|

बझाङ : महिनावारी भएको समयमा छाउँगोठमा रात विताउँदै आएका बझाङका दुर्गम गाउँका महिलाहरू आजकाल खुलेर छाउपडी प्रथाको विरोध गर्दै अएका छन्। छाउपडीमाथि गरिने विभेद अझै जिल्लामा व्याप्त रहेको भए तापनि यतिखेर भने जिल्लाको छविसपाथीभेरा, दुर्गाथली र तलकोट गाउँपालिकाका महिला छाउपडी प्रथाविरुद्धमा जुट्दै आएका छन्। 

छाउपडी प्रथाबिरुद्ध महिला संगठित हुन थालेपछि आजकाल बझाङका दुर्गम गाउँका महिलाहरू साहसपूर्वक महिनावारी भएको समयमा घरभित्र बस्नथालेका छन्। जिल्लामा सदियौंदेखि रहेको छाउपडी प्रथाको अन्धविश्वास तोड्न साहस गर्दै महिलाहरु छाउगोठ भत्काउँदै साविक जस्तै खाना खाने र घरभित्रै बस्न थालेको दुर्गाथली गाउँपालिका ७ की दुर्गा जप्रेलले बताइन्।  

एकपछि अर्काे गर्दै महिलाले घर भित्र बस्ने र साविकको झै खानेकुरा खान थालेपछि अहिले बझाङको छबिसपाथिभेरा गाउँका अधिकांश महिलाले छाउपडी बार्न छोडेका छन्। महिनावारी हुँदा घरनजिक आउनु हुँदैन, पानीका धारा छुनु हुँदैन, देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यता रहेको बझाङमा आजकाल छाउपडी प्रथा अन्त्य गर्ने यहाँका महिला संगठित भएका हुन्। यसरी महिलाहरू छाउपडी प्रथाविरुद्धमा संगठित भएपछि आजकाल महिनावारी हुँदा निकै सहज भएको दुर्गाथली गाउँका महिला बताउछन्। 

महिनावारी हुँदा घरभित्र बस्ने ४७ जना र साविक जस्तै खाना पनि खाने अन्य ५ तलकोट गाउँका महिलालाई जिल्लास्थित एक गैरसरकारी संस्थाले दोसल्ला ओढाई सम्मान गरेको छ। छाउपडी प्रथाविरुद्धमा महिलाहरू संगठित भएपछि आजकाल महिनावारी हुँदा दही-दूध लगायतका खानेकुरा खाने गरेको र घरभित्र बस्ने कार्यको शुरुवात भएसँगै यहाँका महिलामा खुसीयाली छाएको छ।

लामो समय रुढीबादी परम्परालाई मान्दै दुख खेपेकोमा निकै पछुतो लागेको तर ढिलै भए पनि महिनावारी हुँदा घरभित्र बस्न पाएकोमा खुशी लागेको दुर्गमका महिलाहरू बताउँछन्। अन्धविश्वासको रुपमा रहेको छाउपडीप्रथा अन्त्यको लागि बझाङका दुर्गम गाउँमा अझै थप जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी छ।                                    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.