चितवन : विप्लव नेतृत्वको नेकपाले नेपाल-भारत सीमा अन्तर्गत चितवनको माडी सीमा क्षेत्रमा मंगलबार काँडे तार लगाएको छ। पार्टी केन्द्रीय सदस्य कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) विद्यार्थीको टोलीले माडी नगरपालीका ५ सोमेश्वरगढी सीमा क्षेत्रमा ३० मिटर काँडे तार लगाएको हो।
सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरिएको नेकपा चितवनका जिल्ला सेक्रेटरी भीमबहादुर ध्रुव खड्काले जानकारी दिए।
भारतले नेपालमाथि विगतदेखि गर्दै आएको सिमा अतिक्रमणको विरोधमा नेकपाले काडेतार लगाएको बताएको छ। निरन्तर सीमा मिचिदा पनि सरकारले वास्ता नगरेका कारण आफूहरूले सीमा रक्षाका लागि चितवनबाट अभियान चलाएको खड्काले बताए।
खड्काका अनुसार देशभरका सिमाना मिचिइरहँदा पनि सरकार मुकदर्शक बनेकाले चितवबाट अभियानको उद्घाटन गरिएको हो। सीमामा काँडेतार अभियानलाई अब अन्य स्थानमा पनि जारी राख्ने उनले बताए। १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौताहरू खारेजीको माग गर्दै सीमा व्यवस्थित गराउन विप्लव नेतृत्वको नेकपाले मागसमेत गरेको छ।
यता जिल्ला प्रशासन कार्यालय चितवनले भने सीमा क्षेत्रमा काँडेतार लगाइएको बारेमा अनविज्ञता व्यक्त गरेको छ। आफूहरू मंगलबार दिनभर काँडेतार लगाएको भनिएको क्षेत्रतिरै रहेको तर त्यसक्षेत्रमा त्यस्ता कुनै गतिविधि नदेखिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।