|

डाभोस  : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्।

परम्परागत स्विस गीतसंगीतको प्रस्तुतिबाट शुरु भएको बैठकमा उपस्थित विश्वका विभिन्न मुलकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको स्विट्जरल्याण्डका राष्ट्रपतिले स्वागत गरेका थिए। स्वागतका क्रममा उनले सार्वजनिक–निजी साझेदारी र सहयोग प्रवर्द्धन गर्ने उक्त अन्तर्राष्ट्रिय मञ्चलाई वर्तमान विश्वले बेहोर्नुपरेका प्राकृतिक र मानवसिर्जित विपत्तिका माझ समावेशी सामाजिक–आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन चुनौतीपूर्ण रहेको बताए।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी मञ्चको पूर्णसत्र बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा छन्। केहीबेरपछि उनले ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनका धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च सरकारी अधिकारी छन्।

 आगामी शुक्रबार समापन हुने उक्त बैठकको मूल विषय ‘भूमण्डलीकरण: ४.० चौथो औद्योगिक क्रान्तिको युगमा विश्वव्यापी संरचनाका रुपरेखा निर्माण’ रहेको छ।

यसैबीच प्रधानमन्त्री ओलीसँग स्विट्जरल्याण्डका पूर्वराष्ट्रपति एलाइन बेरसेटले भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

उनीहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाका बेला न्यूयोर्कमा भएको भेटवार्ताको स्मरण एवं समीक्षा भएको थियो। भेटमा प्रधानमन्त्रीपत्नी पनि सहभागी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.