|

काठमाडौं : नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र इमानदारपूर्वक अनुशन्धान गरिरहेको छ। यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो। हामीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौँ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे। उनले भने, ‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यैपनि पनि सहँदैन्। त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन।’

यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ। उनले थपे, ‘कतैबाट कसैलाई बचाउने अथवा कसैलाई फसाउने नियतले त यो आएको होइन?’ कहिलेसम्म दोषी पत्ता लगाउनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘अब अनुशन्धान, जुन दिन हुन्छ, त्यही दिन सार्वजनिक गर्छौं। हामीलाई त यति हतार छ की तथ्य आउँदा साथ हामी सार्वजनिक गरेर त्यो दिन हामी पनि लामो सास फेर्नुपर्ने अवस्था छ।’

प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरू आएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरू र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरूले त्यस्तो कुरा होइन भन्नुहुन्छ। यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ। डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होइन। जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ। कतिपय कुराहरू सिक्नु पनि पर्ने हुन्छ। टेक्नोलोजीको कुराहरू, कतिपयले त्यो मेशिन नै ठीक हो कि होइन भन्ने कुरा उठाइदिन्छन्। हामीले पनि सम्बन्धित् विशेषज्ञहरूको राय लिएकाछौँ। यो समयसम्म भन्नु पर्दाखेरि त्यस्तो इक्युपमेन्टमा फल्ट, अथवा त्यसमा केमिकलमा फल्ट, तर अन्य हिसाबले प्रमाणित भएको अवस्था छ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदीबहिनीहरू निर्दोष रहेको पनि स्पष्ट पारे। उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन्। मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरू नआइदिएको भए हुन्थ्योजस्तो लाग्छ। नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरूको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन्। यो कुरा मैले भन्नैपर्छ।’

प्रवक्ता सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घटनाहरू प्रहरीको सक्रियताले अहिले न्यूनीकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरे। सुवेदीले समग्र रुपमा देशमा अहिले बन्द, हड्ताल, जातीय तथा क्षेत्रीय हिंसा अथवा अन्य कुनैपनि किसिमले अराजकताको अवस्था नरहेको जिकिर गरे।

उनले अहिले सामाजिक विकृतिका कारण समाजमा घटनाहरू घटिरहेको सुनाए। उनले भने, ‘हत्या, हिंसा, बलात्कार, लुटपाटलगायतका घटनाहरू घट्नुको मुख्य कारण नै सामाजिक विकृति रहेछ।’ सामाजिक विकृति न्यूनिकरण गर्नको लागि आफूहरूले सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्यमा सचेतना कार्यक्रम अघि बढाएको पनि उनले जानकारी दिए।

सामाजिक विकृति न्यूनीकरण गर्नको लागि नेपाल प्रहरी र स्थानीय सरकारबीच सम्झौतासमेत भैसकेको उनले जानकारी दिए। उनकाअनुसार अहिलेसम्म ७४७ स्थानीय सरकारसँग प्रहरीले (एम.ओ.यू) गरिसकेको छ।

आफूहरुले सचेतना कार्यक्रम अघि बढाउनको लागि देशभरि करिब दश हजार समिति बनाइसकेको पनि उनले जानकारी दिए। उनका अनुसार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति गरी पाँच किसिमका समितिहरू गठन भएको छ।

सुवेदीले अहिले ६० प्रतिशत बलात्कार १५ वर्ष मुनिका बालिकाहरूमाथि भइरहेको पनि सुनाए। उनले भने, ‘९७ प्रतिशत बलात्कारको केशमा प्रहरीको तर्फबाट सफल अनुशन्धान भएको छ।’ सुवेदीले बलात्कारको शिकार आफन्तबाटै भएको पनि सुनाए। उनले थपे, ‘अब सचेतना कार्यक्रम आवश्यक छ।’

उनले बलात्कारको न्यूनीकरणको लागि आफूहरूले विद्यालयस्तरबाटै ‘इन्टरभेन्सन’ सुरु गरेको पनि सुनाए। उनले भने, ‘काठमाडौं उपत्यकाका ७ सय विद्यालयमा हामीले सचेतना कार्यक्रम सुरु गरिसकेका छौँ। देशभरी २ हजार विद्यालयहरूमा सचेतनामूलक कार्यक्रमहरू अघि बढाएका छौँ।’

त्यस्तै ‘साइबर–सेक्युरिटी’ पनि देशमा अहिले अर्को चूनौतिको रुपमा रहेकोले त्यसलाई  न्यूनीकरण गर्नको लागि आफूहरूले सोहीअनुसार कार्यक्रमहरू अघि बढाएको उनको भनाइ छ।

गत कार्तिक ११ गतेदेखि सुरु भएको आफूहरूको कार्यक्रमअन्तर्गत अहिलेसम्म विभिन्न केशका ११५० फरार अपराधीहरू देशभरीबाट पक्राउ गर्न सफल भएको पनि प्रवक्ता सुवेदीले जनाए। त्यस्तै, १५० गैरकानुनी हतियार र ठूलो मात्रामा लागुऔषध र मदिराजन्य वस्तुहरू जफत गर्न सफल भएको पनि उनले जनाए।

फरक प्रसंगमा उनले तपस्वी रामबहादुर बमजन प्रकरणबारे पनि प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत् अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, ‘मकवानपुर, सर्लाही, नुवाकोट, बारामा निवेदनहरू परेको छ। पाँच जना मान्छेहरू बेपत्ता भएको सम्बन्धमा। यसमा मिडियाबाट पनि हामीलाई सहयोग भएको छ। सेतोपाटीमा कुराहरू आएको थियो, त्यसलाई पनि हामीले आधार बनाएका छौं। प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।’

धादिङबाट सोमबार सुन भनेर बरामद भएको ४ केजी पित्तलको बारेमा प्रतिक्रिया दिँदै उनले भने, ‘चार केजी सुन प्रहरीले बुझायो, बुझाउँदाखेरी सुन बुझाएको, उता परीक्षण गर्दा तामा निस्कियो भन्ने कुरा आएको छ। यो भनेको कुरा, सुन बरामद भयो। तर, हेर्दैमा सुन होइन भन्न सकिँदैन। त्यसैले प्रहरीले मुचुल्का गराउँदा पहेंलो सुनजस्तो देखिने, यति तौलको भनेर नै बरामद गर्छ। यसमा थप अनुसन्धान गर्दा फलाम देखियो। यसमा ठगी मुद्दाअन्तर्गत कारबाही भइरेहेको छ।’

३३ केजी सुन प्रकरणपछि अहिले ठाउँ–ठाउँमा सुन समातिने क्रमहरू देखिरहेको सुनाउँदै यसमा प्रहरीको सक्रियताको ठूलो भूमिका रहेको सुवेदीले बताए। उनले भने, ‘नेपाल अझै पनि धेरै किसिमका संगठित अपराधहरूलाई ब्रेक गर्न सफल भए पनि तीन वटा कुराको संगठित अपराधको अझै ब्रेक गर्न जरुरी गर्न देखिन्छ। पहिलो, मानव तस्करी, दोस्रो ड्रग्स, तेस्रो स्मग्लिङ। प्रहरीले अहिले स्मग्लिङलाई साइजमा ल्याएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.