हिउँ परेको वर्ष यार्सागुम्बाको उत्पादन बढ्ने

|

डोल्पा : हिमाली जिल्ला डोल्पामा मंगलबार दोस्रोपटक बाक्लो हिमपात भयो। मंगलबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी  छ। यस पटकको हिमपातले डोल्पालीले आफ्नो आर्थिकोपार्जनमा सहयोग पुग्ने बताएका छन्। पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्षको रूपमा लिने  गर्छन्। अघिल्ला वर्षमा यसवर्ष जस्तो हिमपात हुँदैनथ्यो, यस वर्ष भने  मंगलबारदेखि लगातार हिमपात जारी छ त्रिपुरा सुन्दरी नगरपालिका १ बस्ने स्थानीय सुस्मीता श्रेष्ठले बताइन्।

सदरमुकाम दुनै, जुफाल लगायतका ठाउँमा बाग्लो हिउँ जमेपछि डोल्पाली हर्सित भएका छन्। यस वर्ष अन्नबाली उत्पादन समेत राम्रो हुने श्रेष्ठको भनाइ छ। जिल्लाका उच्च हिमाली क्षेत्रमा पर्ने यार्सागुम्बा पाटनहरुमा बाग्लो हिँउ जमेपछि आगामी वर्ष बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटीको उत्पादन राम्रो हुने डोल्पालीको आशा छ।

प्रत्येक वर्ष पुस र माघ महिनामा पर्ने हिमपातले यार्सागुम्बाको गुणस्तर, परिमाणमा निर्भर गर्ने काइके गाउँपालिकाका स्थानीय ओम मगरले बताए। डोल्पा नेपालमै गुणस्तरीय र धेरै मात्रामा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने जिल्लाको रूपमासमेत परिचित छ। यार्सागुम्बा डोल्पाली जनताका लागि आर्थिक उपार्जनको मुख्य स्रोतको रूपमा रहँदै आएको छ।

डोल्पाका यार्सागुम्बा पाइने क्षेत्र त्रिपुरासुन्दरी नगरपालिका वन क्षेत्रमा पर्ने भाँङका, भोक्पा, वाटुली पाटन, जगदुला गाउँपालिकाको टाँगटुगे पाटन, ठूलीभेरी नगरपालिकामा पर्ने माझफालको पोकेपानी लगायतका यार्सागुम्बा पाटनमा ३ देखि ४ फिटसम्म हिँउ जमेको छ।

हिउँ परेको वर्ष यार्सागुम्बाको उत्पादन बढ्ने

माघ महिनामा परेको हिउँ वैशाखको अन्तिम सातातिर पग्लने र जेठको दोस्रो साताबाट यार्सागुम्बा टिप्ने कार्य सुरु हुने र हिउँ परेको वर्षमा यार्सागुम्बाको उत्पादन पनि बढी नै हुने गरेको त्रिपुराकोटका स्थानीय तुलबहादुर बोहोराले बताए । हिमपातले अत्यधिक जाडो र कस्टकर बनाउने गरे पनि आगामी जेठमा यार्सागुम्बाबाट वर्षभरीको खर्च कमाउन पाइने भएकाले हिमपातलाई शुभ मौसमको रूपमा आफूहरूले लिने गरेको बोहोराको भनाइ छ।

यार्सागुम्बा मात्र नभएर पाँचऔँले भुल्ते सेतोचिनी लगायतका जडीबुटीको उत्पादन र लागाएको बर्खे अन्नबाली जौ, गहुँ, आलु, उवा लगायतको उत्पादन वृद्धिमा हिमपातले सहयोग गर्ने कृषि ज्ञानकेन्द्र डोल्पाका प्रमुख भीम बहादुर धरालाले बताए। जुम्ला डोल्पा सिमानामा पर्ने मौरे लेकमा भारी हिमपातपछि  पैदल मार्ग बन्द भएको छ।मंगलबर बिहानैदेखि घरहरुसमेत डुम्ने गरी परेको भारी हिउँ घरको छत र आँगनबाट फाल्न डोल्पालीलाई धौ-धौ परिरहेको छ।

हिमपात अझै जारी रहेकाले चिसोले डोल्पालीको जनजिवन कष्टकर बनेको छ भने डाँडापाखामा बाक्लो हिउँ जमेकाले पशुवस्तुलाई चरिचरन गराउनसमेत समस्या भएको छ।

जुफाल विमानस्थल बन्द

हिमपात अझै जारी रहेकाले डोल्पाको हवाईयातायातको एक मात्र साधनको रूपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ।जुफालको विमानस्थलमा बाक्लो हिउँ जमेपछि बुधबार पनि नेपालगन्ज र सुर्खेतबाट हुने कुनै पनि हवाई उडान भएका छैनन्। राम्रोसँग घाम लागेर हिउँ नपग्लेसम्म उडान हुने सम्भावना नभएको नेपाल नागरिक उड्डयन जुफालका प्रमुख बालकुमार सिंहले बताए। विमानस्थल बन्द भएपछि यात्रुहरू अलपत्र भएका छन्।

लगातारको हिमपातपछि डोल्पाका विभिन्न क्षेत्रमा राखिएका मोबाइल टावरहरुसमेत आंशिक रुपमा अवरुद्ध भएका छन्। हिमपातपछि एकातिर जनजिवन कष्टकर भइरहेको बेला हिउँसँग लडिबुडी खेल्ने र हिउँमा रमाउन स्थानीयहरु घरका छत तथा डाँडासम्म पुगेका छन्। पर्दै गरेको हिँउ र जमेको हिँउसँगै तस्बिर लिनेको भिँडभाड पनि उत्तिकै छ। लगातारको हिमपात पछि उपल्लो डोल्पाको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.