|

तनहुँ : नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले रोक्न भनिए पनि पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरद्वारा अटेर गर्दै मंगलबार विशेष जिल्ला अधिवेशन गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइरालाले जोशी पक्षले गर्ने भनिएको विशेष अधिवशेन रोक्न दमौलीमै आएर आग्रह समेत गरेका थिए। 

नेपाली कांग्रेस तनहुँद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवा, महामन्त्री कोइरालाले जोशी पक्षलाई झगडा नगर्न तथा विधि र विधानअनुरुप पार्टी कार्यालयमा नै बसेर छलफल र वार्ता गर्न आग्रह गरेका थिए। जोशी पक्षद्वारा अटेर गर्दै दमौलीमा विशेष अधिवेशन गरिएकोले केन्द्रीय स्तरका कुनै पनि नेता उपस्थित भएका थिएनन्। 

बृद्धाश्रम बसेर मार्ग प्रशस्त गर्न वरिष्ठ नेता पौडेललाई सुझाव

विशेष अधिवेशनको उद्घाटन गर्दै जोशीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दमौलीमा सञ्चालित दुई वटा आश्रम मध्ये एक आश्रममा बसी कार्यकर्ताको पथ प्रदर्शक गर्न सुझाएका छन्। पौडेलले पदमा बसेर पनि जिल्लाको विकास निर्माणको काम गर्न नसकेको र कार्यकर्ताको संरक्षण गर्न नसकेकोले काँग्रेस तनहुँ कमजोर भएको आरोप लगाउँदै जोशीले नेता पौडेललाई राजनीतिक विश्राम लिएर आश्रममा बस्नुपर्ने बताए।

कांग्रेसको किल्ला रहेको तनहुँमा प्रतिनिधि सभाको दुई सिट र प्रदेश सभाको निर्वाचनमा चार सिट गरी छ वटै सिट गुमाएकोले कांग्रेस तनहुँ असक्षम भएको उनको दावी छ। उनले विशेष अधिवेशन गर्नु परेको बताए। आफ्नो कारणले नभई वरिष्ठ नेता पौडेलले काम गर्न नसकेकाले जनताबाट पराजित हुनु परेको उल्लेख गर्दै जोशीले आफू सत्ता आउन नपाउँदा तनहुँका जनता ठगिएको दावी गरे। २०७४ को प्रतिनिधि सभाको चुनाव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले वागी उम्मेद्वार दिएका थिए।

वागी उम्मेद्वारी दिएकोले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले ५ वर्षको लागि पार्टी सदस्यताबाट निलम्बन गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मूख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा गरिएको विज्ञप्तिमा विशेष अधिवेशनमा विधिअनुरुप नभएको भन्दै भाग नलिन कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरिएको थियो। 

समानन्तर समितिको सभापतिमा अधिकारी 

यसैबीच जोशी पक्षद्वारा गरिएको विशेष अधिवेशनले डिल्लीराम अधिकारीको सभापतित्वमा समानन्तर समिति गठन गरिएको छ। समितिको सचिवमा चिनु पोख्रेल, कोषाध्यक्ष बालकृष्ण पोख्रेल चयन भएका छन्। सदस्यहरू बालकुमारी लोहनी, ध्रुबकुमार श्रेष्ठ, नुरचन्द्र वाग्ले, ऋषिराम पोख्रेल,सुकुमलाल गुरुङ, ओमबहादुर नेपाली, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, चित्रबहादुर थापा, एलिशा गुरुङ, बुद्धिमान नेपाली र इज्जत अलिम मिया रहेका छन्। पार्टी कार्यालयमा आई पदस्थापन गर्ने भनी जोशी पक्षले गरेको प्रयास भने सफल हुन सकेन। प्रशस्त मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएकोले उनीहरू पार्टी कार्यालयमा प्रवेश गर्न पाएनन्।

कांग्रेस तनहुँद्बारा विरोध 

यसैबीच नेपाली कांग्रेस तनहुँले मंगलबार एक विज्ञप्ति जारी गरी जोशी पक्षद्वारा गरिएको विशेष अधिवेशनको विरोध जनाइएको छ। कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा जारी गरिएको विज्ञप्तीमा विशेष अधिवेशनप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। ५ वर्षको  लागि साधारण सदस्यबाट निष्काशित गरिएको व्यक्तिबाट आव्हान र नेतृत्व गरिएको तथा कथित विशेष अधिवेशन पार्टी विधान विपरित भएको र उक्त गैर वैधानिक अधिवेशनबाट गरिएको सम्पूर्ण निर्णयको कुनै औचित्य नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपालको लोकतान्त्रिक आन्दोलनमा तनहुँबाट समेत सहादत हुने सम्पूर्ण सहीद एवं कानुनको शासनमा विश्वास गर्नेप्रति धोका दिइएको जनाइएको छ। त्याग र बलिदानले खारिएका लोकतन्त्रवादी नेपाली  कांग्रेसका स्वतन्त्र सेनानी, पार्टी प्रति भरोसा राख्ने हजारौं कार्यकर्ताको प्रतिबद्धतालाई बेइमानी गरिएको उल्लेख गरिएको छ। अवैधानिक विशेष अधिवेशनबाट बिलचित नहुन र पार्टीको संस्थागत एवं वैधानिक प्रक्रियाबाट विचलित गराउने अनेक दबाब र प्रलोभनबाट भ्रमित नभई पार्टीलाई सम्मान गर्दै नेपाली कांग्रेसप्रति विश्वासमा रहनु हुनेलाई धन्यवाद दिइएको छ।

पार्टीको झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी पार्टीका इमान्दार कार्यकर्तालाई भ्रमित पारिएको कथाकथित अधिवेशनमा जबरजस्ती उपस्थित गराइएको पाइएकोले त्यस्ता इमान्दार साथीहरू पार्टीप्रति इमान्दार रहन आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.