|

बिग्रिएको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ रे! तर चालू अवस्थामै भए पनि समय नै गलत ‘सेट’ गरिएको घडीले कहिल्यै सही समय देखाउँदैन। शासन-सत्ता-व्यवस्था परिवर्तन भोग्न हामी जति माहिर छौँ, त्यस्ता परिवर्तनको राप सेलाएर हिउँको चिसोमा परिणत हुँदासम्म त्यसमै मन सेकाएर बस्न पनि त्यति नै बाध्य छौँ। समयले कसलाई कहाँ, कसलाई कता पुर्‍यायो। विकासको नाममा हामी भने बस् पाइलाको उल्टो गन्ती गनेरै मख्ख छौँ- हरेक परिवर्तनसँगै। गर्न सक्छौँ त बस्- फेसबुकमा पोस्ट हुने विगतका लोभलाग्दा तस्वीरलाई काखी च्यापेर मुस्कुराउने। हामी नेपालीले मुस्कुराउने भनेकै आफ्नै अतीत सम्झेर नै त हो। वर्तमान त साह्रै टिठलाग्दो पो छ त! हाम्रै आकाश जस्तो, धुलाम्मे।

भर्खरै मात्र पंचायती व्यवस्थाको अवसान भएको थियो। त्यही बेलातिर पहिलो पटक मुलुक छाडेर विदेश जाने मौका पाइयो। घुम्न जान लागेको देश थियो, त्यही पंचायती व्यवस्थालाई चितासम्म पुर्‍याउन खुलेर सहयोग गरेको भारत। जाने कारण बने- त्यही व्यवस्थाविरुद्धको आन्दोलनका घाइते। ०४६ सालको आन्दोलनमा प्रहरीको गोली र पिटाइका कारण झन्डै शहीद बन्नुपरेको थियो, गोपालप्रसाद घिमिरेले। नाताले भिनाजु पर्ने भए पनि उहाँलाई म मामा भनेरै सम्बोधन गर्छु।

अर्का पात्र- मेरा कान्छा मामा, दिनेश ढुंगेल। मेरो मावलीतिर सबैभन्दा ऊर्जावान् व्यक्तित्व, जसलाई जे परे पनि सहयोगका लागि एक कदम अगाडि बढाइहाल्ने। बरु सहयोगका लागि अरूले एक पाइला पछाडि सारिदिँदा उहाँ दुई कदम अगाडि देखिनुहुन्छ। मेरा कान्छा मामाका साथी भएकै कारण गोपाल घिमिरेलाई म 'गोपाल मामा’ भन्छु। नाताले त उहाँ मेरो जेठो मामाको जेठो छोरी ज्वाइँ।

पंचायतविरोधी आन्दोलन उत्कर्षमा पुगेकै बेला रत्नपार्क नजिकै प्रहरीले चलाएको गोलीले उहाँको खुट्टा छेड्यो। त्यसपछि असंख्य प्रहरीका लठ्ठी र बुट उहाँमाथि बजारिए- मरणासन्न हुने गरेर। शरीरभर घाउ नै घाउ, नीलडामै नीलडाम। ‘अब मर्‍यो' भन्दै प्रहरीद्वारा पुरानो बसपार्कमा फालिएको उहाँको ‘लास’मा केही ज्यान बाँकी नै रहेछ। धन्य, एक दयालु परिचितले उहाँलाई जिउँदै वीर अस्पताल पुर्‍याएछन्। अस्पतालमा पुगेका केही प्रहरीले उहाँलाई फेरि लछार्न खोजेछन् तर आन्दोलनको रापले तातिएका चिकित्सकहरूले उहाँलाई जोगाएका रहेछन्। जिन्दगी एउटा हिट फिल्मको स्क्रिप्टझैँ बनिदिँदो पनि रहेछ कहिलेकाहीँ, जसरी उहाँको बन्यो।

