|

नवलपरासी : सुस्ता गाउँपालिका- ५ सकरधिनहीका महावीर विन उमेरले ६० वर्ष पुगे। महावीरको जीवनको चार दशक नारायणीमै तैरिएर बितेको छ। नारायणी नदी किनार ठाडीघाटमा डुंगा मर्मत गर्दै गर्दा भेटिएका महावीर निकै थकित मुद्रामा देखिन्थे। उनी डुंगा मर्मत गरेर नारायणी नदी किनारमा भइरहेको तटबन्धका लागि ढुंगा, गिट्टी र बालुवा ओसार्न आतुर देखिन्थे। बाँध निर्माण कार्य चलिरहेका बेला केही आम्दानी हुने गरे पनि आफ्नो आठ जनाको परिवार पाल्न भने मुस्किल पर्ने गरेको महावीर बताउँछन्। 

महावीरले कहिलेकाहीँ गाउँमा केही काम पाउँदा गाउँमै काम गर्ने र अधिकांश समय नारायणी नदीमा डुंगा चलाएर बिताउँदै आएका छन्। डुंगा चलाएर ढुंगा, गिट्टी र बालुवा ओसार्नु उनको बाध्यता हो। उनी लामो समयदेखि डुंगा चलाएर गुजारा गर्दै आएकाले अन्य काम गर्ने सीप आफूसँग नभएपछि उमेर बढ्दै गए पनि परिवारको पेट पाल्नका लागि नारायणीमा डुंगा खियाउनु दैनिकी बनेको बताउँछन्। 

ढुंगा, गिट्टी बोक्न मात्र होइन, भारतीय अतिक्रमित भूमि सुस्ता पुग्न त्यहाँका स्थानीयले जोखिम मोलेर डुंगाबाटै आवतजावत गर्ने गरेका छन्। सुस्ताबासीलाई आफ्नै भूमिमा पुग्नका लागि भारतीय बाटो प्रयोग गर्नुभन्दा जोखिम नै भए पनि डुंगाकै यात्रा गर्दा खुसी मिल्ने गरेको बताउँछन् उनी। भारतीय बाटो प्रयोग गर्दा समय समयमा भारतीय पक्षले अवरोध सिर्जना गर्ने र दु:ख दिने गरेका कारण पछिल्लो समय सुस्ताबासी डुंगाकै सहारामा ओहोरदोहोर गर्ने गरेका छन्। 

डुंगाको सहारामा नारायणी पार गर्दै सुस्ता भूमि ओहोरदोहोर गर्नेको संख्या बढ्दै गएपछि नारायणी नदीमा डुंगा खियाउनेहरूका लागि आम्दानीको स्रोतसमेत बनेको छ। सुस्ताका लालबचन कुर्मी ३७ वर्षका भए। उनले विगत छ वर्षदेखि नारायणीमा डुंगा खियाउँदै आएका छन्। कुर्मीले आफ्नो खेती किसानीबाहेक अरू समय डुंगामं बिताउने गरेका छन्। 

उनले नौ जनाको परिवार यसै पेसाबाट पाल्दै आएका छन्। पछिल्लो समय सुस्ताबासी मात्र होइन, सुस्ता भूमिमा विभिन्न कार्यक्रम लिएर त्यहाँ पुग्नेहरूको संख्यासमेत बढ्दै गइरहेको छ। सुस्ता जाने जोकोही पनि हिउँदको समयमा नारायणी नदीमा डुंगाको सहाराले नै आवतजावत गर्ने गरेका छन्। डुंगामा सयर गर्ने यात्रुले एकतर्फी रूपमा भारतीय १० रुपैयाँ भाडा दिनुपर्ने हुन्छ। त्यही भाडावापत आएको रकमले आफ्नो जीविका चलाउँदै आएको अर्का डुंगा चालक शुभ रायले बताए। रायका अनुसार पछिल्लो समय सुस्ता भूमिमा घुम्न आउनेको संख्यासमेत बढ्दै गएको छ। कतिपय बाध्यताले डुंगाको माध्यमले नदी वारपार गर्दै आइरहेका छन् भने कतिपय डुंगा सयरको आनन्द लिन पनि सुस्ता पुग्ने गर्छन्। 

सुस्ता भूमिमा पुग्नका लागि नेपालतर्फबाट डुंगा प्रयोगबाहेक कुनै विकल्प छैन। सुस्ताबासीले दैनिक उपभोग्य वस्तु प्राय: भारतीय बजार भेडियारी पुगेर ल्याउने गरे पनि घर निर्माण गर्न आवश्यक पर्ने निर्माण सामग्री भने डुंगाकै सहारामा लैजानुपर्ने बाध्यता छ।  परंपरागत काठका डुंगा प्रयोग गरेर यात्रा गर्दा यात्रा जोखिमपूर्णसमेत हुने गरेको छ। हिउँदमा नारायणी सुस्ताएको समय होस् वा वर्षातको समयमा उर्लिएको छालमा, सुस्ताबासीहरूले डुंगाकै यात्रा गर्ने गरेका छन्। 

अहिले नारायणी नदीमा झोलुंगे पुल निर्माणको कार्य सुरु भएकाले पुल बनिसकेपछि भने सुस्ताबासीका लागि आवतजावतमा सहज हुनेछ। नारायणी नदीमा सुरक्षित र आधुनिक प्रविधिसहितको डुंगा संचालन गर्न सके डुंगा सयरमा रमाउने आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरेर राम्रो आम्दानीको स्रोत बताउन सकिने सुस्ताका स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.