|

धनगढी : कैलालीको अत्तरियामा शनिबार भएको युवक हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यायल कैलालीले पत्रकार सम्मेलनको आयोजना गर्दै गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको हत्यामा संलग्न रहेकाहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीले आइतबार राति १ बजे १ जना मुख्य अभियुक्त सहित ४ जनालाई पक्राउ गरेको थियो। ती मध्ये तीन जना हत्यारा लुकाउने र भगाउने हुन्। 
युवक हत्या प्रकरणका मुख्य अभियुक्त कैलालीको गोदावरी नगरपालिका २ का २१ वर्षीय विनोद ऐर रहेको प्रहरीले जनाएको छ। उनलाई भगाउनेमा धनगढी उपमहानगरपालिका ३ बोराडाँडीका २२ वर्षीय डेबिड सिंह ऐर रहेका थिए।

ऐरलाई भजनी नगरपालिका घर भइ हाल धनगढी उपमहानगरपालिका २ बस्ने २१ वर्षीया मन्जु चौधरी (खडका) र धनगढी उपमहानगरपालिका १३ का २१ वर्षीय लोकेश खत्रीले आश्रय दिएका थिए। यी दुबै जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिम्सिनाले अरुणलाई धारिलो हतियारले हानेर हत्या गरेको बताए। 

यसरी गरियो हत्या 

गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्ट साथीहरूसँग शनिबार अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव हेर्न पुगे। महोत्सवमा साथीहरूसँगै रमाइरहेका भट्टको गोदावरी नगरपालिका २ शिव शक्तिटोलका बिनोद ऐरसँग जम्का भेट भयो। लागुपदार्थ सेवनकर्ता ऐर र भट्टबीच सामान्य बिवाद भयो। भट्टसँगै रहेका उनका साथीहरूले बिवादलाई साम्य पारे। दिनभर महोत्सव  अवलोकन गरेर भट्ट बेलुकी छ बजे घर फर्किँदै थिए। दिउसोको सामान्य बिवादलाई लिएर ऐर लगायतका ३/४ जनाको समूहले बीच सडकमै भट्ट र उनका साथीहरूमाथि कुटपिट गर्न थाले।

ऐरको समूहले कुटपिट मात्रै गरेन भट्टमाथि खुकुरी नै प्रहार गरे। घटना विवरण बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले भने, ‘अरुणलाई धारिलो हतियारले हानेर हत्या गरियो।’ ब्यस्त सडकनजिकै इलाका प्रहरी कार्यालय त्यसैमाथि महोत्सवको रौनक तर ऐर सबैलाई चम्का दिदै फरार भए। यता दुवै छातीमा खुकुरीको गहिरो चोट लागेका भट्ट रक्ताम्य अवस्थामा अचेत थिए। अन्य तीनजना पनि घाइते भएका थिए।

घटना लगत्तै सर्वसाधरणको घुइँचो लाग्यो। प्रहरी पनि पुग्यो। घटना स्थलबाट उद्धार गर्दै भट्टसहित उनका साथीहरूलाई अत्तरियाकै पद्यामा अस्पताल पुर्‍याइयो। थप उपचारको लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा भट्टले बाटोमै ज्यान गयो। 

यसरी पक्राउ परे अभियुक्त 

शनिबार भट्टको हत्या भयो। हत्या बिरोधका आइतबार अत्तरिया बजार बन्द गरिएको थियो। बजार बन्द भएपछि केही प्रहरी अत्तरियामा केन्द्रीत भए। केही भने आक्रमणकारीको खोजीमा लागेका थिए। वडा प्रहरी कार्यालय कैलालीका इञ्चार्ज वकिल सिंहको नेतृत्वमा एक टोलीले आक्रमणकारीलाई खोजिरहेको थियो। प्रहरी उपरीक्षक तिम्सिानाले भने, ‘दुईदिन सम्म मुसो बिरालोको खेल जस्तो भयो।’

भट्टको हत्यापछि ऐरलाई से ४ प ५९२८ मोटसाइकलमा राखी बोराडाँडीका २२ वर्षीय डेबिड सिंह ऐर भगाएका थिए। ‘घटनालगत्तै प्रहरी परिचालन भएका कारण उनीहरू टाडा जान पाएन्’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘अत्तरिया आसपासमै रहेर पनि हामीलाई धेरै घुमाए।’ घटनामा संलग्न एकजना पक्राउ परेपछि उसैको बयानका आधारमा अन्य अभियुक्तहरूलाई पक्राउ गरेको उनले जानकारी दिए। भट्टको हत्यामा अन्य पनि संलग्न रहेको प्रहरीले बताएको छ। ‘घटनामा पक्राउ परेकाहरूले हत्या स्वीकार गरिसकेका छन्। तर यति मात्रै संलग्न छैनन्। अन्यको खोजी कार्य भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।

पक्राउ परेका मुख्य अभियुक्त विनोद ऐरलाई मुलुकी फौजदारीसंहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद र उनका सहयोगीहरूलाई उनको तुलनामा आधा सजाय हुने गरी मुद्दा दायर गरेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.