|

पर्वत :  कुश्मा नगरपालिका ८ चुवाकी न्याउली दमिनी (न्याउली) ले तीन वर्ष कुवेतमा काम गरिन्। न्याउलीले  पठाएको पैसामा श्रीमान् लालेले मस्ती मात्र गरेनन् विवाहिता श्रीमतीलाई पीडामाथि पीडा थप्दै गए।

लालेकी पहिलो श्रीमती हुन न्याउली, वैदेशिक रोजगारीमा ३ वर्ष काम गरेर उनी फर्किइन्। उनले कमाएको पैसामा लालेले स्वदेशमै बसेर पैसा उडाएनन् मात्रै उनले  श्रीमती थप्दै गए।  न्याउलीले कमाएको पैसाले पहिले पोखरामा १२ लाखको लगानीमा  फेन्सी पसल खोलिएको थियाे। त्यस्तै पर्वतको चुवामा झण्डै ३५ लाख रुपैयाँको घर र केही जग्गा पनि। तर अब उनीसँग न त खानको लागि अन्न छ न त रात काट्नका लागि घर नै।

विवाह प्रसंग

कुश्मा नगरपालिका १२ ठूलीपोखरीको  चोरकाटेकी न्याउली  र चुवाका लालेबीच ३२ वर्षअघि विवाह भएको थियोे। न्याउली अहिले ४५ वर्षकी भइसकेकी छिन्। विवाह पश्चात् उनीहरुको घर व्यवहार राम्रो चलिरहेको थियो। उनीहरूका दुई छोरा छन्।

जति उमेर बढ्दै गयो लालेलाई भने बल्ल यौवनले छोपे जस्तो भएको थियो। श्रीमानलाई आफूसँग के कुरामा चित्त नबुझेको हो? भन्ने कुरा न्याउलीलाई थाहा छैन। तर न्याउलीलाई झुक्याउँदै लालेले १५ वर्षअघि मोदी गाउँपालिकाको गिजानमा श्रीमान्, एक छोरा र एक छोरीको साथमा रहेकी कृष्णकुमारी परियारलाई दोस्राे श्रीमतीको रूपमा घरमा ल्याए। लाले कृष्णकुमारीबाट पनि सन्तुष्ट हुन सकेनन्। गत भदौ ३ गते उनी फेरि तेस्राे श्रीमती लिएर फरार भए। 

तेस्राे नम्बरकी श्रीमती

लालेले तेस्राे विवाह त गरे श्रीमतीकी भाइबुहारीसँग। न्याउलीका कान्छा बुबाको छोराको श्रीमती अर्थात् सालाकी श्रीमती पर्नेलाई नै लालेले उछिट्याए।  न्याउली भन्छिन्, ‘बाहिरको मान्छे लिएर भागेको भए एउटा कुरा। मेरै बुहारी लिएर भाग्नुभयो। भाइको हालत बताउँ भने भक्कानो छुटेर आउँछ।’ न्याउलीका भाई क्षेत्रबहादुर परियारको दुई वटै मृगौला फेल भएका छन्। उनी अहिले पोखराको फेवासिटी अस्पतालमा बसेर नियमित डायलासिस गराईरहेका छन्।

अस्पतालमा रहेका परियारको श्रीमती नै भिनाजुले भगाएपछि उनको पीडा पनि न्याउलीको जस्तै बनेको छ। अहिले घरको रेखदेख गर्न कोही छैन्। क्षेत्रबहादुरले पनि दुई विवाह गरेका थिए। जेठी श्रीमतीसँग मन नमिलेपछि उनले मिनालाई ल्याएका हुन्। श्रीमानले भाइकी श्रीमती भगाएपछि न्याउलीले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी गरेको पर्वत जिल्लाका प्रहरी प्रमुख नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए। उनले भने ‘न्याउलीले उजुरी दिनुभएको छ, हामीले खोजी गरिरहेका छौँ।’