कृषि विकास बैंकका जागिरे उहाँ। आन्दोलनको राप कति तेजिलो बनेछ भन्ने बुझ्नका लागि मात्र रत्नपार्कतिर मोडिनुभएको रहेछ त्यसदिन- कृषि विकास बैंकमै जागिरे मेरा कान्छा मामालाई ‘तँ घर जा’ भन्दै। उहाँ रत्नपार्क पुग्नु र गोली चल्नु संयोग बन्यो। आखिर जिन्दगी नै हो, सोचअनुसार कहाँ चल्छ र! त्यस्तै नै त हो, जमिनलाई के थाहा आखिर कुन दिन भुइँचालोको मारबाट गुज्रिनुपर्छ भन्ने। आखिर पहाडलाई के थाहा, पहिरोबाट कुन दिन कुरूप बन्नुपर्छ भन्ने। जे हुन्छ, सबै सोचेभन्दा फरक नै हुन्छ।

लामो समय काठमाडौंमै उपचार भयो उहाँको। एउटा गोडा चल्न मुस्किल थियो। सरकारले थप उपचारका लागि भारतको नयाँ दिल्ली पठायो। पहिलो उपचारपछि बेलाबेला दिल्ली गइरहनुपर्थ्यो। गोडा केही मात्रामा चल्न थालेको थियो। उपचार गर्न लाने साथी थिए- मेरा कान्छा मामा।

दिनेश मामा जति सहयोगी भए पनि मिजाजचाहिँ सिंहको जस्तो। नेपाली जंगी निशान जस्तो। कहिल्यै झुक्न नजान्ने तर झुकाउन सधैँ तत्पर। एक पटक आँखा बटार्नेबित्तिकै सबै चुप, सना ठूला सबै। हुनत गोपाल मामा पनि केही मात्रामा ‘सिंहालु’ मिजाजकै हुन् तर दिनेश मामाको अगाडि उहाँको गर्जन पनि म्याउँमै निस्कन्छ र पो! त्यसैले साह्रै कुरो मिल्छ- गोपाल मामा र मेरो।

उहाँकै उपचारको बहानामा म पनि एक पटक दिल्ली जान पाउने भएँ। सहायक कारण बन्यो- मेरी ममीको उपचार। त्यो बेला हामी सडक मार्ग अर्थात् भैरहवा-गोरखपुर हुँदै नयाँ दिल्ली जाने भयौँ।

नयाँ दिल्ली जानु केही दिनअघि मात्रै मेरो ब्रतबन्ध भएको थियो। सायद बाबाममीलाई इच्छा नलागेर हो वा समय नमिलेर, ‘टिनएज’ले कु्तकुत्याउन छाड्ने बेलातिर मेरो ब्रतबन्ध भयो। ढाडे भएपछि। कतिसम्म ढाडे भने एक जना टाढाका आफन्तले उपहारमा बच्चाले खेल्ने फुटबल ल्याइदिए। साह्रै रिस उठेको थियो। आफ्नै बाबुआमासँग- ढिला ब्रतबन्ध गरिदिएकामा। अझ लाज शर्म पचाउँदै उनले ‘ला केटो त बच्चै होला भन्ठानेको’ भन्दै त्यही उपहार थमाए।

लाग्यो, खल्तीबाट अलिकति पैसा झिकेर दिए त भइहाल्थ्यो नि! लाज पचाएका उनी र म। अनि फेरि मन लाग्यो- त्यो बलले पहिलो गोल उनकै कन्चटमा हान्न पाए पनि हुने। तर हाँसेर हात थापे। फेरि त्यो बेला अहिले जस्तो निमन्त्रणामा ‘कृपया जिन्सी उपहारको कष्ट नगर्नुहोला’ भनेर ठाडै दाम माग्ने चलन पनि त आइसकेको थिएन नि!

