|

जनकपुरधाम : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग कुनै स्पष्ट नीति तथा खाका नरहेकोले देश जटिल परिस्थितिमा पस्दै गएको बताएका छन्। महामन्त्री कोइरालाले दुई तिहाई नेतृत्वको सरकार गठन भएको १० महिना बितिसक्दा समेत सरकारले हालसम्म कुनै ठोस योजना ल्याउन नसकेको दाबी गरेका हुन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी समेत दिए। देशमा ४० वर्ष उमेर समूहका युवाको संख्या ६० प्रतिशत भन्दा बढी रहेकाले अव युवाले नै देश निर्माण गर्न सक्ने र उनीहरूका लागि सरकारले आरक्षणको ब्यवस्था गर्नुपर्ने आवश्यकतामा समेत जोड दिए।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल काठमाडाैंद्वारा धनुषाको ढल्केवरमा निर्माण गरिने शाखा भवनको शिलान्यास तथा अस्थायी आँखा उपचार केन्द्रको उदघाटन गर्न सोमबार जनकपुरधाम आएका महामन्त्री कोइरालाले पार्टीभित्र पनि विभिन्न विभागहरू गठन गरी युवालाई परिचालन गर्ने कांग्रेसको आगामी योजना रहेको समेत सुनाए। उनले पार्टीभित्र छलफल गरेर चाँडै छायाँ सरकार बनाएर चलाउने समेत बताए।

१६ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारले वेवास्ता गरिरहेको भन्दै डा. केसीको सबै मागहरू तत्कालै पूरा गर्नुपर्ने आवश्यकता समेत रहेको उनले बताए। एक फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोइरालाले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेर संघीयता विरोधी चरित्र देखिएको समेत बताए।

महामन्त्री कोइरालाले देश धर्मनिरपेक्ष नभई धर्म स्वतन्त्र हुनुपर्ने नेपाली कांग्रेसको स्पष्ट धारणा समेत रहेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.