घर लिलाममा

लालेको बदमासीकै कारण न्याउली बस्दै आएको चुवाको घर लिलामीमा परेको छ। श्रीमान सालीतिर लागेकै बेलामा उनले भएभरको सम्पत्ति बेचे भने घरलाई धरौटीमा राखेर ३० लाख रुपैयाँ पैसा निकाले। तर त्यो पैसा किन निकालियो भन्ने पनि न्याउलीलाई थाहा छैन्। न्याउली त सधैँ श्रीमानको भरमा परि रहिन। दोश्रो विवाह गर्दा समेत पनि उ प्रति शंका गरिनन्। जसको फाईदा उठाउँदै लालेले सम्पत्तिदेखि विवाह गर्नसम्म मनोमानी गरे। पछि थाहा पाएपछि न्याउलीका २ छोराहरुले जसोतसो गरेर १५ लाख रुपैयाँ त तिरे। तर बैंकमा अझै पनि १५ लाख रुपैयाँ तिर्न बाँकी नै छ।

त्यही बीचमा लालेको माईली श्रीमती अर्थात कृष्णकुमारीले सम्पत्तिको हक दावी गर्दै जिल्ला अदालत पर्वतमा मुद्धा दायर गरिन। तारिख न्याउलीले बोकिन तर लालेले उनलाई फकाउँदै प्यारी श्रीमतीलाई तारिखमा जान झण्झट नलगाउने भन्दै आफै अदालतमा जाने बताए। न्याउली विश्वासमा परिन् तर लाले अदालतमा गएका रहेनछन्। पछि न्याउलीले आफुले पनि सम्पत्तिको माग गर्दा अदालतले हक दाबी गर्न कोही नआएका कारण केही गर्न नसक्ने बताएको उनले बताईन्। सोही कारण चुवामा कित्ता नं. १००० मा रहेको घरको आधा अंश माइली श्रीमती कृष्णकुमारीले पाएकी छिन भने बाँकी रहेको आधा घर बैंकले लिलामका लागि सूचना निकालेको छ। सोही कारण न्याउलीको हालत न एक छाक खान पाउने छ न त एक रात सुत्न पाउने नै। 

लालेले ललाई फकाई गर्र्दै न्याउलीका भाई पर्ने विनोदसँग पनि ऋण लिएका छन्। त्यती मात्र होईन न्याउलीलाई नै लगाएर पनि विभिन्न बहानामा आफु अब सुध्रिएको बताउँदै पटक पटक ऋण माग्न लगाए। अन्ततः अर्कै विवाह गरेर भागे। एक एक छाक खाने र एक रात सुत्ने ठाँउ नपाएकी न्याउलीको काँधमा ९ लाखको ऋण आइपरेको छ। 

यातना

आफूलाई लालेले रातभर पिट्ने गरेको न्याउलीले सुनाइन्। ‘रातभरि पिट्नुहुन्थ्यो, तेरो शरीरको छाला अचेल अर्कै भएको छ, तेरो निधारमा के को दाग हो? भन्दै मलाई धेरै पिट्नुभयो। म रातभर रोएर बसेँ।’ अनि प्रहरीकोमा उजुरी किन नगरेको त? भन्ने प्रश्नमा उनले भनिन, ‘उसैको सिन्दूर पहिरेर आएकी  हुँ। नपढेकी अनपढ भए पनि सिन्दूर दिएको श्रीमानलाई जेल पठाउन मन लागेन त्यसैले सबै सहेँ तर पुलिसलाई र समाजका मान्छेसँग पनि कुरा लुकाएँ, यही देख्न रहेछ।’  

माइली श्रीमतीसँग लागेपछि व्यवहार परिवर्तन गरेका लालेले कान्छीसँग लाग्ने बेलामा न्याउलीप्रति झनै असह्य व्यववहारदेखाउँदै आएका थिए। कान्छीसँग लागेकै कारण उनले न्याउलीले कुवेतमा कमाएको पैसाले खोलेको पसल सिन्कीको भाउमा जबरजस्ती बिक्री गरे। अनि त्यही पैसाले मिनालाई गरहहना लगाएदिए, भगाए। 

न्याउली २ छोरा पनि छन्। एउटा चाहिँ पर्वतकै मोदी गाउँपालिकामा रहेको पातिचौर बजारमा टेलरिङ  सञ्चालन गरिरहेका छन् भने अर्का छोरा नेपाली सेनामा छन्। पटक–पटक धोका दिने बाउलाई विश्वास गरेर ऋण खोज्नेदेखि पसल खोल्ने सम्मको काम गरेको भन्दै उनीहरू पनि आमासँग रिसाएका छन। यसैकारण उनीहरले आफूलाई वास्ता गर्न छाडेको न्याउलीको गुनासो छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.