त्यसैले ती दिन र त्यस्ता क्षण सम्झँदा लाग्छ, विगत त आखिर सपनाकै छाया न हो। जे बित्यो, बित्यो। न आफ्नो भनेर हक जमाउन पाउने, न त सँगालेर राख्न सकिने। फगत सपनाझैँ विपना मात्र। तर मुस्कुराउने बहाना भने अवश्य बनिदिन्छ। कहिलेकाहीँ खित्खिताउने चाहना बनिदिन्छ।

नयाँ दिल्ली जाने दिन आयो। रात्रि बस चढेर हिँडियो- म, ममी, गोपाल मामा, उहाँकी धर्मपत्नी र मेरा कान्छा मामा। थाहा थियो, जीवनको पहिलो विदेश यात्रा यादगार रहनेछ। कान्छा मामाको ‘सिंहालु’ खटनमा घुम्नु पनि त थियो नि! त्यसअघि नै ममीले भएभरका मेरा पाइन्ट कट्टुमा भित्री खल्ती बनाउन भ्याइसक्नुभएको रहेछ- भारतमा चोरी-डकैती-ठगी अति नै हुन्छ भनेर। त्यो समय नेपालमा हातमै लाखौँ रकम बोकेर हिँड्न सकिन्थ्यो होला। त्यति सहज थियो नेपाल- शान्ति सुरक्षाका मामिलामा। अहिले घडी उल्टो भएको छ। नेपालमा अपराधको ग्राफ बढ्दो छ भने भारतमा घट्दो- समय बिगारिएको घडीझैँ।

जे भने पनि, भारत घुमेका प्राय: सबैको पाइन्ट कट्टुमा भित्री खल्ती हुन्थ्यो नै त्यसबेला- चाहे प्लेनमा जाऊन् वा ट्रेनमा। मसँगै पहिलो पटक भारत यात्रा गरेको ‘अन्डरवेयर’लाई पछिसम्म पनि सम्हालेर राखेको थिएँ। के थाहा कुन दिन फेरि काम आउला भनेर। बाबाले दिएका केही सय रुपैयाँबाहेक मसँग केही थिएन खल्ती सिलाउनुपर्ने। 

किफायती भ्रमण रोज्दा, त्यो बेला भैरहवाबाट गोरखपुर उत्तर प्रदेश सरकारको बसमा गइन्थ्यो। साह्रै सस्तो पनि। त्यसबेला नेपाल-भारत दुवै महँगीको मारमा थिएजस्तो पनि लाग्दैन। आफ्नै खल्तीको पैसा खर्च गर्न पनि त्यति चित्त नदुख्ने। अहिले त अरूको पैसा खर्च गर्दा पनि मन अमिलो हुन्छ। महँगीले यसरी आकाश छुन्छ भन्ने कल्पना कसले गरेका थिए होलान्!

दिल्ली घुम्ने अनि जीवनमा पहिलो पटक ट्रेन चढ्ने कल्पनामा रात्रि बसमा समेत निदाउन सकिएको थिएन। कोसी टप्पुबाट उडेर पहिलो पटक साइबेरिया जान लागेको सारसलाई पनि त्यस्तै हुँदो हो। भैरहवाको सुनौलीबाट बस चढेर हिँडियो गोरखपुरतिर। सुनौलीबाट बस हिँडेको मात्र के थियो, चेकपोस्ट नै आइपुग्यो। कालो वर्ण, गोलो भुँडी अनि त्यसमाथि बनारसी पानले रातो लिपिस्टिक ओडाएका ओठसहितका एक प्रहरी बसभित्रै मेरो नजिक आए अनि भोजपुरी फिल्मको शैलीमा हात अगाडि बढाए। भने ‘पासपोर्ट प्लिज।’ आफूलाई कहिल्यै लाग्दैनथ्यो, त्यति कालो छु भन्ने। अहिले पनि लाग्दैन। तर ती प्रहरी महोदयले पक्का गरिदिए। भ्रम तोडिदिए- म अफ्रिकाबाटै आएजस्तै गरेर।

