|

लहान : सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत रुपनी-राजविराज सडक खण्डमा बुधबार बिहान प्रहरी इन्काउण्टरमा मारिएका करिब ३० वर्षीय दीपेन्द्र चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम राजविराज लगिएको छ।

जिल्लाका विभिन्न ठाउँमा सशस्त्र समूहका व्यक्तिहरू प्रवेश गरी आपराधिक घटना गराउन सक्ने विशेष सूचनाको आधारमा खटाइएको प्रहरी चेकिङ टोलीमध्ये रुपनी राजविराज सडक खण्डको एक किलो भन्ने स्थानमा बुधबार बिहान साढे ४ बजे चौधरी मारिएका हुन्। सप्तरीको सुरुङ्गा नगरपालिका ६ कडरबोना घर रहेका चौधरीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सवारी साधन चेकजाँच गरिरहेको प्रहरी टोलीलाई लक्षित गरी रुपनीतिरबाट दक्षिणतिर जाँदै गरेको मोटरसाइकलमा चढेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा चौधरी मारिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा टाउको पछाडिपट्टि गोली लागेर घटनास्थलमै मृत्यु भएका चौधरीले बोकेको झोलाको गोजीमा बीएमएम लेखिएको जङ्गी एक राउण्ड गोली, प्रगतिशील तराई मुक्ति मोर्चा केन्द्रीय संयोजक सिजन लेखिएको एक थान पर्चा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट पड्किएको गोलीको खोका एक थान,  एक थान कटुवा पेस्तोल र दुई थान मोवाईल भेटिएको छ। प्रहरी उपरीक्षक विष्टका अनुसार नम्बर नखुलेको मोटरसाइकलसहित चालक भने फरार भएकाले खोजी भईरहेको छ।

विभिन्न अपराधमा चौधरीको संलग्नता

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्यामा संलग्न रहेको बताइएको छ। त्यस्तै, चौधरी इलाका प्रहरी कार्यालय कडरबोनाको गस्तीमा रहेको भ्यानलाई लक्षित गरी २०७४ साउन २१ गते राती सुरुङ्गा नगरपालिका ५ श्रीपुर गाउँमा बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै सप्तरीको खडक नगरपालिका बिसनपुर चोकमा माघ २ गते डयुटीमा रहेका प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहारको घटनामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।

हवल्दार सतरामाथि गोली प्रहारको घटनापछि प्रगतिशील तराई मुक्ति मोर्चा समूहले गोली प्रहार गरेको जिम्मा लिएको थियो। उक्त घटनामा समेत चौधरीको संलग्नता हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। प्रहरीका अनुसार तराईका विभिन्न सशस्त्र समूहमा काम गरेका चौधरीले पछि आफ्नै समूह बनाएर चन्दा असुली लगायतका भूमिगत गतिविधि सञ्चालन गर्दै आएका थिए।  

को हुन् सप्तरी प्रहरीको इन्काउन्टरमा मारिएका चौधरी 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.