|

लहान  : सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत रुपनी– राजविराज सडक खण्डमा बुधबार विहान प्रहरी इनकाउन्टरमा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका कडरबोनाका करिब ३० वर्षीय दिपेन्द्र चौधरी बुधबार बिहान साढे ४ बजेतिर प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका हुन्।

रुपनी चोकदेखि करिब एक किलोमिटर दक्षिण सडकमा सवारी साधन चेकजाँच गरिरहेको प्रहरी टोलीलाई लक्षित गरी दक्षिणतिरबाट आएको मोटरसाइकलमा चढेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा चौधरी मारिएको प्रहरी उपरीक्षक विष्टले बताए। 

तीब्र गतिमा आउँदै गरेको मोटरसाइकल रोक्न इशारा गर्दा पनि नरोकी मोटरसाइकलको पछाडि बसेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। विष्टकाअनुसार नम्बर नखुलेको मोटरसाइकलसहित चालक भने फरार भएकाले खोजी भइरहेको छ। 

को हुन् चौधरी?

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्यामा संलग्न रहेको प्रहरीको दाबी छ। 

त्यस्तै, चौधरी इलाका प्रहरी कार्यालय कडरबोनाको गस्तीमा रहेको भ्यानलाई लक्षित गरी २०७४ साउन २१ गते राति सुरुङ्गा नगरपालिका ५ श्रीपुर गाउँमा बम विस्फोटलगायतका घटनामा संलग्न रहनुका साथै सप्तरीको बिसनपुर चोकमा डयुटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत सलग्न रहेको प्रहरी उपरीक्षक विष्टले बताए।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता रहेका चौधरीले आफ्नै समूह बनाएर चन्दा असुलीलगायतका भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ।

सप्तरीमा प्रहरीको इन्काउन्टर, एकको मृत्यु 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.