हेटौंडा : नेपाल आर्मी क्लब दोस्रो राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा वीएफसी चितवनको चुनौती ५–१ गोलअन्तरले पन्छाउँदै आर्मीले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो।
आर्मीको जितमा विक्रम विसंखे नायक सावित भए। उनले आर्मीका लागि पाँचै गोल गरे। एकपक्षीय खेलको ११ औं मिनेटमा गोलका खाता खोलेका विक्रमले ३४ र ६१ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका विक्रम त्यति मै रोकिएनन्। उनले ७८ र ८० औं मिनेटमा गोल गर्दै पाँच गोल गरे। उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए। चितवनको तर्फबाट एक मात्र सान्त्वना गोल सुनिल श्रेष्ठले गरे।
आर्मीले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो। शारीरिक रुपमा बलियो देखिएको आर्मीका पहिलो रोजाइमा कुनै पनि नाम चलेका खेलाडी थिएनन्। आर्मीको तर्फबाट नेपालको राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सुनिल अर्याललगायत खेलाडी आर्मीले पहिलो रोजाइमा थिएनन्। आर्मीले प्रतियोगितामा दोस्रो दर्जाको खेलाडी उतारेको थियो।
आर्मीले उपाधिका लागि मंगलबार हुने सरस्वती युवा क्लब र मकवानपुर ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले नगद तीनलाख रुपैयाँ र उपविजेताले दुईलाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा ए डिभिजनसहित दश टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनल माघ ११ गते शुक्रबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।