प्रदेशमा उत्पादन भएको दूध कुनै पनि सहकारी वा कृषक समूहले बिक्री गर्न ल्याउँदा खरिद गर्नेपर्ने बाध्यकारी सर्त प्रदेश सरकारले राखेको छ। प्रदेश सरकारले विराटनगर दुग्ध वितरण आयोजनाको २५ प्रतिशत दूध खरिद कोटा बृद्धि गरेर ४५ प्रतिशत पुर्‍याउने सर्तमा संस्थानले सहमति जनाएको छ। यो सहमतिपछि प्रदेश १ मा मिल्क होली डेको समस्या नहुने प्रदेश सरकारले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.