एक त कालो वर्ण त्यसमाथि ब्रतबन्धका कारण छोटो बनेको कपाल अनि हिप्पी जस्तो लवाइ। मेरो भूगोल र जाति पहिचानका लागि सहयोगी नै बने, उनका लागि। तर पनि चित्त बुझाएँ, हाम्रो भूगोल पनि आखिर उछिट्टिएर त्यही अफ्रिकाबाट यता सरेको नै रहेछ। अनि म पनि त्यही वर्णको भएँ त के भयो? तर सानैदेखि हिन्दी फिल्मको सोख राखेको फाइदा त्यो बेला भयो। भनेँ, ‘हम तो नेपाली है।’ आठौँ आश्चर्यमा परेजस्तो गरेर मलाई हेर्दै फेरि सोध्यो, ‘अच्छा, कौन कौन हैं, तुम्हारे साथ?’ सबैतिर औँला तेर्स्याइदिएँ अनि रातो आँखा चारैतिर घुमाउँदै ऊ बाहिरियो- बाघले मृग गुमाएझैँ। तर त्यो बेला एउटा कुरा पक्का भयो- मेरो वर्ण अन्तर्राष्ट्रियस्तरको रहेछ। हरेक देशको बासिन्दासँग मेल खाने अर्थात् कालो।

जीवनमा खित्खिताउन पनि यस्ता सम्झनाहरूलाई पोको बनाएर राख्नुपर्नेरहेछ- हजुरआमाको पैसाको थैलीझैँ। आखिर सम्झना मात्र हुन् नि हामीसँगै चितामा डढेर जाने। बाँकीलाई त हकवालाले टुक्राटुक्रा पारिहाल्छन् नि!

सुनौली-गोरखपुर बस यात्रामा एउटा कुरा अनौठै हुँदोरहेछ सधैँ- प्रहरीले दशौँ स्थानमा रोकेर बसको खानतलासी गर्ने, एक पटक ‘मुर्गा’ बनेको यात्रु सबै ठाउँमा ‘मुर्गा’ बनिरहने। प्रहरीदेखि चालक सबैको मिलिभगत कति दाम खुवाउने भन्नेचाहिँ यात्रुको सुझबुझमा भरपर्दोरहेछ। घुसको कुनै दर नहुने- एउटा बिँडीदेखि सयौँ रुपैयाँसम्म। त्यो यात्रामा त हामी त्यो जालोमा फसेनौँ। हामीसँग घुस ख्वाउन लायक सामान पनि त थिएन। त्यसमाथि बिरामी देख्दा भुँडीझैँ मोटो बुद्धि पनि बनाउँदा रहेनछन् भन्ने लाग्यो।

उमेरलाई त्यो समयबाट अलिकति फरवार्ड गर्दा, एक पटक साथीभाइसँग त्यही बाटो हिँड्दा भने गज्जब भएको थियो। अहिलेसम्म खित्का छाड्ने बहाना पाइएको छ। त्यो बेला काठमाडौंमा बेचिने कुनै विदेशी चुइगम ‘चिकलेट’ किन्दा नक्कली दाँत उपहारमा पाइन्थ्यो- रमाइलो गर्नका लागि। मसँग पनि थियो एउटा। यसो साथीभाइसँग रमाइलो गर्न खल्तीमै राखेको थिएँ। त्यही बाटोको यात्रामा कतै एक स्थानमा बस रोकियो। केही फरक होला उचाइ र गोलाइमा तर पहिले वर्णन गरेझैँ एक प्रहरी बसमा छिरे। सायद घुस खाएर पहिलेकै ती प्रहरी केही मोटाएका थिए कि? सबैको खानतलासी गरे। मेरो पनि गरे। केही भेटेनन् तर पनि तर्साएर केही रकम असुल्ने उनको दाउ रहेछ।

निकै तर्साए। बसबाट ओर्लनसमेत आदेश दिए। म टसको मस भइनँ। मसँग थियो नै के र? अन्त्यमा उसले मेरो खल्तीमा त्यही दाँत भेट्यो। त्यही बहाना बनाएर रकम निकाल्न खोज्यो। मैले दिइनँ। त्यो १० रुपैयाँ पर्ने चुइगममा फ्रिमा पाएको नक्कली दाँतका लागि म किन घुस खुवाउँथे र? त्यति मूर्ख त थिइनँ नि! उसले निकै बेर किचकिच गर्‍यो अनि सोध्यो, ‘आखिर ए है क्या?’ मैले विस्तारपूर्वक लगाएरै देखाइदिएँ। पैसा नझर्ने देखेर अन्त्यमा उसले भन्यो- ‘यही ले जाता हुं, मेरे बच्चे खेलेंगे।’ मैले हुन्छ भनिदिएँ। ज्यान छुट्यो। फटाहा मोरो!

