|
प्रतीकात्मक तस्बिर

संखुवासभा : विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन  निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रबाट उक्त परिणामको रुख काट्न सुरु गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार रुख काट्न सुरु गरिएको जिल्ला वन कार्यालयले जनाएको छ। 

अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा  १२३.२२ हेक्टरका छ हजार २९४ रुख काटिसकिएको भारतीय निर्माण कम्पनी सतलज कम्पनीले जनाएको छ। आयोजनाले ट्रान्समिसन लाइनका लागि सामुदायिक वनको ९० हेक्टर र निजी वनका छ हजार ९९७ वटा रुख कटान गर्न सतलजले नेपाल सरकारसँग माग गरेको छ। 

आयोजनाका ५०१ वटा ठूला टावरमध्ये संखुवासभामा ४३ वटा रहने छ।  आयोजना स्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रशारण लाइनले ९९४ र २२० को कोशी करिडोरले ७३० रुख काटिने जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए। सहायक वन अधिकृत पराजुलीका अनुसार ड्याम साइड, पावर हाउस पुखुवामा १२३२२ हेक्टर, कोशी करिडोर ४.३७ हेक्टर र ३३ केभीका लागि ४.९८ हेक्टर क्षेत्रमा रुख काट्न मन्त्रिपरिषदले अनुमति दिइसकेको छ। अरुण तेस्रोको ट्रान्समिसन लाइनका लागि मागिएको ९० हेक्टरका रुख काट्न सरकारी निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।

विद्युत् प्रसारण लाइन हुने करिब दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्नु पर्नेछ। ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४.१८ हेक्टर वन प्रयोग गरेको छ। वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रुख बराबर २५ विरुवा र अन्य वन क्षेत्रमा एक रुख बराबर दुई विरुवा लगाउनु पर्ने कानुनी प्रावधान रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.