|

जाजरकोट : बहुमूल्य सेतोचिनीलगायतका जडिबुटीहरु जाजरकोटबाट चोरी निकासी गर्ने क्रम बढेको छ। बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिक रुपमा संकलन गरिएको सेतोचिनीलगायतको जडिबुटी दैनिक ठूलो मात्रामा निकासी भएको हुँदै आएको छ।

जिल्ला वन डिभिजन कार्यालयको बेवास्ता र गाउँपालिकाको मिलेमतोमा अवैध निकासी भइरहेको बारेकोट गाउँपालिका–४ का तीर्थराज बोहोराको दाबी छ। बोहोराका अनुसार नलगाड नगरपालिका चिसापानी, छेडागाड नगरपालिकाको थलह, जुम्लाको सीमानबाट जडिबुटी चोरी निकासी भइरहेको छ।

जडिबुटी चोरी निकासीका लागि आफूलाई प्रलोभन देखाएको भन्दै गत शुक्रबार बारेकोट गाउँपालिका–४ स्थित ढोटाचौर सामुदायिक वन समूहका अध्यक्षल वीरबहादुर शाहीले व्यापारीहरुविरुद्ध मुद्दा दायर गरेका छन्। अध्यक्ष शाहीले बबिता जडीवुटी स्टोर्स देपालगाउँका प्रोपराइटर जुम्ला गुठीचौर गाउँपालिका–५ कुम्रीका भीमबहादुर भण्डारी, निर्मल जनरल स्टोर्स एण्ड सप्लायर्सका प्रोपराइटर जुम्ला गुठीचौर गाउँपालिका–१ का निर्मल ऐडी, सुष्मा एण्ड सुशल जडीबुटी स्टोर्सका प्रोपराइटर जुम्ला गुठीचौर गाउँपालिका–५ का सूर्यबहादुर शाही, जुम्ला गुठीचौर गाउँपालिका–१ का जनक थकाली, जुम्ला गुठीचौर गाउँपालिका–२ का गोपाल बोहरा, जुम्ला पातारासी गाउँपालिका–३ का जंगवीर बोहरा, जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्गकोटका टंक गिरी र जुम्ला तातोपानी गाउँपालिका–७ डुग्रीका लालबहादुर शाहीविरुद्ध उजुरी दर्ता गरेका छन्।

दियावाल्ना, लामाडाँडा, गडुल्ने, बार्या, सद्वन, सुपाकुना, निलपहरलगायतका वन क्षेत्रमा सामुदायिक वन समिति र डिभिजन वन कार्यालयको अनुमतिविना गत असोज २१ देखि मंसिर १० सम्म ५० हजार क्विन्टलभन्दा बढी सेतोचिनी (खिराङ्लो) संकलन गरी निकासी गरिएको उल्लेख गरिएको छ। उजुरीमा सेतोचिनी पकाउनलाई दाउरा प्रयोग गर्ने नाममा ढोटाचौर सामुदायिक वन क्षेत्रमा रहेको भोजपत्र, चिमालो, ठिकुरे सल्ला, कैंयसी, डिग्रे धुपी, रइस प्रजातिका गरी पाँच हजारभन्दा बढी रुख र हजारौं निगालोको विरुवा फडानी गरिएको उल्लेख छ। 

ढोटाचौर सामुदायिक वनमा जस्तै बारेकोट गाउँपालिका–३ स्थित संकदह सामुदायिक वन समूहका विभिन्न वन क्षेत्रमा सेतोचिनीको खोजी तथा चोरी निकासी भएको छ। बारेकोट गाउँपालिकाअन्तर्गत पर्ने दांगे, बुराउसे, कराइचुला, कालाडाँडा, रोल्पा, खम्बु, चाखुरे, सेतापानी, कालीमुरी, कोटे, खेताली, काललरीलगायका राष्ट्रिय वन क्षेत्रवाट झण्डै एक लाख ५० हजार क्विन्टलभन्दा बढी सेतोचिनीको खोजी तथा चोरी निकासी भएको स्थानीयको भनाइ छ।

त्यसैगरी कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाँडा, व्याउलीढुङ्गा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिका सिउनको प्यारी, रुप, मुट्केचुला, मंसिरी ध्यारगाउँ, बाँन्नीगाउँलगायतका जंगलमा पाइने बहुमूल्य सेतोचिनीको चोरी निकारी भएको छ।

एकै जातको जडीबुटी ५० हजार किलो निकासी गर्नु परेमा अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने र ५० हजार किलोभन्दा बढी एकै जातको जडीवुटी निकासी गर्नुपरेमा अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने वातावरण संरक्षण ऐन–२०५४ र वातावरण संरक्षण निमावली–२०५४ ले ब्यबस्था गरेको छ।

सेतोचिनी छ किलो बराबर सुकाएपछि एक किलो हुने बताइएको छ। नपकाएको सेतोचिनिी प्रतिकिलो ३० रुपैयाँले खरिद हुने गरेको छ। व्यापारीहरुले हाल जुम्ला र नेपालगञ्जमा प्रतिक्विन्टल ६० हजार रुपैयाँमा बिक्री भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.