जीवनमा खित्खिताउन पनि यस्ता सम्झनाहरूलाई पोको बनाएर राख्नुपर्नेरहेछ- हजुरआमाको पैसाको थैलीझैँ। आखिर सम्झना मात्र हुन् नि हामीसँगै चितामा डढेर जाने। बाँकीलाई त हकवालाले टुक्राटुक्रा पारिहाल्छन् नि!

चराले जति उडान भरे पनि साँझ गुँडमा फर्कनै पर्छ अनि सन्दर्भ जति मोडिए पनि मुख्य कुरामा फर्कनै पर्छ। पहिलो विदेश यात्राको क्रममा रातीको समयमा गोरखपुरबाट हामी नयाँ दिल्लीतर्फ लाग्यौँ- त्यो बेलाको प्रसिद्ध ‘वैशाली एक्सप्रेस’ चढेर। कहिल्यै ट्रेन नचढेको म। राती ‘बर्थ’मा सुत्न गएँ। बेलाबेलामा ट्रेनले लिक परिवर्तन गर्दा ‘कट्याक-कट्याक’ गर्दै डरलाग्दो आवाज आउनेरहेछ। ट्रेन नै दुर्घटनामा पर्‍यो कि जस्तो लाग्ने। कम थर्काएन, ट्रेनको पहिलो यात्राले।

नयाँ दिल्ली पुगेको भोलिपल्टैदेखि बिरामीजति सबैको उपचार सुरु भयो। आफू परियो, बेलाबेलामा खाइरहनुपर्ने। घरदेखि लिएर गएको, मीठो जिब्रो नि! बसको सट्टा अटोरिक्सामा यात्रा गर्न चाहने। अल्छी टाइपको पनि। त्यसबेला नयाँ दिल्ली आजको जस्तो सम्पन्न भइसकेको थिएन। मेट्रो ट्रेनको योजनासमेत कसैको दिमागमा थिएन होला। सडक जामको कुरा गर्दा अहिलेको काठमाडौंका कोटेश्वर, चाबहिल, गौशाला, रत्नपार्कलाई सम्झिए पुग्ने।

दिल्लीको जस्तो जाम काठमाडौंमा कहिले पो देखिएको थियो र! अनि अहिले पो काठमाडौंको जस्तो सडक जाम दिल्लीमा देखिँदैनरहेछ। हरियालीको शहर भन्छन् दिल्लीलाई। हिजो पनि, आज पनि। विकासको पारोले दिल्लीको हरियालीलाई मार्न सकेको छैन अहिले पनि। हुनत त्यसताका हाम्रो काठमाडौंमा पनि हरियाली नै थियो। त्यसैले दिल्लीको हरियालीले त्यति मन तान्न सकेन त्यो बेला। आजकाल त्यता गइयो भने निकै मन तान्छ। पाइलापिच्छे बगैँचा र रूख।

हाम्रा बिरामीहरूको उपचार हुन्थ्यो- प्रसिद्ध बात्रा अस्पतालमा। बसाइ थियो- बारखम्बास्थित नेपाली राजदूताबास रहेको स्थान नजिकै बंगाली मार्केटमा। सारा दिल्लीभर प्रसिद्ध थियो, बंगाली मार्केट। यता हेरे पनि मिठाईका पसल, उता हेरे पनि मिठाईका पसल। दिनेश मामाको ‘सिंहालु’ हेराइले अटोरिक्सा चढ्न हच्किए पनि मिठाई खानबाट भने कहिल्यै रोक्न सकेन। आखिर म पनि सानोतिनो सिंह थिए नै- म्याउँ गर्ने। म त निरोगी, रोगीहरूले पनि ठेलम्ठेल गरेरै भए पनि सरकारी बस नै चढ्नै पर्ने- सिंहालु नजरको इशारामा। बसमा राम्रै प्रचलन रहेछ- बिरामी र महिलाका लागि सिट छाडिदिनु पर्ने बसेका पुरुषले। त्यस बेलै शिक्षित सभ्यता विकासको क्रममा प्रवेश गरिसकेको रहेछ भारत, जुन आजसम्म हुन सकेको छैन नेपालमा। तर जे भए पनि पहिलो विदेश भ्रमणबाटै दिल्लीको विशालता र भव्यताबाट कायल भइयो। टुरिस्ट बस चढेरै दिल्ली घुमियो पनि।

