|

काठमाडौं : सरकारले केही पहिले नयाँ मर्यादाक्रम निर्धारण गरेको थियो। प्रदेश सरकार र स्थानीय सरकारहरूले मर्याक्रमप्रति असन्तुष्टी जनाएपछि सरकारले नयाँ मर्यादाक्रम निर्धारण गरेको थियो। तर, सरकारले नयाँ मर्यादाक्रम निर्धारण गरेसँगै विभिन्न तहबाट गुनासोहरू आउने क्रम जारी रहेको छ। यसरी मर्यादाक्रममा आपत्ति जनाउने पछिल्लो निकाय बनेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सोमबार बसेको बैठकले नयाँ मर्यादाक्रमप्रति गुनासो गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ। आयोगका प्रवक्ता रामेश्वर दङ्गालले विज्ञप्ति नै जारी गरेर सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रम निर्धारणप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका हुन्।

आयोगका अनुसार संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम संवैधानिक पदाधिकारीभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीको मर्यादाक्रम साविककोभन्दा निकै तल्लो क्रममा रहेको उल्लेख छ।

कार्यसम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम मूल्यमान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने र मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमालाई आधार मान्न आयोगले ध्यानाकर्षण गराएको छ।

संवैधानिक निकायका आयुक्त एवं सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखको लगत्तै पछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन गर्न आयोगले सरकारसमक्ष आग्रह गरेको छ। यसअघि निर्वाचन आयोग र लोकसेवा आयोगले पनि नयाँ मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.