|

हेटौँडा : हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीमा सोमबार दिउँसो भेटिएको लोपोन्मुख सालक संरक्षणका लागि बुझाइएको छ। एकेडेमी परिसरमा दिउँसो अचानक देखिएको सालक विद्यालय प्रशासनले हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहलाई संरक्षणका लागि बुझाइएको हो।

विद्यालयका प्रशासन प्रमुख सुमन आर्चाय र शिक्षक जीवन आचार्यले चुच्चेखोला वन समूहले हेटौँडा–१७ मा स्थापना गरेको सालक पार्कमा पुगेर वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाललाई सालक हस्तान्तरण गरेका थिए। सालक देखेपछि पार्कमा आएका पर्यटकले समेत केहीबेर अवलोकन गरेका थिए। पछिल्लो समय हेटौँडाका विभिन्न क्षेत्रमा भेटिएको सालक चुच्चेखोला वन समूहलाई संरक्षणका लागि बुझाउने क्रम बढेको समूहका कार्यालय सचिव केदार गौतमले बताए।

सालक संरक्षणका लागि जनचेतना अभिबृद्धिसंगै पर्यटन प्रवद्धनका लागि निर्माण गरिएको पार्कमा आउने पर्यटकले सालक अवलोकनको इच्छा व्यक्त गरे पनि यसलाई अन्य जनावरजस्तो खोर बनाएर राख्न नसकिने भएकाले पर्यटकलाई सालक देखाउन नसकिएको उनको भनाई छ। वन समूहले पार्क रहेको वन क्षेत्रमा विभिन्न स्थानमा भेटिएका आधा दर्जन सालक छोडिएको छ।

आहार व्यवस्थापन गर्न नसक्दा सालकलाई पाल्न समस्या भएको कारण जंगलमै लगेर छाड्ने गरिएको उनले बताए। गौतमका अनुसार सामुदायिक वनले सालक पार्क समेत निर्माण गरिरहेको छ। ‘हाम्रो वनको पहिचान सालक भएको कारण हामीले सालक पार्क नै निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका काम गरिरहेका छौं। पार्क निर्माण भइरहेको छ। अब निर्माण सकिएसँगै यहाँ पिकनिक तथा घुम्न आउने पर्यटकको संख्यामा समेत बढोत्तरी आउनेछ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.