उपचारका प्रक्रिया सकिएपछि काठमाडौं फर्कने दिनको पनि टुंगो लाग्यो। आफूसँगै सबैलाई नयाँ शहर घुमाइदिने दिनेश मामाको चाहनाले पटना हुँदै फर्कने कार्यक्रम तय भयो। दिउँसैको टिकट थियो ट्रेनको। दूताबासमा केही कागजी काम बाँकी भएकाले एकाध जना त्यहीँ रोकिनुपर्ने आवश्यकता बन्यो। सबै जना स्टेसन गए- अजिता दिदी र मलाई छाडेर, अटो चढेर आउने निर्देशन दिँदै। दूताबासका कर्मचारीले यसरी काम गरिदिए कि हामीले पटना जाने ट्रेन छुटाउनुपर्ने भयो। त्यसमाथि दिनेश मामा नै फर्केर दूताबास आइपुगेका थिए हामीलाई लिन। राताराता आँखा तर्दै, ‘मूले! काम नभएको भए पनि घडी हेरेर आएको भए भइहाल्थ्यो नि! काम त पछि भइहाल्थ्यो नि!’ म वाल्ल! ‘पछि गरे हुने कामका लागि किन कुराएको त हामीलाई?’, मनभित्रै क्रोधलाई कोचेँ अनि टाउको मात्र निहुँराएँ। सायद मेरो घडीको समय दिनेश मामाले सेट गर्नुभएको थियो त्यो बेला। 

जब हामी नयाँ दिल्ली रेलवे स्टेसन पुग्यौँ, छुकछुक गर्दै पटना जाने ट्रेन अगाडि बढ्दै थियो- हिन्दी चलचित्रको कुनै दृश्यझैँ। म चिच्याएँ, रोकिएन ट्रेन। के खान रोकिन्थ्यो र? न म शाहरूख खान, न त ट्रेनभित्र कोही काजोल। जति जना सँगै गएका थिए, ती सबै अलिपर प्लेटफर्ममै बसिरहेका थिए, हामीलाई कुर्दै- वाल्ल परेर। जसोतसो बेलुकाको गोरखपुरकै टिकट लिइयो अनि जसरी गइएको थियो, त्यसरी नै फर्कियौँ पनि।

झन्डै यो ३० वर्षमा दिल्लीले गरेको प्रगति उदाहरणीय छ। हाम्रो मुलुकमा बहुदलीय व्यवस्था आएको पनि झन्डै त्यति नै वर्ष बितेको रहेछ। हिजोआज दिल्लीमा सडक जाम सहनुपर्दैन। मेट्रो ट्रेनको आगमनले जाम निकै घटेको छ। हो, जनसंख्याको व्यापकताले प्रदूषण छ। सयौँ किलोमिटर टाढा राजस्थानको मरभूमिबाट उडेर आएबाहेक धुलो पनि उड्दैन अनि लाग्छ, उनीहरूले विकासको अग्रगामी फड्को मारेको त्यो ३० वर्षमा हामी केमा अल्झियौँ? हाम्रा लागि त्यही दिल्लीले रच्ने अनेकौँ जालझेलमा? त्यही भएर चालू अवस्थामै भए भए पनि समय नै गलत ‘सेट’ गरिएको घडी बनेका रहेछौँ हामी। हामीले आफ्नो घडी अरूको हातमा थमाएकाले पनि यस्तो भएको हुनसक्ला। मलाई त्यसबेला के थाहा थियो र! जहाँ घुम्दै छौँ, हामीलाई नचाउने मादल त्यहीँ बजाइँदोरहेछ भनेर। जहाँको शान त समयसँगै बद्लिइरहन्छ तर नियत कहिल्यै फेरिँदैन- हाम्रो हकमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.